धादिङमा एक महिलामा देखियो हैजा- वाग्मती - कान्तिपुर समाचार

धादिङमा एक महिलामा देखियो हैजा

सरिता श्रेष्ठ

धादिङ — धादिङमा एक महिलामा हैजा देखिएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको थाक्रे गाउँपालिका वडा नं. २ सिम्लेकी महिलामा हैजा देखिएको हो । 


साउन २९ गते झाडाबान्ता भई उपचारका क्रममा टेकु अस्पताल काठमाडौँ पुर्‍याइएकोमा हैजा पुष्टि भएको हो । अन्य चार जना स्थानीयलाई समेत सोही प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिए । हैजा देखिएपछि मंगलबार बिहान धादिङबेंसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत खटाइने निर्णय गरिएको छ ।

पानी उमालेर खान, व्यक्तिगत सरसफाईमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । पिउने पानीको नमुना संकलन गरी पानीको गुणस्तर परिक्षण गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्

यात्रुमा कोरोना देखिएपछि चीनले हिमालयका चार उडानमा लगायो रोक

सुरज कुँवर

काठमाडौँ — काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार साउन १७ गतेको उडानमा नेपालबाट गएका यात्रुमध्ये ९ नेपाली विद्यार्थी र ६ चिनियाँ नागरिकको विमानस्थलमै भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएको हो ।

यति एयरलायन्ससँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई चीनले एक महिनाअघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौं–कुन्मिङ उडान अनुमति दिएको थियो ।

चीनले 'कोभिड शून्य'को नीति लिएकाले विमानस्थलमै हरेक यात्रुको पीसीआर परीक्षण गर्दै आएको छ । एउटा उडानमा १० जना भन्दा बढी यात्रुमा कोरोना देखिएपछि उसले कारबाहीस्वरूप थप उडान गर्न दिँदैन । चीनले विमानस्थलमा हुने परीक्षणमा कोरोना देखिएमा बिरामीले १४ दिन निजी खर्चमै क्वारेन्टाइन र १६ दिन घर वा तोकिएको स्थानमा बस्नुपर्ने नियम बनाएको छ ।

कोभिडका कारण चीनले दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेको थियो । चीनले गत महिनादेखस छेन्दु र कुन्मिङका लागि सातामा एक–एक गरी नेपाल उडान खुला गरेको छ । चीन जाने यात्रुले काठमाडौंमा रहेका चारवटा अस्पतालमा पीसीआर परीक्षण गरेर मात्र यात्रा गर्न पाउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७९ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×