रामेछापमा करेन्ट लागेर एकको मृत्यु- वाग्मती - कान्तिपुर समाचार

रामेछापमा करेन्ट लागेर एकको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — जंगलमा गाईवस्तु चराउन गएका रामेछापको मन्थली नगरपालिका–७ का ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको लागि टाँगेको तारमा छोइँदा माझीको घटनास्थलमै मृत्यु भएको हो । प्राधिकरणले टाँगेको तार लत्रिएको हुँदा जंगलमा हिँड्दै गरेका माझी त्यसैमा अल्झिन पुगेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले कानुन बमोजिम क्षतिपूर्ति दिने सहमति गरेपछि उनको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीले प्राधिकरणको गम्भीर लापरबाहीले घटना घटेको भन्दै आक्रोश पोखेका छन् ।


प्रकाशित : श्रावण ३०, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्

पार्टीभित्र शक्ति सन्तुलन मिलाउन शेखरको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन नगरी गठबन्धनमा मात्रै जोड दिँदा परिणाम राम्रो नआउने भन्दै कांग्रेस नेता शेखर कोइरालाले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आन्तरिक शक्ति सन्तुलन मिलाएर अघि बढ्न चेतावनीयुक्त आग्रह गरेका छन् । 

पाँचवटा भ्रातृसंस्थाको अध्यक्ष मनोनयनमा एकलौटी गरिएपछि आक्रोशित कोइराला समूहले प्रदेशसभा र प्रतिनिधिसभाको ‘टिकट’ वितरणमा समेत सभापतिले त्यस्तै रवैया अपनाउन सक्ने भन्दै पार्टीभित्र ४० प्रतिशत भागबन्डाको दाबी गर्ने निर्णय गरेको छ । देउवालाई भेट्नुअघि कोइरालाले आफ्नो समूहका पदाधिकारी र शीर्ष नेतासँग शनिबार परामर्श गरेका थिए । त्यसक्रममा पार्टी सञ्चालन र सरकारका कामकारबाहीमा प्रतिस्पर्धी समूहको अस्तित्व स्वीकार नगरी एकलौटी ढंगले अघि बढेकाले कडा प्रतिवाद गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

देउवालाई भेट्न अपराह्न ३ बजे बालुवाटार गएका कोइरालाले करिब एक घण्टा ‘वान टु वान’ कुरा गरेका थिए । पार्टीको चौधौं महाधिवेशनमा देउवासँग सभापतिका मुख्य प्रतिस्पर्धी रहेका उनले केन्द्रीय कार्यसमितिका सदस्यदेखि भ्रातृसंस्थाका अध्यक्ष मनोनयनसम्मका कुरा राखेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हुने ‘टिकट’ वितरणमा शक्ति सन्तुलन कायम हुन नसके देशभर असन्तुष्टि बढ्ने चेतावनी कोइरालाले दिएका छन् । ‘तपाईंको काम गर्ने कार्यशैलीबाट मलाई दबाब थेग्न गाह्रो भयो, भ्रातृसंस्थामा भएका एकलौटी निर्णय सच्याउनुहोस्, पार्टीभित्रको फरक विचार समूहको अस्तित्व स्वीकार गरेर अघि बढ्नुहोस्, यसरी एकलौटी ढंगले अघि बढ्ने हो भने गठबन्धनमात्रै गरेर कुनै लाभ हुन्न, देशभरका साथीहरूमा असन्तुष्टि बढेको देख्छु,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कि मिलाएर लैजानुहोस् । होइन भने महाधिवेशनमा पाएको ४० प्रतिशतको हैसियत खोज्नुपर्ने हुन्छ ।’

देउवाले अहिलेसम्म भएका निर्णयलाई स्वीकार गर्न आग्रह गर्दै भविष्यमा परामर्श गरेर अघि बढ्ने बताएका छन् । ‘अहिलेसम्म जे भयो–भयो, अब आइन्दा तपाईंसँग सल्लाह गरेर अघि बढ्छु,’ उनको भनाइ थियो । उनले चुनाव सामुन्नेमा आएकाले गठबन्धनको विरोध नगर्न र सहयोग गर्न आग्रह गरेका थिए । भेट्दा राम्रो कुरा गर्ने तर व्यवहारमा पुरानै प्रवृत्ति देखिने गरेको भन्दै कोइरालाले सिंगो पार्टीलाई एक बनाउन न्यायोचित अवसर र वितरणको माग गरेका थिए । समूहको सल्लाहअनुसार कोइराला आइतबार देउवालाई भेट्न एक्लै गएका हुन् । देउवाले अर्को पटक पदाधिकारीसहित छलफल गर्ने बताएका छन् ।

देउवाको बोली र व्यवहारमा एकरूपता नभएको भन्दै कोइराला समूहका युवा नेताले भने छुट्टै भेला राख्ने र देउवाले अध्यक्ष नियुक्ति गरेका पाँच भ्रातृसंस्थामा समानान्तर समिति बनाउनेसम्मको चेतावनी दिएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेका अनुसार सोमबार पाँचवटै भ्रातृसंस्थाका पाँच–पाँच जना नेतृत्वपंक्तिको बैठक बस्ने र छिट्टै राजधानीमा भेला गर्ने तयारी भइरहेको बताए । ‘भोलि बस्ने भ्रातृसंस्थाका युवा नेताको बैठकले भेलाको निर्णय गर्छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७९ ०६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×