१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

उम्मेदवार बन्न महिलालाई खर्चको ‘डर’

चितवनमा महिलाकै मत संख्या धेरै छ तर चुनावमा उम्मेदवार संख्या न्यून हुन्छ
रमेशकुमार पौडेल

चितवन — मतदाताको संख्या हेर्दा चितवनमा पुरुषभन्दा महिलाको धेरै छ । हरेक निर्वाचनका बेला चर्चामा रहने चितवनमा मत संख्या धेरै भए पनि महिला उम्मेदवार बन्ने र विजयी हुनेहरू निकै कम छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार यहाँ ४ लाख १२ हजार १६५ मतदाता रहेकामा पुरुष २ लाख ७०६ र महिला २ लाख ११ हजार ४५८ जना छन् ।

उम्मेदवार बन्न महिलालाई खर्चको ‘डर’

उम्मेदवार सिफारिस गर्दा एउटा क्षेत्रबाट कम्तीमा तीन जनाको नाम पठाउन र तीमध्ये एक महिला अनिवार्य गर्न भने पनि ‘चुनावमा उठ्छु भन्ने महिला नपाएको’ नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठक बताउँछन् । ‘चुनावमा उठ्छु भनेर टिकट माग्नेभन्दा पनि पार्टीले टिकट दिन्छ कि भन्ने डरले भाग्ने अवस्था आएको छ,’ उनले भने । यसको कारण चुनावमा बढ्दो खर्च भएको उनले बताए । निर्वाचन प्रणालीलाई सुधार नगर्दासम्म महिला मात्रै होइन खर्च गर्न नसक्ने तर राजनीतिमा क्षमतावान्हरूले पनि चुनाव जित्न नसक्ने परिपाटी बनेको उनले बताए । ‘खर्च गर्न नसक्नेले समानुपातिकमा दाबी गर्ने चलन बढेको छ,’ उनले भने ।

वाग्मती प्रदेशसभा सदस्य र राप्रपा सहमहामन्त्री रीना गुरुङ पनि पाठकको कुरामा सहमत छिन् । चुनावी तडकभडक महिलाका लागि अप्ठ्यारो भएको उनले बताइन् । ‘अहिले गठबन्धन बनेको छ । कुन नेता प्रधानमन्त्री बन्ने, जित्ने गरेर कहाँबाट उठ्ने भनेर चर्चा सुरु भइसक्यो । तर, ती बहस पुरुषलाई केन्द्रमा राखेर हुने गरेको छ,’ उनले भनिन्, ‘महिलालाई किन टिकट दिने, दिए पनि खर्च गर्दैनन्, त्यसैले चुनाव जित्दैनन् भन्ने चर्चा पार्टीका भेलाहरूमा हुन्छ,’ गुरुङले भनिन् । चितवनलाई कार्यक्षेत्र बनाएर राजनीति गर्दै आएकी गुरुङले यसपालि आफू प्रत्यक्ष नै चुनाव लड्ने योजनामा रहेको बताइन् ।

पार्वती रावल राष्ट्रिय सभा सदस्य हुन् । उनले संसदीय समितिको पनि नेतृत्व लिइन् । उनको अनुभवमा महिलालाई उम्मेदवार बन्नबाट रोक्न खर्च पनि एउटा पाटो हो । ‘५/६ करोड, ८/१० करोड खर्च गर्नुपर्छ भनेर ठूलै नेताले बोलेका छन्,’ उनले भनिन्, ‘यसरी त महिलाले खर्च गर्न सक्दैनन् ।’ तोकिएको भन्दा धेरै खर्च गर्नेहरूलाई कारबाही र उम्मेदवारी नै रद्द गर्न निर्वाचन आयोग नलाग्दासम्म खर्चका कारण महिलालाई सधैं समस्या हुने उनले बताइन् । ‘सबैभन्दा बढी खर्च निर्वाचनको मौन अवधिमा हुने गरेको छ । मौन समयको दुरुपयोगलाई कसरी रोक्ने भनेर सोच्नुपर्ने देखिन्छ,’ उनले भनिन् । सहकारीकर्मी शान्ति अधिकारी खर्चकै डर देखाएर महिलालाई उम्मेदवार बन्नबाट रोक्नु विडम्बना भएको बताउँछिन् ।

युवा राजनीतिककर्मी रीतु गिरी यो समस्याको आफैं भुक्तभोगी हुन् । ‘गएको स्थानीय तह निर्वाचनमा म रत्ननगर नगरपालिकाका–१ बाट वडाध्यक्ष उठ्न खोजें । मलाई चुनाव जित्न २०/२५ लाख खर्च लाग्छ भनियो तर म उठ्न पाइनँ,’ उनले भनिन्, ‘पार्टीले पनि जितेन ।’ चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी देविका कुँवर भने खर्चका कारण चुनावमा उठ्न डराउन नहुने बताउँछिन् । मत संख्यामा बढी भएर पनि पुरुषलाई जिताउनका लागि मात्रै होइन आफू

उठ्न र जित्ने आँट गरेर महिला अगाडि आउनुपर्ने उनको भनाइ छ । ‘चुनाव जित्न खर्च नै गर्नुपर्छ, मतदातालाई मासुभात नै खुवाउनुपर्छ भन्ने छैन,’ २९ वर्षीया कुँवरले भनिन्, ‘गएको स्थानीय तह निर्वाचनले केही राम्रो संकेत देखाएकै हो । त्यसैले आँट गरेरै उम्मेदवारी दिन दिदीबहिनीलाई आग्रह गर्छु ।’

प्रकाशित : भाद्र २८, २०७९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?