कृषि विज्ञ पौडेल चितवन २ बाट चुनावमा उठ्ने

रमेशकुमार पौडेल

चितवन — खाना र खेतीपातीलाई विषादीरहित बनाउने अभियानमा लागेका कृषि विज्ञ कृष्णप्रसाद पौडेलले आउँदो प्रतिनिधिसभा चुनावमा चितवन २ बाट उम्मेदवार बन्ने बताएका छन् ।

कृषि विज्ञ पौडेल चितवन २ बाट चुनावमा उठ्ने

भरतपुरमा शनिबार आयोजना भएको पत्रकार सम्मेलनमा पौडेलले आफू आबद्ध पार्टीमा दाबी पेस गरिसकेको जानकारी दिए । उनी एमालेमा राजनीति गरेका व्यक्ति हुन् । तर पछिल्लो समय राजनैतिक गतिविधिमा भन्दा बढी विषादीरहित कृषि अभियानमा सक्रिय छन् । 'यो मुद्दा अब राजनैतिक प्रणालीभित्र आउनु पर्छ । किनकि विषादीको बढ्दो अनियन्त्रित प्रयोगले माटो र मान्छेको स्वास्थ्य घातकरूपमा बिग्रेको छ । यसलाई सुधार नै पर्ने भएको छ । यसका लागि राजनैतिकरूपमा हस्तक्षेप चाहिएको छ,' पत्रकार सम्मेलनमा पौडेलले भने । सांसद बनेर नीति निर्माण तहमा यसबारे आवाज उठाउने आफ्नो उद्देश्य रहेको उनले बताए ।

पार्टीले अन्याय गरेको अवस्थामा विद्रोह गर्न सक्ने अधिकार आफूसँग रहेको पनि उनले बताए । तर त्यस बारेमा अहिल्यै आफूले केही नसोचेको पनि उनको भनाइ । पार्टीमा लामो समयदेखि आबद्ध रहँदै आएको व्यक्तिले उठाएको जायज र नौलो मुद्दालाई नेतृत्वले नजरअन्दाज गर्दैन भन्ने विश्वास आफूलाई लागेको पौडेलले बताए ।

भरतपुरको क्षेत्रपुर घर भएका ६० वर्षका पौडेलले रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक र बेलायतको रिडिङ विश्विवद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनी विद्यार्थी जीवन २०३६ सालदेखि नै एमाले तथा तत्कालीन माले निकट भएर राजनीतिमा लागेका व्यक्ति हुन् ।

प्रकाशित : श्रावण २८, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?