शीतभण्डारले किसान उत्साही

राजकुमार कार्की

सिन्धुली — फिक्कल गाउँपालिका–१ महादेवडाँडाका किसान मीनबहादुर विक आफूले उत्पादन गरेको आलु अब कुहिएर नजाने भएपछि दंग छन् । आफ्नै वडाको दमारमा शीतभण्डार निर्माण सुरु भएपछि उत्पादित आलु कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने उनीजस्ता किसानमा विश्वास छ ।

दमार आलु उत्पादन धेरै हुने स्थान हो । ‘सिजनमा फलाएको तरकारी तथा फलफूल शीतभण्डार भवनमा भण्डारण गरी बेमौसममा बिक्री गरेर आम्दानी लिन पाइने भएपछिको खुसी हुँदैन,’ विकले भने, ‘खासगरी महादेवडाँडा, दमार, खाङसाङ आलु उत्पादनका लागि लोकप्रिय स्थान हो । उत्पादित आलु समयमा बिक्री गर्न नपाउँदा कुहाएर फाल्न बाध्य थियौं । कोल्डस्टोर निर्माणले अब त्यस्तो नहोला ।’

दमार, महादेवडाँडामा हिउँदको समयमा मात्रै यातायातका साधन सञ्चालन हुने र वर्षायाम उत्पादन हुने तरकारी, फलफूल बिक्री गर्न किसानलाइ सकस हुँदै आएको छ । उत्पादन भएको तरकारी डोकामा बोकाएर लैजाँदा ज्यालामा सबै जाने भएकाले किसान रित्तो हात हुन्थे । अब बर्खामा भण्डारण गर्ने अनि हिउँद लागेपछि मोटरबाट सरर बजार पुर्‍याउने अर्का किसान विमल फुयालले बताए । ‘कति महिना सग्लो रहन्छ भनेर हेर्न बाँकी छ । निर्माणाधीन शीतभण्डार तोकिएकै समयमा सम्पन्न हुनेमा आशावादी छौं,’ उनले भने ।

आलु उत्पादनको हब रहेको फिक्कलमा शीतभण्डार नहुँदा व्यावसायिक नभई घरायसी प्रयोजनका लागि मात्र आलु रोप्दै आएको स्थानीय बताउँछन् । तर, गाउँमै शीतभण्डार निर्माण भएपछि बाँझो रहने जग्गामा आलु रोपेर हराभरा पार्ने किसानको योजना छ । फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले संघीय सरकारको विशेष अनुदान र गाउँपालिकाको साझेदारीमा २ करोड ५८ लाख रुपैयाँको लागतमा शीतभण्डार निर्माण भइरहेको बताइन् । उनका अनुसार शीतभण्डार निर्माण गर्न ०७८ चैत २९ गते शिवालय बिहानी जेभीसँग डेढ वर्षभित्र निर्माण पूरा हुने गरी सम्झौता भएको थियो । ३ सय ७५ वर्गमिटर क्षेत्रफलमा एक सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणाधीन छ ।

आलुलगायतका तरकारीलाई ताजा बनाएर राख्ने गरी शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका प्राविधिक प्रदीप खुलालले जनाए । ‘यो घरघरमा हुने फ्रिजको ठूलो आधार हो । जहाँ तापक्रम कायम गरी सामग्रीलाई ताजा राख्न सकिन्छ,’ उनले भने, ‘यसमा बजारमा जानेबाहेकका तरकारी स्टोरमा राखेर किसानले फाइदा लिन सक्छन् ।’

प्रकाशित : भाद्र १५, २०७९ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?