सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुक्खा पहिरो खस्दा हेलम्बुको ११ घर उच्च जोखिममा

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेको छ । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरु पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा पाँच सय मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । 

अहिले तत्कालका लागि विस्थापितहरुलाई १० वटा पाल गाउँपालिकाले उपलब्ध गराएको छ । पहिरो गएपछि सो स्थानको अवलोकनका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको टोली पुगेको छ । पहिरोले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सीमामा रहेको तालामाराङ खोला थुनिन सक्ने जोखिम देखिएपछि तालामाराङ बजार क्षेत्रमा रहेका स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरमा मनाइयो 'सापारू'

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुरका स्थानीय नेवार समुदायले वर्षदिनभर दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । स्थानीय बासिन्दाले शुक्रबार बिहानैदेखि दिवंगत आफन्तको सम्झनामा ताहामचा बनाई घिन्ताङघिसी प्रदर्शन गर्दै नगर परिक्रमा गरेर गाईजात्रा पर्व मनाएका हुन् ।

मृतात्माले मोक्ष प्राप्त गरून् भन्दै भदौ कृष्ण प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाउने परम्परा छ । हिन्दु धर्मग्रन्थमा उल्लेख भए अनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मर्त्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्छ भन्ने जनविश्वास अनुसार गाईजात्रा मनाउने गरेको स्थानीय बताउँछन् ।

संस्कृतिविद्हरू गाईजात्रालाई शोक र उल्लासको संगम भएको पर्व पनि मान्छन् । यस पर्वलाई नेवारी भाषामा ‘सापारू’ भनिन्छ । ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन गाईजात्रा पर्व मनाइन्छ । साहित्यकार एवं संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यको रुपमा बढी जोडिएको बताउँछन् । ‘हिन्दू धर्ममा गाईलाई पवित्र जनावर मानिन्छ, हाम्रो दिवंगत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठ्युँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ,’ ग्वंगःले भने, ‘मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।’

गाईजात्राको प्रचलन राजा प्रताप मल्लले सुरु गरेको बताइन्छ । राजा प्रताप मल्लले छोरा मरेर शोकमा परेकी रानीलाई सान्त्वना दिन नगरमा एक वर्षभित्र आफन्त मरेका परिवारलाई दरबारमा जात्रा ल्याउन निर्देशन दिएको अभिलेखहरु पाइने स्थानीय बताउँछन् । जनैपूर्णिमाका दिन साँझ नै भक्तपुर तलेजुस्थानबाट ताहामचा बनाई परिक्रमा गरेपछि जात्रा सुरु हुने परम्परा छ ।


बालबालिकाको मृत्यु भएमा साचा बनाई परिक्रमा गर्ने र पाका उमेरका व्यक्तिहरूको मृत्यु भएमा भने १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ । कतिपयले मृतक परिवारको घरबाट बालबालिकालाई शिव पार्वतीको प्रतीकका रुपमा सिँगारेर ल्याउने प्रचलन छ । यस्ता बालबालिका भने कर्म नचलिसकेका कलिला बालबालिका हुनुपर्ने मान्यता रहेको बुढापाकाहरु बताउँछन् । आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ ।

नगरको विभिन्न टोलबाट निकालिएको गाईजात्रा भक्तपुर दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछें, खौमा परिक्रमा गर्ने प्रचलन छ ।

भक्तपुर नगरबाहेक चाँगुनारायण नगरको सुडाल, सूर्यविनायक नगरको कटुञ्जे, गुण्डु, सिपाडोललगायत क्षेत्रमा पनि ताहामचा बनाई नगर परिक्रमा गरेर गाईजात्रा पर्व मनाइएको छ ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौथरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी बताउँछन् । दिवंगत भएका आफन्तहरूको सम्झनामा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि रहिआएको छ ।

जात्रा समापनको क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिने प्रचलन छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमाचा, यसपछि सोही टोलभरबाट निकालिएको अन्य ताहमाचा र सबभन्दा पछि नकिङजु अजिमाको ताहमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रमा गरेपछि पर्वको पहिलो दिनको जात्रा सम्पन्न हुने गर्छ।


प्रकाशित : श्रावण २७, २०७९ १९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×