१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्यार्थीले बनाए ‘स्मार्ट स्विच बोर्ड’

रमेशकुमार पौडेल

चितवन — घरमा बिजुलीको स्विच बोर्डमा स्मार्ट फोनजस्तो टच स्क्रिन भए, अझ रिमोट कन्ट्रोलबाटै अन–अफ गर्न मिले, घरदेखि बाहिर हुँदा स्विच खोल्न र बन्द गर्न मिल्ने भइदिए कस्तो हुन्थ्यो होला ? यस्तै विशेषतायुक्त बिजुलीको स्विच बोर्डको नेपालमै उत्पादन सुरु भएको छ । भरतपुर–१६ मंगलपुर शिवघाटका ३ जना विद्यार्थीको सोचले स्विच बोर्ड उद्योग जन्मिएको हो ।

विद्यार्थीले बनाए ‘स्मार्ट स्विच बोर्ड’

जीवन दवाडी, सुनीलकुमार यादव र सागर तिमिल्सिना कलेजमा सँगै पढे । गैंडाकोटको अक्सफोर्ड इन्जिनियरिङ कलेजमा बीई (ब्याचलर अफ इन्जिनियरिङ) पढ्दा उनीहरूले कलेजको प्रोजेक्टका लागि स्मार्ट स्विच बोर्ड तयार गरे । ४ वर्षअघिको उक्त प्रोजेक्ट कलेज र विश्वविद्यालयका प्रध्यापकहरूले खुबै रुचाए । यसलाई व्यावसायिक रूपमै उत्पादन गर्न सकिने सुझाव पाएपछि उनीहरू थप परिस्कृत गर्न कस्सिए । ‘३/४ वर्षसम्मको मिहिनेत र परीक्षणपछि हामीहरूले आफ्ना उत्पादन बजारमा ल्याउन थालेका हौं,’ एडभान्सटेक इन्डस्ट्रिज प्रालिका अध्यक्ष रहेका सुनीलले भने ।

कलेजको ज्ञानलाई साकार बनाउन उनीहरूले लगानीकर्ता खोज्दै गए । २८ जना लगानीकर्ताबाट १० करोड रुपैयाँ पुँजी संकलन गरी उनीहरूले कम्पनी खोलेका हुन् । जसको औपचारिक उद्घाटन यही शनिबार भयो । ‘हाम्रा स्विच बोर्डहरू टच स्क्रिनवाला हुन् । स्मार्ट मोबाइल फोनजस्तो स्क्रिनमा टच गरेर चलाउने हो । रिमोट कन्ट्रोलबाट पनि चल्छ । कोठाभित्र या १०/१५ मिटरको सिधा दूरीमा रिमोटबाटै चल्ने भयो,’ जीवनले स्विच बोर्डको विशेषता बताए । मोबाइल फोनमा एप डाउनलोड गरेर अनलाइन हुँदा विश्वको जुनसुकै ठाउँबाट पनि स्विच बोर्डमाथि नियन्त्रण कायम राख्न सकिने उनको भनाइ छ ।

स्विच कति समयका लागि चलाउने, समय निर्धारण गर्न पनि सकिन्छ । समय तोकेर कति बजे चलाउने हो सोही समयमा खुल्ने बनाउन पनि सकिने उनले खुलाए । ‘यो घर, अफिस जहाँ पनि चल्तीको वायरिङमा सजिलै फिट हुने बोर्ड हो । पानीले नबिगार्ने वाटर प्रुफ पनि छ । विभिन्न साइजका ९ थरी स्विच बोर्डहरू तयार गरेका छौं,’ उनले थपे, ‘बत्ती, पंखा, टीभी, फ्रिज जुनसुकै उपकरणका लागि पनि फिट हुन्छन् ।’

विदेशमा यस्ता बोर्डहरूको प्रयोग सामान्य भए पनि नेपालमा सुरुवात हुन थालेको उनले बताए । ‘अहिलेसम्म हाम्रोमा चीनबाट आएका यस्ता स्विच बोर्डहरूको प्रयोग हुने गरेको छ तर उत्पादन नै गर्ने हामी मुलुकमै पहिलो हौं,’ उनले दाबी गरे । आफ्नो उत्पादनमा २ वर्ष वारेन्टी मिल्ने उनले बताए । नेपालमा परम्परागत स्विच बोर्डहरूको नै प्रयोग अत्यधिक छ ।

मोडुलर स्विच बोर्डहरूको प्रयोग पनि बढ्न सकेको छैन । यस्तोमा स्मार्ट स्विच बोर्डले बजार लेला त ? ‘उद्योग खोल्नुअघि हामीले बजार अध्ययन पनि गरेका छौं । प्रविधिप्रति हरेकको चासो बढेको छ । प्रविधिमैत्री उपकरण किन्न सबै इच्छुक देखिने गरेका छन् । त्यसैले बजारको समस्या नहोला भन्ने लाग्छ,’ उनले भने ।

प्रकाशित : भाद्र ३०, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?