त्यो भव्य रामपुर क्याम्पस, अहिले आफ्नो भवन पनि छैन

रमेशकुमार पौडेल

चितवन — रामपुर क्याम्पस कृषि र पशु विज्ञान पढ्नेबीच ख्याती कमाएको क्याम्पस हो । यही क्याम्पसमा पढेका पुष्पकमल दाहाल प्रधानमन्त्री भए, मन्त्री हुनेहरु पनि धेरै छन् । यहाँ पढ्नेहरु सरकारी कर्मचारी संयन्त्रको उच्च पदमा पनि पुगे । अध्ययन अनुसन्धानमा लागे, कृषि वैज्ञानिकहरु पनि भए । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस, रामपुर क्याम्पस अहिले पनि अस्तित्वमा छ । तर अवस्था हेर्दा कठैबरा भन्ने खालको छ ।

त्यो भव्य रामपुर क्याम्पस, अहिले आफ्नो भवन पनि छैन

रामपुर क्याम्पस अहिले रामपुरमा छैन । रामपुर चितवनको पश्चिम क्षेत्रमा पर्दछ । रामपुरभन्दा उल्टो दिशा पूर्वी चितवनको खैरहनीमा छ यो क्याम्पस । तर नाम भने उही रामपुर क्याम्पस नै छ । रामपुर क्याम्पस रहेको ठाउँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भयो । त्यसपछि त्रिभुवन विश्वविद्यालयको पठनपाठन रोकियो । रामपुर क्याम्पसको अस्तित्व मेट्न हुन्न भन्नेहरुले यसलाई खैरहनीमा सारे ।

खैरहनी पुगेको रामपुर क्याम्पसले कृषिमा स्नातक तहका विद्यार्थी भर्ना गरेर पढाउन थालेको चार वर्ष नाघ्यो । ७५ सालको असार २५ गते ५० जना विद्यार्थीबाट पढाइ सुरु गरेको क्याम्पसमा हाल २५० जना विद्यार्थी अध्ययनरत छन् । तर आंगिक क्याम्पस भनिएको रामपुर क्याम्पसको अझै आफ्नै भवन छैन । खैरहनी माविले ११ र १२ कक्षा सुरु गर्न बनाएको भवनमा कृषि क्याम्पसका विद्यार्थी पढ्दै आएका छन् ।

‘खैरहनी माविले दुई तलाको चार कोठे भवन बनाएको थियो । हामीले त्यसैमा कक्षा सुरु गर्‍यौं । विद्यार्थी थपिँदै गएपछि एक तला थपेर दुईवटा कोठा बनायौं । अहिले ६ वटा कोठामा पाँचवटामा विद्यार्थी पढ्छन् । एउटा शिक्षकहरु बस्ने कोठा छ,’ क्याम्पस प्रमुख मिलन सुवेदीले भने । ‘पढाइ सुरु भएको चार वर्षमा क्याम्पसमा भएको परिवर्तन भनेको यही दुईवटा कोठा थपिनु हो,’ विद्यार्थी आशिष देवकोटाले भने । देवकोटा चौथो सेमेस्टरका विद्यार्थी हुन् । उनी नेपाल विद्यार्थी संघका इकाइ सचिव पनि हुन् ।

रामपुर क्याम्पसको खैरहनीमा रहेको प्रशासनिक भवन ।

आठौं सेमेस्टर अर्थात् क्याम्पस सञ्चालन भएकै वर्ष भर्ना भएको विद्यार्थी सौरभ यादवले थपे, ‘पहिले भवन आडमा शौचालय पनि थिएन । शौचालय पनि बन्यो । नभए यहाँबाट पर खैरहनी माविको शौचालयमा जानुपर्ने बाध्यता थियो ।’ क्यापसको गतिविधिप्रति असन्तुष्ट देवकोटा, यादवलगायतका विद्यार्थीले रिले अनशन सुरु गरेका छन् ।

क्याम्पस प्रमुखको कार्यकाल सकिएपनि पुन: सुवेदीलाई नै जिम्मेवारी दिएपछि नेविसंघले आन्दोलन गर्दै आएको छ । सुवेदीको कार्यकाल साउन १० मा सकिएको थियो । तर विश्वविद्यालयले अर्को व्यवस्था नहुँदासम्म सुवेदीलाई नै क्याम्पस प्रमुख तोकेर पठाएको छ । विश्वविद्यालयको निर्णयपछि नेविसंघले रामपुर क्याम्पसको प्रशासन भवनमा ताला लगायो । शिक्षण ब्लकमा रिले अनशन सुरु गरेको छ ।

तालाबन्दी भएको क्याम्पसको प्रशासनिक भवन खैरहनी नगरपालिकाको पुरानो कार्यालय भवन हो । एक तले भवन खैरहनी भित्रको मुख्य सडकबाट पनि अलि कुनोमा छ । भवन पनि पुरानो छ । रामपुर क्याम्पस खैरहनी भनेर टाँसेको बोर्ड पूरै खुइलिएको छ । स्थापनामा २०२९ साल नै लेखिएको बोर्ड ७५ सालको वैशाखमा सुवेदी नियुक्त भएपछि नै टाँगिएको हो । आडमा पुस्तकालय छ । जुन तत्कालीन कृषि सेवा कार्यालयको हो ।

क्याम्पसको प्रयोगशाला दुर्गा प्राविको ६ वटा कोठामा छ । क्याम्पसका चारवटा भवन चारतिर छिरोलिएका छन् । तीमध्ये कुनै पनि आफ्ना हैनन् । ‘सुरुमा पनि सुवेदी सरलाई नियम मिचेर नियुक्ति दिएको हो । उहाँभन्दा वरिष्ठलाई नदिएर भागबण्डामा क्याम्पस प्रमुख चयन गरियो । अब त अर्को वरिष्ठ व्यक्ति राख्नुपर्नेमा उहाँलाई नै राखियो । उहाँले पहिला पनि काम गर्न सक्नु भएन । अब पनि सक्नु हुन्न,’ देवकोटाले भने ।

रामपुर क्याम्पस खैरहनीको विद्यार्थी पढ्ने खैरहनी माविको एउटा भवन ।

एसोसिएट प्रोफेसर क्याम्पस प्रमुख हुनुपर्नेमा त्योभन्दा कनिष्ठ सुवेदीलाई पटकपटक क्याम्पस प्रमुख तोकेपछि आफूहरु आन्दोलित भएको विद्यार्थीले बताए । ‘हामीले यहाँ पनि तालाबन्दी गरेर रिले अनशन सुरु गरेका छौं । कृषि संकायको डिन कार्यालयमा पनि तालाबन्दी गरेका छौं । यहाँबाट सुनुवाइ नभए अब हामी कीर्तिपुरको डिन कार्यालयमा पुगेर अनशन गर्ने विचारमा छौं,’ नेविसंघ सचिव देवकाटाले भने ।

क्याम्पसको कामचलाउ प्रशासनिक भवनमा तालबन्दी भएपछि प्रमुख सुवेदी नजिकै रहेको पुस्तकालय भवनमा भेटिए । सुरुमा उनले आफ्नो नियुक्तिको बचाउ गरे । ‘विश्वविद्यालयको कार्यकारी परिषद्ले अर्को व्यवस्था नभएसम्म जिम्मेवारी सम्हाल्नु भन्ने निर्णय गरेर पत्र पठाएको छ । म एक कार्यकाल त क्याम्पस प्रमुख भइसकेको व्यक्ति हो । यसमा वरिष्ठ क्रमको कुरो आउँदैन,’ सुवेदीले भने ।

यहीबीचमा कानुन संकायको डिनको पनि नियुक्ति भएको हुँदा वरिष्ठताको विषय उनको र आफ्नो हकमा एउटै भएको सुवेदीले बताए । क्याम्पस प्रमुखको विषयमा विद्यार्थीले आन्दोलन गर्नु उचित नभएको उनले जिकिर गरे । आफ्नो कार्यकालमा कामै नभएको भन्ने विद्यार्थीको आरोप निराधार भएको उनले बताए ।

‘मैले गरेको काम मूल्यांकन गरेर, फाइल हेरेर नै यो व्यक्तिले क्याम्पसलाई तुरुन्त तोकिएको ठाउँमा लैजान सक्छ भनेर मलाई फेरि जिम्मेवारी दिइएको हो,’ सुवेदीले दाबी गरे । रामपुरमा कृषि क्याम्पसले चर्चेको जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) स्थापना भएपछि सोही विश्वविद्यालयले भोग गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयले एएफयुलाई जग्गा हस्तान्तरण त गरेको छैन तर पाउने सम्भावना पनि छैन ।

आन्दोलनरत विद्यार्थीले सुरु गरेको रिले अनशन । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

रामपुरको जग्गा नपाएपछि खैरहनी चैनपुरमा रहेको कंकाली सामुदायिक वनको जग्गा त्रिभुवन विश्वविद्यालयलाई उपलब्ध गराउने सहमति भएको हो । त्यसपछि कृषि विश्वविद्यालय स्थापना भएर ६ वर्ष विद्यार्थी भर्ना नगरेको रामपुर क्याम्पस खैरहनीमा आयो । खैरहनीमा आएको चार वर्ष नाघेपनि कंकाली जान अझै सकेको छैन । विद्यार्थीको आपत्ति यही विषयमा छ ।

क्याम्पस प्रमुख सुवेदी जग्गा पाउने प्रक्रिया सुरु भएको बताउँछन् । कंकालीको ३५४ बिघा जग्गामध्ये साढे ३२ बिघा जग्गा तत्कालै लिने योजना रहेको उनले बताए । यो ठाउँमा पहिला माओवादी लडाकुको अस्थायी शिविर थियो । त्यहाँ रहेका ७७ वटा टहरा मर्मत गरेर प्रयोग गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)स्वीकृति भएको छ । अब वन मन्त्रालयले हक हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको उनले बताए ।

‘ईआईए नगरी केही कम गर्न नमिल्ने भएको हुँदा यसमा अलि समय लाग्यो । निकै सक्रियताका साथ काम गर्दा पनि कोरोनाका कारण ईआईए पूरा गर्न तीन वर्ष लाग्यो । हामीले राम्रोसँग काम नगरेको भए अझै बढी समय लाग्थ्यो,’ क्याम्पस प्रमुख सुवेदीले भने । शिक्षा मन्त्रालयमा फाइल पुगेको हुँदा प्रक्रिया पुर्‍याएर वन मन्त्रालयमा जाने र जग्गा प्राप्तीको निर्णय हुने उनले जानकारी दिए । त्यसपछि क्याम्पस उतै सर्ने छ ।

प्रकाशित : श्रावण २३, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?