कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोले पुरिएर युवकको मृत्यु

पहिरोका कारण सात घर जोखिममा । पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सार्ने तयारी ।
अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ पिस्कर गाउँका एक युवकको पहिरोले पुरिएर मृत्यु भएको छ ।

पहिरोले पुरिएर युवकको मृत्यु

त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराका अनुसार मामाघर पुगेर फर्किएका १७ वर्षीय अमित थामीको भुसुन डोलको खोलाले निम्त्याएको पहिरोमा परेर मृत्यु भएको हो ।

दिउँसो पहिरोले पुरिएलगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए । मृतक थामीको एक हात काटिएको अवस्थामा पहिरोबाट शव निकालिएको छ । थामी स्थानीय मंगलमाई माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत थिए ।

अत्यधिक वर्षा र पहिरोका कारण भुसुन डोल खोलाक्षेत्र र पुरानो पिस्कर गाउँको माथिल्लो भूभाग प्रभावित भएको छ । पिस्करको माथिल्लो भूभागका धेरै स्थानमा पहिरो गएपछि पुरानो पिस्कर गाउँमा ७ घर जोखिममा परेका छन् । साथै स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले बताए ।

प्रकाशित : भाद्र १५, २०७९ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?