मनहरी खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

एकको जीवितै उद्धार
प्रताप विष्ट

हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिका—१० स्थित मनहरी खोलामा डुबेर एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् ।

एक महिलाको शव आइतबार बिहान कैलाश गाउँपालिका—३ भुपटारस्थित मनहरी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कैलाश गाउँपालिका—१० नामेसदुङकी ३३ वर्षीय सन्जुमाया चेपाङको शव भुपटारमा फेला परेको थियो । बगाएको स्थानबाट भुपटार झन्डै ४ किलोमिटर तल पर्छ ।

चेपाङसँगै खोलामा बेपत्ता भएकी ४६ वर्षीया माइलीमाया जिम्वा अहिलेसम्म फेला परेकी छैनन् । स्थानीयवासी र प्रहरी टोलीले शनिबार बेलुकादेखि नै मनहरी खोलाको विभिन्न स्थानमा खोजी गरिरहेका छन् ।

शनिबार बेलुका धाधरका एक कृषकको धान गोडेर घर फर्कने क्रममा तीन जना महिलालाई मनहरी खोलाले बगाएको थियो । विमला विकको शनिबार बेलुकै घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ । मनहरी खोला तर्ने क्रममा माथिबाट एक्कासि बाढी आएकाले उनीहरुलाई बगाएको वडाध्यक्ष सुर्यकान्छा तामाङले बताए ।

प्रकाशित : भाद्र ५, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?