कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

धादिङका चेपाङ समुदायले मनाए न्वागी पर्व

सरिता श्रेष्ठ

धादिङ — सीमान्तकृत चेपाङ अर्थात् प्रजा समुदायले आफ्नो प्रमुख पर्वको रुपमा रहेको ‘न्वागी’ पर्व मनाएका छन् । पितृ बुझाउने र भूमी पूजा गर्ने पर्वको रुपमा परिचित यो पर्वमा आफ्ना कुलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गरिन्छ ।

धादिङका चेपाङ समुदायले मनाए न्वागी पर्व

यो पर्वमा विशेषगरी घैया धान, काँक्रो, करेला, गाभा, निबुवा, घिरौलालगायत तरकारी तथा फलफूल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पूजा गर्ने चलन छ ।

यस दिन चेपाङ समुदायका प्रत्येक घरमा रातभर एकपाखे ढ्याङग्रो ठोक्ने र देवीदेवता मनाउने चलन छ । फलेका अन्न तथा फलफूल तरकारी न्वागीकै दिन चेपाङका पण्डितमार्फत् देवी देवतालाई चढाएर मात्र उनीहरुले खान सुरु गर्ने गर्दछन् । चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्दछन् । न्वागीमा आफन्तहरू जम्मा भएर पूजा गर्ने; ढ्यांग्रो बजाउने; आपसमा खुसीयाली साटासाट गरी मनाउने गरिएको चेपाङ संघ वाग्मती प्रदेश समितिका कोषाध्यक्ष उद्धव चेपाङले बताए ।

यो पर्वमा झाँक्री बसेर रातभर सिमेभूमे फलाकेर मात्रै खानुपर्छ भन्ने मान्यता परापूर्व कालदेखि नै चलिआएको बताइन्छ । ‘नयाँ बाली भित्रिएको उपलक्ष्यमा मनाइने पर्वको रुपमा पनि लिने गरेको छ,’ उनले भने, ‘पितृ नबुझाई र अन्न उत्पादन गराइदिएकोमा भूमीलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ; अशुभ हुन्छ; पितृ रिसाउँछ भन्ने धार्मिक विश्वास रहिआएको छ ।’

यहाँको चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउने गर्छ । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि न्वागी पर्व मनाउने गरिन्छ । यो पर्वमा देवीदेवता नरिसाऊन् भन्नका लागि चेपाङ झाँक्री (पान्दे) हरुले एकपाखे ढ्यांग्रो ठोक्दै कुखुराको बली चढाउने प्रचलन रहिआएको बेनिघाट रोराङ-३ माथिल्लो ओर्वाङका सोमबहादुर चेपाङले बताए ।

प्रकाशित : भाद्र २३, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?