पहिरोले दोलखाका २ सय परिवार विस्थापित- वाग्मती - कान्तिपुर समाचार

पहिरोले दोलखाका २ सय परिवार विस्थापित

कतै रिचार्ज पोखरी त कतै सडक भत्किँदा उठीबास । खहरे तर्न डोजरको भर । सडक बगाएपछि वडा नै सम्पर्कविच्छेद ।
केदार शिवाकोटी

दोलखा — जंगलभित्र रहेको 'रिचार्ज' पोखरी फुटेर आएको बाढीले चरीकोट नजिकै भीमेश्वर नगरपालिका–२ र ३ का १० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार परेको अविरल वर्षासँगै बस्तीभन्दा माथिल्लो क्षेत्रमा निर्माण गरिएको पोखरी फुटेपछि मर्याङ खोला अनियन्त्रित हुँदा स्थानीयको उठीबास लागेको हो ।

खोरथली सामुदायिक वनमा २ वर्षअघि वन्यजन्तुका लागि रिचार्ज पोखरी निर्माण गरिएको थियो । अत्यधिक वर्षा भएपछि रिचार्ज पोखरी फुटेको छ । बाढीले एक रिसोर्टसहित १० घरमा क्षति गरेको स्थानीय निराजन थापाले बताए । ‘तल्लो क्षेत्रमा बस्ती छ भनेर थाहा पाउँदा पाउँदै अध्ययन बिना नै पोखरी खनियो,’ उनले भने, 'पोखरी फुटेर आएको बाढीले घरको जगै भत्काएको छ, जमिन चिराचिरा पारेको छ ।’

बाढी आएपछि मध्यरातमा नजिकैको सशस्त्र प्रहरीको गुल्मले स्थानीयको उद्धार गरेको थियो । बाढीको त्रासले स्थानीयहरूले घर छाडेका छन् । बाढीका कारण घरहरूमा लेदो पस्नुका साथै कटान गरेपछि ८ वटा घर जोखिममा परेका छन् । कमजोर भू–वनोटमा पोखरी निर्माण गरिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

उक्त वन सदरमुकामको सबैभन्दा ठूलो सामुदायिक वन हो । पोखरीको निकास पूर्ण रुपमा नखोलिदिएका कारण जोखिम कायमै रहेको स्थानीयले बताएका छन् । उक्त वनमा खुल्ला चिडियाखाना बनाउन वाग्मती प्रदेश सरकार, भीमेश्वर नगरपालिका र डिभिजन वनले उक्त पोखरी निमार्ण गरेका हुन् । तर अध्ययन बिना नै पोखरी निमार्ण गरेको भन्दै २ वर्ष अघिदेखि उक्त कार्यको विराध हुँदै आएको थियो । डिभिजन वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले उक्त पोखरी निमार्णका बारेमा खासै जानकारी नभएको बताए । ‘म आउनुभन्दा अघि नै वन क्षेत्रमा पोखरी बनाइएको रहेछ,’ उनले भने, ‘वन क्षेत्रमा वन्यजन्तुका लागि यस्ता पोखरी निर्माण हुन्छ, तर कस्तो पोखरी बनेछ म पुग्न पाएको छैन ।’

सडकको पहिरो खस्दा ६ घर पुरियो, ४५ परिवार विस्थापित

आइतबार राति सडकमाथिबाट खसेको पहिरोले जिल्लाको उत्तरी बिगु गाउँपालिका– ४ खोलिखम बजारका ६ घर र पसल पुरिएका छन् ।

यससँगै खोलिखम बजार नै विस्थापित बनेको छ । सिंगटीबाट लादुक, बुलङ जाने मुख्य सडक यही बजारको माथिबाट बनेको छ । उक्त सडक पहिरोले बगाएर खोलिखम बजारमा ल्याएको छ । सोमबार दिनभर सुरक्षाकर्मी, नगर प्रहरी र स्थानीयले खोलिखम बजारका स्थानीयको उद्धार गरेको अध्यक्ष सन्जिव ओलीले बताए ।

‘बजार क्षेत्रमा माथिल्लो क्षेत्रबाट निरन्तर पहिरो आइरहेको छ,’ उनले भने, ‘बजारवासीलाई दिनभर लगाएर सुरक्षित स्थानमा सारेका छौं ।’ जोखिम कम नभएको भन्दै पालिकाले उक्त क्षेत्रमा साँझ बिहान हिँडडुल नगर्न सूचना जारी गरेको छ ।

पहिरोले वडा नै सम्पर्क विच्छेदमा

निरन्तरको वर्षापछि आएको पहिराले कालिञ्चोक गाउँपालिका–१ कालिञ्चोक जोड्ने मुख्य सडक बगाएपछि पूरै वडामा सम्पर्क हुन सकिरहेको छैन । कालिञ्चोकको बेगम्पा क्याम्पोल लगायत जोड्ने सनखानी साङबा सडक पहिरोले बगाएपछि सम्पर्क विच्छेदमा परेको वडा अध्यक्ष पदमबहादुर थामीले बताए ।

‘हिँड्नसमेत नमिल्ने गरी सडक बगाएका कारण बिरामी लैजानसमेत सकेका छैनौं,’ उनले भने, पारिबाट लैजान कालिञ्चोक खोलामा पुल नहुँदा थप सकस भएको छ ।’ विद्यालय जाने विद्यार्थीहरू सडक नभएपछि विद्यालय आउन छाडेको पनि उनले बताए ।

पहिराले सडक बगाएपछि स्थानीयहरू २ दिन हिँडेर माथिल्लो भेगबाट पालिकाको कार्यालय र सदरमुकाम जाने गरेको उनले बताए । सडक तत्काल खुलाउन सकिएन भने अत्यावश्यक वस्तु ढुवानीसमेत ठप्प हुने उनले बताए । कालिञ्चोक गाउँपालिका–५ लापिलाङको रानी वन पहिरोमा निरन्तर बाढी आउन थालेपछि विद्यालयबाट फर्कने विद्यार्थीका लागि खोला तारिदिन डोजर राखिएको छ ।

पालिकाले विद्यालयबाट फर्किएका विद्यार्थीलाई डोजरको बकेटमा राखेर खोला तारिदिने गरेको छ । जिल्लामा एक सातादेखि दिनभर घाम लाग्ने र अपराह्न ठूलो वर्षा हुने गरेको छ । निरन्तरको वर्षाका कारण जिल्लाभर बाढीपहिरोले २ भन्दा बढी परिवार विस्थापित बनिसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख गंगाप्रसाद पौडेलले बताए ।

‘जिल्लाभर नै यस वर्ष धेरै क्षति भएको छ,’ उनले भने, ‘लगत संकलनसँगै उद्धारमा जोखिम हुने बस्तीमा नबस्न सूचना जारी गरेका छौं ।’


प्रकाशित : श्रावण २३, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्

सेयर किनेको रकम अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी थप सहज भएको छ । हाल यो सेवा ३५ वटा ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुने ईसेवाले जनाएको छ ।

कम्पनीका अनुसार आगामी कात्तिक महिनासम्म यसरी भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क लाग्ने छैन । लगानीकर्ताहरुले आफ्नो मोबाइल वा ईसेवाका जोन पोइन्टमार्फत समेत रकम भुक्तानी गर्न सक्ने छन् । यो कारोबार रियलटाइममा हुने ईसेवाको भनाइ छ । रकम भुक्तानीका लागि लगानीकर्ता ईसेवामा रहेको टीएमएसमा क्लिक गरी फण्ड म्यानेजमेन्टमा जानुपर्ने छ । त्यसपछि कोलाट्रोल (आफूले तिर्ने रकम) उल्लेख गरी पठाउन चाहेको बैंक छानेर सहजै रकम पठाउन सकिनेछ ।

ईसेवाका बिजनेस हेड आशिष गौतमले दायरा फराकिलो बनाउँदै आम लगानीकर्तालाई सहज हुने किसिमका सेवा थपिँदै लगेको बताए । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।


प्रकाशित : श्रावण २३, २०७९ १८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×