२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सिँचाइ योजना भताभुंग

टीकाप्रसाद भट्ट

रामेछाप — वर्षौंको मिहिनेतपछि गाउँको सुक्खा जमिनमा सिँचाइ हुने भएपछि बेतालीवासी खुसी भएका थिए । तर, त्यो खुसी ३ दिनमै खोसिएको छ ।योजनाको डिजाइनमा त्रुटि र कमजोर निर्माण सामग्री प्रयोगले सिँचाइ योजनामा पानी नचलेको स्थानीयको बुझाइ छ ।

पूर्ववडाध्यक्ष देवराज कार्की ठूलो पाइप लगाएर पानी हाल्दा पाइपलाइन नै भाँचिएको बताउँछन् । झन्डै ९ सय मिटर पाइपमार्फत पानी लगिएको थियो । कमजोर निर्माण सामग्रीका कारण पाइप बन्धनका लागि राखिएका सिमेन्ट पोस्ट पनि क्षतिग्रस्त भएका उनको भनाइ छ ।

बेतालीको झन्डै ९ सय रोपनी जग्गामा सिँचाइ गर्ने गरी बोहेरो खोलाबाट पानी लैजाने योजना थियो । ‘मैले धेरै धाएँ, हर प्रयास गरें,’ पूर्व वडासदस्य तथा उपभोक्ता कृष्णप्रसाद घिमिरे भन्छन्, ‘केही सीप लागेको छैन ।’ पानी नै नचल्ने योजनामा सरकारले करोडभन्दा बढी खर्च गरेकामा उनी खिन्न छन् । उनका अनुसार योजना निर्माणपश्चात् बेताली–रस्नालु सडकभन्दा तलको अधिकांश खेतमा सिँचाइ पुग्ने आशा गरिएको थियो । अहिले उक्त खेतमा पानी लगाउन वर्षाको मूल नै फुट्नुपर्छ ।

क्षतिग्रस्त योजना मर्मत गर्नेतर्फ सम्बन्धित कार्यालयले चासो नदिएको उनको गुनासो छ । सिँचाइ योजना सफल भएको भए बेतालीको खेतमा असारको पहिलो साता नै धान रोपाइँ सकिन्थ्यो । स्थानीय मोहन खड्का भन्छन्, ‘कागलाई बेल पाक्यो हर्क न विस्मात भयो ।’ प्रदेशको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत योजना निर्माण भएको हो । शंकर निर्माण सेवाले ०७६/७७ मै निर्माण सकेर भ्याटबाहेक १ करोड २ लाख रुपैयाँ भुक्तानी लगेको छ । उक्त खर्चमा जम्मा ३ दिन मात्रै पानी चलेको देख्दा स्थानीय छक्क परेका छन् ।

सिँचाइ कार्यालयका इन्जिनियर अविनाशकुमार ठाकुर सडक निर्माणका कारण योजनामा क्षति पुगेको बताउँछन् । योजनामा ३ महिनासम्म पानी सञ्चालन भएको उनले दाबी गरे । ‘योजना क्षतिग्रस्त भएको छ, हामीले निर्माण व्यवसायीलाई मर्मतका लागि आग्रह गरेर धरौटी रकमसमेत भुक्तानी दिएका छैनौं,’ उनले भने ।

प्रकाशित : भाद्र १४, २०७९ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?