कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

हेटौंडा — बचतकर्ताको रकम माग गरिएको समयमा फिर्ता नगर्ने हेटौंडास्थित एक सहकारीका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

बचतकर्ताहरूकै उजुरीका आधारमा हेटौंडा उपमहानगरपालिका–२ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष धादिङ फूलखर्क घर भई हाल हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

दर्जनौं बचतकर्ताले सहकारीको पासबुकसहित उजुरी दिएकाले छानबिनका लागि अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । सहकारीको बचत रकम हिनामिना भएपछि बचतकर्ता र नियमित पैसा संकलन गर्ने कर्मचारी समस्यामा परेका छन् । सहकारीमा बचत गर्दै आएकी हेटौंडा–१८ की कमला बिडारी, हेटौंडा–२ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी सञ्चालकविरुद्ध साउन २४ मा उजुरी दिएका थिए ।

उजुरीमा उनीहरूले आफूहरूको पैसा फिर्ता माग्दा नदिइएको उल्लेख गरेका थिए । अध्यक्ष र कोषाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी दिनुअघि उनीहरूलाई साउन २० गते सटही हुने गरी चेक दिइएको थियो । तर चेक नसाटिएपछि उनीहरूले साउन २४ मा प्रहरीमा उजुरी दिएका हुन् ।

सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक/देविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बानियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो । तर खातामा रकम नभएकाले ती चेक साटिएनन् । अध्यक्ष र कोषाध्यक्षविरुद्ध थप बचतकर्ताले पनि उजुरी दिने तयारी गरिरहेका छन् ।

प्रकाशित : भाद्र २, २०७९ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?