कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जीर्ण सडकमा जोखिमपूर्ण यात्रा

‘हरेक वर्ष सडक भासिएर तलतल पुगेको छ; कुनै दुर्घटना नभएसम्म सडक मर्मतबारे कसैको चासो जाँदैन ।’
सरिता श्रेष्ठ

धादिङ — कालुपाण्डे मार्गअन्तर्गतको धादिङबेसी-फूर्केखोलाको १८ किलोमिटर सडक, घुमाउरो बाटो, ठाउँ-ठाउँमा भास्सिएको सडक । हरेक डेढ-दुई सय मिटरमा ठूला-ठूला घुम्ती । घुमाउरो

जीर्ण सडकमा जोखिमपूर्ण यात्रा

सडकले पहिलो पटक धादिङबेसी घुम्न आउने जो कोहीलाई यादगार बनाइदिन्छ । तर‚ त्यही सडक अहिले पहिरोको चपेटामा परेको छ । कहिले माथिबाट पहिरिने त कहिले तलबाट भासिँदा यात्रा जोखिमपूर्ण बनेको छ ।

नीलकण्ठ नगरपालिका वडा नं. ८ दारेगौडामा हरेक वर्ष झैं यस वर्ष पनि सडक भास्सिएको छ । सडक भास्सिएर एक मिटरभन्दा तल पुगेको छ । तर‚ मर्मत सम्भार हुन नसक्दा दैनिक सयौं सवारी साधनहरू जीर्ण सडकमा जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । हरेक वर्ष बर्खामा सडक भासिने र माटोले पुरेर सञ्चालन गरिँदै आएको स्थानीय अगुवा भरत ढुङ्गानाले बताए ।

‘सडक भासिएर जोखिम बनेको हामी सबैलाई थाहा छ । दिनमा २/५ पटक ओहोरदोहोर गर्नु पर्छ । जोखिम मोलेरै हामी यात्रा गरिरहेका छौं‚’ उनले भने, ‘तलबाट खोलाले सडक तानिरहेको छ; माथिबाट पहिरिरहेको छ ।’

दारेगौडामा पहिरोका कारण कालुपाण्डे मार्ग भासिएपछि यसले थप जोखिम निम्त्याएको छ । ‘हरेक वर्ष सडक भासिएर तलतल पुगेको छ, कुनै दुर्घटना नभएसम्म सडक मर्मतबारे कसैको चासो जाँदैन,’ उनी भन्छन्, ‘बाटोका कारण हामी चालक, यात्रा गर्ने यात्रु र बाटो हिँड्ने सबैको ज्यान र पेशा दुवै धरापमा छ ।’ दैनिक सयौं सवारी यहि पहिरोमा जोखिम मोलेरै आवातजावत गरिरहेका छन् । कतिपय यात्रुहरू बाटो देखेर डराउने र झर्न हतारिने गरेको उनले बताए ।

कालुपाण्डे मार्ग २०५७ सालमा पिच गरिएको हो । तर‚ सडक पिच हुनुभन्दा पहिलेदेखि आवतजावत बन्द हुने गरी पहिरिँदै आएको छ । सडक पिच गरिएपछि पनि समस्या समाधान भएन । न लगातार पहिरिने क्रम रोकियो न मर्मत भयो न त वैकल्पिक बाटो नै खोजियो । अझै पनि हरेक वर्ष भासिने; चिरा पर्ने र सडक बिचैमा भ्वाङ पर्ने गरेको छ । पहिरोकै कारण यात्रुहरू जीर्ण सडकमा जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । तर पहिरो रोक्ने दिगो उपाय भने अझै खोजिएको छैन ।

पहिरो रोक्न खोला किनारदेखि नै वाल उठाएर मर्मत गर्नुपर्ने देखिन्छ । मर्मतको नाममा पहिलो पटक यो वर्ष केहि भागमा ग्याबिन जाली लगाइयो । प्राविधिक योजनाबिनै लगाइएको जाली सडकसँगै दबिएको छ । तलबाट तानिएर पहिरिएको जानकारी नभएको भन्दै कालुपाण्डे मार्गका सुपरभाइजर अर्जुन सापकोटा पन्छिन खोजेका छन् । ‘तलैबाट भासिएको पहिले जानकारी भएको भए ग्याबिन जाली पनि तलैबाट लगाएर मर्मत गरिन्थ्यो तर हामीले माथी मात्रै जाली लगाउँदा जालीसहित पुन: सडक भासियो‚’ उनले भने, ‘मर्मतका लागि टेन्डर भैसकेको छ । अब छिट्टै मर्मत कार्य सुरु गर्छौं तर दिगो व्यवस्थापनका लागि स्वायल टेस्ट गरेर मात्रै काम अघि बढाउनुपर्छ । अहिलेको मर्मत क्षणिक र बर्खाबाट जोगाउन मात्रै हो ।’

वैकल्पिक बाटोको रुपमा ससाह देउराली चौताराबाट इट्टाभट्टा, ससाह खोला, मैदी भन्ज्याङ हुँदै तल्लो ज्यामिरे निस्कन सकिन्छ । तर‚ कच्ची सडक खण्ड र सबै खालका सवारी साधन पार गर्न सक्ने अवस्था नुहँदा वैकल्पिक बाटो प्रयोगविहीन छ ।

वैकल्पिक बाटो प्रयोग गर्दा सवारी साधनले करिब दुई किलोमिटरभन्दा बढी दूरी पार गर्नुपर्ने हुन्छ । तर‚ इट्टाभट्टादेखि मैदी भन्ज्याङ छिचोल्ने सडकमा हिलो र खाल्डाखुल्डी छ । ससाह खोला र खेत आसपासका करिब पाँच सय मिटर दूरिको सडक बिग्रिएको छ । बिग्रेको सडकमा ग्राभेल गर्ने हो भने सबै खालका सवारी साधनहरू सहजै पार गराउन सकिन्छ । तर वैकल्पिक बाटो र जीर्ण बनेको कालुपाण्डे मार्गतर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

गत वर्ष सिद्धलेकको मुक्तिनाथ मन्दिर नजिकै सडक भासिएको थियो । जाली लगाएर सडक मर्मत गरेपछि सुचारु छ । अहिले डिभिजन सडक कार्यालय नुवाकोटले धादिङबेसी-फूर्केखोला सडकखण्डको घुमाउरो मोडहरू कटिङ गरेर फराकिलो बनाएको छ, जसले गर्दा सवारीसाधनलाई सहज भएको छ ।

प्रकाशित : भाद्र २३, २०७९ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?