१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अपराध अनुसन्धानमा अभाव र दबाब

रमेशकुमार पौडेल

चितवन — अपराध अनुसन्धानको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरी अभाव र दबाबबाट गुज्रिरहेको बताइएको छ । मंगलबार भरतपुरमा भएको नेपाल प्रहरीको वाग्मती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा यस्तो विषय उठेको हो ।

अपराध अनुसन्धानमा अभाव र दबाब

अपराधको प्रवृत्ति परिवर्तन भएको, प्रविधिको दुरुपयोग बढेको तर अपराध अनुसन्धानको क्षेत्रमा सन्तोषजनक लगानी नभएको वक्ताहरूले बताए ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले सुरक्षामा राम्रो र प्रभावकारी लगानी हुन नसकेको भनाइ राखे । ‘सुरक्षामा बजेट कम छ । अपराध निकै बढी हुने ठाउँमा राज्यले नै सीसी क्यामेरा राखौं भनेको सुनुवाइ भएको छैन । आर्थिक अपराधको जालो नेपालभन्दा बाहिरसम्म छ । प्रविधिमा हामी कमजोर छौं । राजनैतिक अपराधलाई कठाघारमा ल्याउन खोज्दा के हुन्छ, सुनेकै छौं, बुझेकै छौं,’ तमाङले भने ।

नेपाली समाजमा १५ वर्षयता अपराधको प्रवृत्ति र प्रकृति एक्कासी परिवर्तन भएको प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले बताए । पहिला ८० प्रतिशतभन्दा बढी अपराधमा नचिनेका मान्छेहरू संलग्न हुने गरेको सुवेदीले सुनाए । ‘तर अहिले दुखका साथ भन्नु पर्छ, मर्डर (हत्या), रेप (बलात्कार), ठूला लुटपाटहरू चिनजानकै व्यक्ति र त्यसमा पनि घरपरिवार, नातागोताबाट हुने गरेको छ,’ एआईजी सुवेदीले भने ।

सामाजिक शान्ति सुरक्षा कमजोर भएको भनेर चर्चामा आउने छिमेकी देश भारतको बिहार राज्यमा पनि ६५ प्रतिशतभन्दा बढी अपराध चिनजान बाहेकका संगठित आपराधिक गिरोहबाट हुने गरेको तर नेपालमा अब अपराधी खोज्न घरभित्र छिर्नु पर्ने भएको उनले बताए । प्रविधिको विकासले अपराधको शैली विकराल बनाउँदै लगेको उनले बताए । सामाजिक सञ्जाल प्रयोग गरेर ठग्ने चलन पनि मौलाउँदै गएको बताइएको छ ।

‘तपाइँ हाम्रो मोबाइल फोनमा २५ लाख रुपैयाँ चिट्ठा पर्‍यो भनेर म्यासेज आउँछ । चिट्ठा पाउन केही शुल्क तिर्नु पर्छ खातामा रकम राखिदिनु भन्दा धमाधम पैसा पठाउने पनि गर्दा रहेछन् । गाउँकाले भन्दा पनि पढेलेखा सहरका मान्छे यसरी धेरै ठगिएका छन्,’ सुवेदीले भने । ५५ वर्षभन्दा माथिका पुरुषहरू सामाजिक सञ्जालमा युवतीसँग नजिकिँदै ५० लाख रुपैयाँसम्म दिँदै जाने व्यक्तिहरू पनि भेटिएको उनले बताए ।

‘भन्नै पर्छ ठूलठूला पुलिस अफिसर, पोल्टिसियन (राजनीति गर्नेहरू), डक्टरहरूसमेत युवतीको जालमा फँस्ने, सामाजिक सञ्जालमा अनेक तरिकाका च्याट र भिडियो कल गर्दै जाने । लाष्टमा पैसा नबुझाए सामाजिक सञ्जालमा सार्वजनिक गर्दिन्छु भनेर धम्की खाने रहेछन्,’ एआईजी सुवेदीले भने । हिजोको जस्तो भूमिगत समूहले गर्ने विष्फोट, सांगठिन अपराध अन्तर्गत हुने हत्या अपहरण कम भएको तर अरु अपराध बढेको उनले बताए ।

‘नेपालमा नेपाली र भारतीय मिलेर अमेरिकी नारिकको अमेरिकामा नै रहेको बैंकको पैसा ह्याक गरेर त्यो पैसा भारत पठाउने पनि हुन थालेछ । अपराधको शैली कहाँबाट कहाँ पुग्यो,’ सुवेदीले आश्चर्य प्रकट गरे । क्रिप्टो करेन्सीको नाममा अनेकौं व्यक्तिको अर्बौं रकम ठगिएको हुनसक्ने पनि उनले बताएका छन् । यस्ता नयाँ अपराधलाई रोक्ने प्रविधि र पर्याप्त स्रोत साधन नभएको पनि उनको गुनासो थियो ।

‘टेक्नोलोजी (प्रविधि)मा हामीले विकास गर्न सकेनौं, नेपाल प्रहरीलाई बलियो बनाउन सकेनौं, सरकारी संयन्त्र र न्यायालयलाई पनि त्यही अनुरुप अपग्रेड गरेनौं भने साइबर सेक्युरिटीमा अब्बल भएनौं भने अपराध हुँदै गर्ने, टुलुटुलु हेर्नु पर्ने अवस्थामा हुन्छौं,’ एआईजी सुवेदीले भने । चितवन जिल्ला अदालतका न्यायाधीश रिपेन्द्र थापाले नेपाल प्रहरीले अनुसन्धान गर्दा रक्त समूहसमेत छुट्याउन नसकेको बताए ।

‘अन्य क्षेत्रमा कति लगानी भएको छ तर अनुसन्धानको क्रममा यहाँहरूले डीएनए टेस्ट गर्न सक्नु हुन्न । डीएनए टेस्ट गर्न काठमाडौं पठायो, तीन वर्षसम्म प्रतिवेदन आउँदैन,’ न्यायाधीश थापाले अनुभव सुनाए । यस्ताखाले अभाव र प्रभावबाट मुक्त भए मात्रै व्यक्तिले छिटोछरितो न्याय पाएको अनुभव गर्ने वक्ताहरूको भनाइ थियो । कार्यक्रममा उपत्यकाका तीन र काभ्रे बाहेक अन्य नौ जिल्लाका प्रहरी अनुसन्धान अधिकृतहरू सहभागी थिए ।

प्रकाशित : श्रावण २४, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?