कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडावासीलाई नि:शुल्क खानेपानी वितरण गरिने

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाभित्र रहेका नगरवासीलाई १० हजार लिटर खानेपानी नि:शुल्क रुपमा उपलब्ध गराउन हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीच आइतबार सम्झौता भएको छ ।

हेटौंडावासीलाई नि:शुल्क खानेपानी वितरण गरिने

उक्त सम्झौता आगामी भदौ महिनादेखि कार्यान्वयनमा आउने भएको छ । नगरवासीलाई १० हजार लिटर खानेपानी नि:शुल्क रुपमा उपलब्ध गराउने यो मुलुककै पहिलो उपमहानगरपालिका हो ।

साउन १६ गते बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले नगरभित्र रही हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा जोडेका नगरवासीलाई १० हजार लिटर सम्म निःशुल्क रुपमा खानेपानी उपलब्ध गराउने निर्णय गरेको थियो ।

आइतबार भएको सम्झौता अनुसार बोर्डमार्फत वितरण भएको पानीको धारा जोडेका नगरवासी, समुदायिक विद्यालय र क्याम्पसले खानेपानीको न्यूनतम महशुल तिर्न नपर्ने भएको छ ।

सम्झौता अनुसार नगरक्षेत्रमा रहेर नियमित खानेपानी प्रयोग गरिरहेका नगरवासीले प्रति १० हजार लिटर बराबर ८५, सामुदायिक विद्यालयलाई प्रतिधारा अनमिटर ७ सय लिटर, सामुदायिक क्याम्पसलाई प्रतिधारा अनमिटर १५ सय र सहरी सवास्थ्य केन्द्रलाई अनमिटर प्रतिधारा ७ सय रुपैयाँका दरले उपमहानगरले खानेपानी व्यवस्थापन बोर्डलाई महशुल रकम उपलब्ध गराउने सहमति भएको मेयर मीना लामाले बताइन् ।

सहमति अनुसार खानेपानीको बिलिङ भएको महिनाको १० गतेभित्र महशुल रकम बुझाउनु पर्नेछ । सहमतिपत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाईं, प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजयकुमार न्यौपानेले हस्ताक्षर गरेका थिए ।

सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो । गठबन्धनबाट निर्वाचित भएको तीन महिनाभित्रै उपमहानगरकी मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँले चुनावी घोषणा पत्रअनुसार प्रतिबद्धता पूरा गरेका हुन् ।

उपमहानगरको उक्त निर्णय भदौ महिनादेखि २३ हजार ५ सय धारामा लागू हुनेछ । यस सुविधाबाट १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताएको छ ।

खानेपानीको न्युनतम महशुल निःशुल्क उपलब्ध गराए बापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक करिब २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने उपमेयर बानियाँले बताए ।

उपभोक्ता समितिमार्फत् खानेपानी प्रयोग गरिरहेका नगरका उपभोक्ताहरुले खानेपानी बोर्डमा आवद्ध भएपछि उक्त सुविधा पाउने उपमहानगरपालिकाले जनाएको छ । उक्त सुविधा पाउनका लागि खानेपानी बोर्डमा आवद्ध हुन मेयर लामाले आह्वान गरेकी छन् ।

प्रकाशित : श्रावण २३, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?