भूकम्पपछि तंग्रिएको खोलिखिम पहिरोले तहसनहस

खोलिखिमसहित आसपासका १ सय भन्दाबढि स्थानीयले घर छाडे, माथिल्लो क्षेत्रमा पहिरोसहित ठुलो ढुङगा झर्नसक्ने भन्दै आवतजात नगर्न प्रशासनको आग्रह । इलाका प्रहरी कार्यालयका प्रहरी समेत रात काट्न सुरक्षित स्थान खोजेर जाँदै
केदार शिवाकोटी

दोलखा — नयाँ बनाएका घरमा बस्न नपाई भूकम्पले भत्काएपछि बल्लतल्ल तंग्रिएका खोलिखिमका रोबहादुर श्रेष्ठ पहिराले घर पुरिएपछि सिथिल बनेका छन् । श्रीमतीसँग दिनभरि सिंगटी खोलावारि आउँछन् पहिरो हेरेर एकोहारिन्छन् । गएको २३ गते माथिल्लो क्षेत्रबाट आएको पहिरोले उनको घर क्षतविक्षत भएको छ ।

भूकम्पपछि तंग्रिएको खोलिखिम पहिरोले तहसनहस

पहिराले घरमा क्षति गरेपछि भएका सामान जोगाउने क्रममा उनकी श्रीमती सरस्वती घाइते भएकी छन् । बिगु गाउँपालिका-४ खोलिखिम बजारमा ७० घर छन्; सबै घरमा व्यावसायिक रुपमा ठूला-साना गरी होटल‚ पसल छन् । अहिले यो बजार नै पहिरोले रित्तिएको छ । लादुक-बुलङ ओराङ जाने सडक विस्तारका क्रममा निर्माण कम्पनीले वर्षात्‌को समयमा पर्ने पानीका लागि नालासमेत नबनाएका कारण माथिल्लो क्षेत्रबाट ठूलो पहिरो खसेको रोबहादुरले बताए ।

‘सडक विस्तार गर्दा जथाभावी ग्याबिन लगाइयो; नाला कतै बनाइएन,’ उनले भने, ‘जीवनभर कमाएर बनाएको घर-पसल पनि पहिरोले पुर्‍यो ।’

‘भूकम्पले बस्नै नपाएका घर भत्काउँदा विस्मात् लागेको थिएन । विकासका नाममा जथाभावी गर्दा बजारै उठिबास लाग्यो,’ उनले भने‚ ‘अब कता जाने‚ के गरेर खाने‚ खै दिमागै चलेको छैन ।’

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययनमा भूगर्भविद्‌ले सिंगटीलाई जोखिम बस्तीका रुपमा राखेर बस्न अयोग्य भन्दै प्रतिवेदन दिएका थिए । तर‚ उक्त प्रतिवेदनको कार्यान्वयन सरकारले नगर्दा भूकम्पपछि कुनै विकल्प नपाएर स्थानीय पुन: सोही स्थानमा घर बनाएर बस्न थालेका हुन् । जिल्लाको उत्तरी क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक केन्द्र सिंगटी नै हो । बिगु गाउँपालिकाको ६ वटा वडाका स्थानीय खोलिखिम बजार हुँदै आवतजावत गर्छन् । बुधबार अपराह्न परेको पानीले पहिरोको आकार ठूलो बनाएर लगेको छ । बिहीबार स्थानीय घरबाट धमाधम सामान निकालिरहेका देखिन्थे । उक्त पहिरोले बजार नै क्षतिग्रस्त बनाएपछि भएका सामान निकालेर सुरक्षित स्थानमा भाडाको कोठामा राखेको बताउँछन् ।

खोलिखिम बजार आसपासका घरहरूमा पनि माथीबाट पहिरो झर्न थालेपछि स्थानीय धमाधम विस्थापित बनिरहेका छन् । दैनिक रुपमा घरमा भएका लत्ताकपडा निकालेर सुरक्षित स्थानमा जाने क्रम बढेको गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताए ।

विगतबाट नै खोलिखिम बजार जोखिममा थियो,’ उनले भने, ‘सरकारले विकल्प नदिएपछि स्थानीय जोखिम स्थानै घर बनाउँदा ठूलो क्षति भयो ।’ पहिरोबाट विस्थापित स्थानीयलाई तत्कालका लागि सुरक्षित स्थानमा र खानपानको व्यवस्था पालिकाले मिलाउने गरी तयारी थालेको उनले बताए । पहिराको कारण ६ वटा वडाका स्थानीय सम्पर्क विच्छेदमा परेको उनले बताए ।


सिंगटीको खोलिखिम बजारमा आएको पहिरोले हालसम्म १० घर पुरेको छ । बजार नै पहिरोको चपेटामा परेपछि सामान निकाले सुरक्षित स्थानमा जाँदै स्थानीय

‘पहिरो र बाढीले बिगुका सडक सञ्जालसमेत तहसनहस बनाएको छ,’ उनले भने‚ ‘स्थानीय बिरामी भैहाले भने औषधोपचार गर्न आउने अवस्था छैन ।’ ग्रामीण सडक पहिरोले क्षतविक्षत बनाएकाले माथिल्लो क्षेत्रमा खाद्यान्न अभाव हुन सक्ने भन्दै सडक खुलाउने प्रयास भइरहेको ओलीले बताए । बिरामी र गर्भवती महिला बोकेर पहिरो छिचोल्दै सिंगटी झनुपर्ने बाध्यतामा रहेको चिलंखाका प्रवीण खड्काले बताए ।

‘सडक पहिरोले लगेको छ, खोलामा भएका फडके पनि बाढीले बगाएको छ,’ उनले भने, ‘ज्यान जोखिममा पारेर बिरामी बोक्नुपर्ने बाध्यता छ ।’ आधा घण्टाको दूरी काट्न घण्टौं लगाउनु पर्ने बाध्यतामा दुर्गम भेगका स्थानीय परेको उनले बताए । खोलिखिम बजारको माथिल्लो भेग पूरै चिरिएर बसेको छ ।

माथिल्लो क्षेत्रमा मानिसलाई आवतजावत नगर्न प्रहरीले आग्रह गरेको छ । उक्त पहिरोको माथि भीमकाय ढुङ्गा भएकाले कुनै पनि बेला झर्न सक्ने भन्दै स्थानीयलाई बजार क्षेत्रमा हिँड्डुलमा समेत सचेतना अपनाउन प्रहरीले आग्रह गरेको प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । उक्त ढुङ्गा खसेमा बस्तीसहित मोटरेवल पुलमा समेत क्षति पुग्ने भएकाले स्थानीयले उक्त ढुुङ्गाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

सिंगटीका धेरै क्षेत्रमा पहिरोले क्षति गरेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताए । स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा लैजाने क्रम चलिरहेको उनले बताए । ‘खोलिखिम बजारमा भोलि बस्न मिल्छ या मिल्दैन पछि अध्ययन होला,’ उनले भने, ‘तर अहिले भने हामीले उक्त क्षेत्र र आसपसामा नबस्न आग्रह गरेका छौं ।’ माथिल्लो क्षेत्रमा रहेको ठूलो ढुङ्गा सेनाको सहयोग लिएर फुटाउने उनले बताए ।

प्रकाशित : श्रावण २६, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?