२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एमाले शिला खोज्नुपर्ने जस्तो अवस्थामा पुगेको छ : मुख्यमन्त्री पाण्डे

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमाले स्थानीय तहको निर्वाचनपछि शिला खोज्नुपर्नेजस्तो अवस्थामा पुगिसकेको दाबी गरेका छन् ।

एमाले शिला खोज्नुपर्ने जस्तो अवस्थामा पुगेको छ : मुख्यमन्त्री पाण्डे

युवा संघ नेपालको महाकाली–मेची यात्रालाई मंगलबार हेटौंडामा स्वागत गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरमा एमाले पराजित भएको स्मरण गराउँदै यस्तो बताएका हुन् । ‘महानगर र उपमहानगरमा एमाले शिला खोज्नुपर्ने अवस्थामा पुगेको छ । कहीँ पनि विजयी भएको छैन’, उनले भने ।

आगामी प्रदेश र संघको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच इमानदारिता कायम हुन जरुरी रहेको उनले औंल्याए । ‘कांग्रेस, माओवादी, जनमोर्चा, जसपा र हाम्रो पार्टी गठबन्धन गरेर निर्वाचनमा उम्मेदवारी दिँदैछौं । यस्तो अवस्थामा हामी एक ढिक्का भएर इमानदार हुन जरुरी छ’, नेकपा (एस)का उपाध्यक्ष समेत रहेका पाण्डेले भने ।

पाण्डेले एमाले अध्यक्ष केपी ओली राजा फालेपछिको अर्को राजतन्त्र भएको आरोप लगाए । संविधान विरोधी गतिविधि, प्रतिगमन र संसद् विघटन जस्ता जनताको हितविपरीत कदम चालेर ओली नयाँ राजतन्त्रको स्वरुपमा देखिएको उनको आरोप छ । ‘हाम्रो पार्टी ओलीको गलत प्रवृत्ति र ओली फालिसकिएको राजतन्त्र बनेपछि जन्मिएको पार्टी हो,’ उनले आफ्नो पार्टीले देशमा नयाँ समाजवाद जन्माउने दाबी गरे ।

मुख्यमन्त्री पाण्डेले ओलीको क्रियाकलाप राजतन्त्र शैलीको हुँदा आगामी निर्वाचनमा एमालेको गति उँधो हुने निश्चित भएको दाबी गरे । नेकपा एमालेको पक्षमा जनता नदेखिएकाले अब निर्वाचनको परिणामले ओलीको प्रवृत्तिलाई प्रष्ट देखिने बताए ।

प्रकाशित : भाद्र २१, २०७९ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?