१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बजार अनुगमन चाडपर्व केन्द्रित, अरू बेला बेवास्ता

पृथ्वी राजमार्ग आसपास सञ्चालित ११ होटललाई कारबाही
सरिता श्रेष्ठ

धादिङ — दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ । राजमार्गकेन्द्रित होटल व्यवसायले मूल्यमा मनोमानी गरिरहेका छन् । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहेका छन् । तर, अनुगमन र कारबाहीको जिम्मेवारी पाएका सरोकारवाला निकाय भने दसैंतिहार नजिकिएपछि मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका छन् ।

बजार अनुगमन चाडपर्व केन्द्रित, अरू बेला बेवास्ता

विशेषगरी दसैं, तिहार, छठजस्ता ठूला चाडपर्वको मुखमा मात्र अनुगमन हुने र त्यसपछि वर्षैभर निष्क्रिय रहने क्रम यस वर्ष पनि दोहोरिएको हो ।

अहिले जिल्ला प्रशासन कार्यालय धादिङको टोलीले राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजाघरको अनुगमन गरिरहेको छ । बिहीबार पृथ्वी राजमार्ग किनारमा सञ्चालित १८ वटा होटल तथा खाजाघरको अनुगमन गर्दा उपभोक्ता हितविपरित गरेको भेटिएपछि ११ वटा होटललाई कारबाही गरेको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको बिक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासोका आधारमा प्रशासन कार्यालय, घरेलु कार्यालयलगायतले बजार अनुगमनलाई तीव्रता दिएको जनाएका छन् ।

मुख्यगरी पृथ्वी राजमार्ग किनारमा सञ्चालित होटलहरूले खाना, खाजाको मूल्य अत्यधिक लिने गरेको गुनासो यात्रुहरूले सधैंजसो गर्दै आइरहेकै हुन्छन् । बढी नै मूल्य तिरे पनि स्वच्छ, ताजा र गुणस्तरीय खाना खान नपाएको गुनासोसमेत सुनिन्छ । होटल व्यवसायीको मनपरी बढ्दै गएको आवाज आइरहे पनि अरुबेला सरोकारवालाको त्यसमा खासै चासो रहने गरेको देखिँदैन । चाडर्वकै मुखमा मात्र अनुगमन किन त ? घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतम भन्छन्, ‘राजमार्गका होटल र आसपासका किराना पसलले बढी मूल्य लिने गरेको सूचनाका आधारमा अनुगमन गरेका हौं । जहिले गुनासो सुनिन्छ, अनुगमन त्यसैबेला नै हुने गरेको छ ।’

उनका अनुसार अनुगमनका क्रममा गल्छी गाउँपालिका–७ भल्टारमा रहेको जुनतारा रेस्टुरेन्ट एन्ड लज र न्यू लुम्बिनी होटललाई १०/१० हजार रूपैयाँ जरिवाना तिराइएको छ । थाक्रे गाउँपालिका–२ स्थित न्यु काष्ठमण्डप होटललाई १५ हजार र होटल हिराचन एन्ड रेस्टुरेन्टलाई ५ हजार, धुनीवेशी नगरपालिका–८ खानीखोलामा रहेको आरपी कोल्ड स्टोर एन्ड खाजा घरलाई २० हजार, मच्छिन्द्र स्टाफ होटललाई ५ हजार रूपैयाँ जरिवाना तोकिएको छ ।

यसैगरी, बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा रहेको सफल होटललाई १० हजार, चितवन स्टाफ होटललाई २० हजार, वडा–७ खटौटी खोलामा रहेको नेपाल माइक्रो खाना एन्ड खाजा घरलाई १० हजार, खोस्टेस्थित युनिक हाइवे होटललाई १० हजार र वडा–५ विशालटारमा रहेको बूढीगण्डकी हाइवे रेस्टुरेन्टलाई ५ हजार रूपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा करिब १२ हजार ८ सय रूपैयाँ बराबरको म्याद गुज्रेका/सडेगलेका सामग्री बरामद गरी नष्ट गरेको समेत घरेलु कार्यालयले जनाएको छ । कारबाहीमा परेका होटलहरूले निर्धारित मूल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको पाइएकाले जरिवाना तिराइएको प्रशासन कार्यालयको भनाइ छ । उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न पनि जिल्ला अनुगमन टोलीले आम उपभोक्तामाझ आग्रह पनि गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उपभोक्ताको हितका लागि सदैव प्रशासनको ध्यान जाने दाबी गरे । ‘राजमार्ग क्षेत्रमा सञ्चालित होटल, पसलहरूले उपभोक्तालाई ठग्ने, सरसफाइमा देखिएको गम्भीर लापरबाही, मूल्य र गुणस्तरमा देखिएको कालोबजारीविरुद्ध अनुगमन कार्यलाई तीव्रता दिएका हौं,’ उनले भने, ‘चाडपर्वको समयमा उपभोक्ताहरूले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिऊन् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र पारिएको हो ।’

चाडपर्वका बेला अनुगमन गर्ने तर अरुबेला नदेखे झैं गर्ने प्रवृत्तिले त्यस्ता व्यवसायीलाई झन् बल मिल्ने गरेको बताउँछन्, धादिङबेसीका नवीन श्रेष्ठ । ‘राजमार्ग आसपासका होटलमा गाडी रोक्छन् । प्यास लाग्छ पानी खानै पर्‍यो । २० रूपैयाँको बोतललाई ३५ रूपैयाँ लिन्छन् । प्याकेटमै लेखिएको ४० रूपैयाँको कुरकुरेलाई ७० रूपैयाँ लिन्छन् । खाना खाजामा पनि उस्तै महँगी छ,’ उनले गुनासो गरे, ‘अनुगमन वर्षभरि नै नगरेसम्म अवस्था फेरिनेवाला छैन ।’ मिसावट गर्ने, गुणस्तरहीन वस्तु बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा अनुगमन र जरिवाना केवल देखाउने दाँत मात्र भएको उनको ठहर छ ।

प्रकाशित : भाद्र १७, २०७९ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?