श्रद्धालुद्वारा गोसाईंकुण्ड स्नान- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रद्धालुद्वारा गोसाईंकुण्ड स्नान

बलराम घिमिरे

रसुवा — प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्ड पुगेर शुक्रबार हजारौं भक्तजनले कुण्ड स्नान गरेका छन् । श्रावण शुक्लपूर्णिमा (जनैपूर्णिमा) का दिन कुण्डमा स्नान गर्ने श्रद्धालुहरूको भीड लागेको छ । शुक्लपूर्णिमामा भने कुण्डमा विशेष मेला लाग्ने गर्दछ ।

गोसाईंकुण्ड समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-५ मा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ ।

नागपञ्चमीको दिनदेखि साउन शुक्लपूर्णिमाको दिनसम्म गोसाईंकुण्ड स्नानका लागि भक्तजनहरू यहाँ आउने गर्दछन् । कुण्डमा मेला भर्न स्थानीय तथा नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, चितवन, नवलपरासी, काठमाडौंलगायत देशैभरका हिन्दू तथा बौद्ध धर्मालम्वीहरू गोसाईंकुण्डमा आउने गर्दछन् ।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानव समुद्र मन्थन गर्दा समुद्रबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाईंबाबा (भगवान शिव) ले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशुल धाराको उत्पति भई उक्त धाराको पानीबाट गोसाईंकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

कुण्डमा स्नान गरी गोसाईंबाबाको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने; पितृ तर्ने र आफूले चिताएका सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् । जनैपूर्णिमाका दिन कुण्डमा पूजाआजा तथा स्नान गर्दा मनमा आनन्द हुने भक्तजनहरूमा विश्वास रही आएको छ । प्रत्येक वर्ष गंगादसहरा र जनैपूर्णिमा गरी वर्षको २ पटक मेला लाग्ने गर्दछ ।

यस ठाउँ धार्मिक एवं पर्यटकीय क्षेत्र भएकाले वर्षभरि नै विदेशी तथा स्वदेशी पर्यटकहरुको आगमन भइरन्छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा अवस्थित जैविक विविधताले भरिपूर्ण गोसाईंकुण्डलगायत वरपरका अन्य कुण्डहरूलाई २०६४ साल असोज ६ गते रामसार साइटमा सूचीकृत गरिएको छ । गोसाईंकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायत करिब १०८ वटा कुण्ड रहेको बताइन्छ ।

यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस‚ लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पती र चराहरू रहेका छन् । कुण्ड नजिकै अमरसिंह गुफासमेत रहेको छ । यात्राको क्रममा घट्टेखोला, देउराली, डिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडाजस्ता स्थानहरूबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यस पटक कुण्ड स्नान गर्न १० हजारभन्दा बढी भक्तजन आएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताए ।

प्रकाशित : श्रावण २७, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा हात्ती दोब्बर

देशभर २ सय २७ वटा रैथाने, १ सय ७६ घरपालुवा हात्ती
पर्वत पोर्तेल

झापा — देशभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ । करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो । यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा हात्ती मारिएका छन् । जसमध्ये ३४ विद्युतीय झट्काका कारण र ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका हुन् । झापामा मात्रै विगत १५ वर्षमा १५ वटै हात्ती मारिएका छन् ।

संरक्षणविद् डा. अशोक रामका अनुसार देशभर करिब २ सय २७ वटा रैथाने हात्ती रहेका छन् । १ सय २० देखि १ सय ५० वटा हात्ती भारततिरबाट आउने गरेका छन् । खासगरी झापा र बर्दियामा आप्रवासी हात्ती आउने गरेका छन् । भारतको पश्चिम बंगालमा हाल करिब ६ सय हाराहारीमा हात्ती छन् । ती हात्ती खास गरी झापा आएर रैथाने हात्तीसँग मिसिने गरेको पनि पाइएको छ । ‘कतिपय यतै मिसिन्छन्, कतिपय भने फर्किन्छन्,’ हात्ती संरक्षणकर्मी शंकर लुइँटेल भन्छन् ।

नेपालमा १ सय ७६ हात्ती घरपालुवा छन् । ती हात्ती विभिन्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका छन् । जसमध्ये ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएको छ ।

हात्ती विज्ञ रामले हालै भारतको वन्यजीव संस्थानबाट ‘एसियाली हात्तीको बासस्थान, जनसंख्या र मानवसँगको सम्बन्ध’ बारे विद्यावारिधी गरेका हुन् । त्यही क्रममा गरिएको एक अध्ययन अनुसार सबभन्दा बढी बाँके–बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा कोरिडरमा १ सय १३ हात्ती छन् । चितवन–पर्सा क्षेत्रमा ४५, शुक्लाफाँटामा २६, झापामा १९ र कोसीमा १६ वटा हात्ती छन् ।

देशका २० जिल्लामा जारी मानव–हात्ती द्वन्द्वको चपेटामा परेर २ सय ७४ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म दुई दशकयता भएको यो अनौठो द्वन्द्वबाट ती सर्वसाधारणले अकालमा ज्यान गुमाएका हुन् ।

सबभन्दा बढी झापामा ४१ तथा कम महोत्तरी र नवलपरासीमा १–१ जनाले हात्ती आक्रमणबाट ज्यान गुमाएका छन् । हात्ती अनुसन्धाता अशोक रामका अनुसार झापापछि मध्यवर्ती क्षेत्र बर्दियामा हात्ती आक्रमणबाट ४० जनाको ज्यान गएको छ । त्यस्तै चितवनमा २६, सप्तरीमा २३, पर्सामा २१, बारामा २०, सिरहा र उदयपुर १६/१६, सुनसरीमा १५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सिन्धुली र धनुषा ९/९, मोरङ ८, रौतहट ७, सर्लाही, मकवानपुर र कञ्चनपुरमा ५/५ जनाको, इलाममा ४ र बाँकेमा २ को मृत्यु हात्ती आक्रमणबाट भएको छ । २० जिल्लामा १ सय बढी सर्वसाधारण अंगभंग भई घाइते भएका छन् ।

देशभरि ६ हजार ६ सय ६ जनाको अन्नबालीमा क्षति पुगेको छ । ३ हजार ७ सय ७५ जनाको भौतिक क्षति भएको छ । ‘हात्ती हामीप्रति बढी आक्रामक बन्दै जानुको कारक हामी नै हौं,’ हात्ती विज्ञ रामले भने, ‘हामीले आफनो आचरण र व्यवहार नसच्चाएसम्म मानव–हात्ती दुवैलाई बराबरी खतरा छ ।’

प्रकाशित : श्रावण २७, २०७९ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×