३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हेटौंडा उपमहानगरको सहयोगमा 'कोसेली घर' सञ्चालन

प्रताप विष्ट

हेटौंडा — महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको छ । जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको हो ।

हेटौंडा उपमहानगरको सहयोगमा 'कोसेली घर' सञ्चालन

कोसेली घरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले बुधबार उद्घाटन गरिन् । उपमहानगरपालिकाका प्रमुख लामाले महिलाहरुको श्रमलाई मर्न नदिन उपमहानगरले कोसेली घर सञ्चालनमा सहयोग गरेको बताइन् । उनले उपमहानगरपालिकाले दिएको तालिमबाटै उत्पादन भएका सामग्रीको बजारीकरणमा सहयोग पुग्ने र महिलाहरुलाई दिगो आर्य आर्जनमा जोड्ने उद्देश्यले कोसेली घर संचालनमा ल्याएको बताइन् ।

उपमहानगरले हरेक वर्ष ३८० जना महिलालाई दिगो आर्यआर्जनको तालिम दिने गरेको छ । उपमहानगरपालिकाले महिलाहरुको आर्यआर्जनका लागि दिएको विभिन्न तालिमबाट दीक्षित भएका प्रशिक्षार्थीहरुले उत्पादन गरेको सामग्री बिक्री र बजारीकरणका लागि कोसेली घर सञ्चालनमा ल्याइएको हो । उपमहानगरपालिकाको विभिन्न वडाहरुमा सञ्चालन लक्षितवर्गका सिपमूलक तालिम लिई उत्पादनमा लागे पनि बजारीकरणका कारण समस्या बेहोर्दै आएका महिलाहरुको उत्पादनलाई बजारसम्म लैजान कोसेली घरले पुलको काम गर्ने व्यवस्थापक जाल्पादेवी महिला उद्यमी केन्द्रका अध्यक्ष गिता मैनालीले बताइन् ।

उनका अनुसार अहिले कोसेली घरमा विभिन्न प्रकारका सामान उत्पादन गर्ने २० जना उद्यमीहरु जोडिएका छन् । कोसेली घरमा ढाकाका उत्पादनहरु सारी, कुर्था सुरुवाल, व्याग, जुत्ता, विवाहमा प्रयोग हुने साइपाटाका सामान, पूजा लागि प्रयोग हुने दुनाटपरी, धुप बत्ती, उनबाट बनेका कपडा, विभिन्न प्रकारका अचार, खादासहितका सामग्री राखिएको छ ।

जिल्लाभित्र रहेका महिला उद्यामीहरुलाई कोसेली घरमा जोड्दै लैजाने तयारी रहेको मैनालीले जानकारी दिइन् ।

प्रकाशित : भाद्र २२, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?