श्रद्धालुद्वारा गोसाईंकुण्ड स्नान- वाग्मती - कान्तिपुर समाचार

श्रद्धालुद्वारा गोसाईंकुण्ड स्नान

बलराम घिमिरे

रसुवा — प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्ड पुगेर शुक्रबार हजारौं भक्तजनले कुण्ड स्नान गरेका छन् । श्रावण शुक्लपूर्णिमा (जनैपूर्णिमा) का दिन कुण्डमा स्नान गर्ने श्रद्धालुहरूको भीड लागेको छ । शुक्लपूर्णिमामा भने कुण्डमा विशेष मेला लाग्ने गर्दछ ।

गोसाईंकुण्ड समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ ।

नागपञ्चमीको दिनदेखि साउन शुक्लपूर्णिमाको दिनसम्म गोसाईंकुण्ड स्नानका लागि भक्तजनहरू यहाँ आउने गर्दछन् । कुण्डमा मेला भर्न स्थानीय तथा नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, चितवन, नवलपरासी, काठमाडौंलगायत देशैभरका हिन्दू तथा बौद्ध धर्मालम्वीहरू गोसाईंकुण्डमा आउने गर्दछन् ।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानव समुद्र मन्थन गर्दा समुद्रबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाईंबाबा (भगवान शिव) ले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशुल धाराको उत्पति भई उक्त धाराको पानीबाट गोसाईंकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

कुण्डमा स्नान गरी गोसाईंबाबाको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने; पितृ तर्ने र आफूले चिताएका सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् । जनैपूर्णिमाका दिन कुण्डमा पूजाआजा तथा स्नान गर्दा मनमा आनन्द हुने भक्तजनहरूमा विश्वास रही आएको छ । प्रत्येक वर्ष गंगादसहरा र जनैपूर्णिमा गरी वर्षको २ पटक मेला लाग्ने गर्दछ ।

यस ठाउँ धार्मिक एवं पर्यटकीय क्षेत्र भएकाले वर्षभरि नै विदेशी तथा स्वदेशी पर्यटकहरुको आगमन भइरन्छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा अवस्थित जैविक विविधताले भरिपूर्ण गोसाईंकुण्डलगायत वरपरका अन्य कुण्डहरूलाई २०६४ साल असोज ६ गते रामसार साइटमा सूचीकृत गरिएको छ । गोसाईंकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायत करिब १०८ वटा कुण्ड रहेको बताइन्छ ।

यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस‚ लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पती र चराहरू रहेका छन् । कुण्ड नजिकै अमरसिंह गुफासमेत रहेको छ । यात्राको क्रममा घट्टेखोला, देउराली, डिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडाजस्ता स्थानहरूबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यस पटक कुण्ड स्नान गर्न १० हजारभन्दा बढी भक्तजन आएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताए ।

प्रकाशित : श्रावण २७, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

रसुवागढी नाकाबाट हुने आयात रोकियो

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकाबाट हुने आयात आइतबारदेखि पुनः रोकिएको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ को संक्रमण देखापरेपछि चीनले आइतबारदेखि आयातमा रोक लगाएको हो । रसुवागढी नाकाबाट आइतबारदेखि सामान आयात रोकिएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको तर आइतबारदेखि भने कुनै कन्टेनर नआएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए ।

‘३० महिना पूरा भयो रसुवागढी नाकाबाट चीनतर्फ सामान निर्यात हुन नसकेको । मानिसको आवतजावत पनि बन्द छ । आयात रोकिएको विषयमा हामीलाई कुनै पनि औपचारिक जानकारी आएको छैन‚’ मैनालीले भने‚ ‘तिब्बततर्फ कोभिड-१९ को संक्रमण देखिएको अपुष्ट जानकारी आएको छ । आयात रोकिनुभन्दा अघिसम्म नाकाबाट दैनिक चाइनिज १४ कन्टेनर मात्र सामान आयात भइरहेको थियो । त्यो पनि नियमित थिएन । एक-दुईवटा कन्टेनर मात्र सामान आइरहेको थियो ।’

‘तिब्बतमा कोरोना बढेपछि त्यहाँका सरकारी कार्यालयहरू र विद्यालय पनि बन्द भएको अनौपचारिक जानकारी आएको छ‚’ रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए । यसैगरी तिब्बत सरकारले पहिलो चरणमा ८ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको उनले बताए ।

नाका बन्द भएपछि व्यापारीका सामान तिब्बतमै रोकिएका छन् । नेपाल ल्याउन लोड भएका सामान केरुङमा रोकिएको व्यापारी धर्म पौडेलले बताए । ‘तीज र दशैंका लागि आवश्यक सामग्रीसहित ५० कन्टेनर सामान नेपाल ल्याउन तयारी अवस्थामा राखिएको थियो‚’ उनले भने ।

प्रकाशित : श्रावण २६, २०७९ २०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×