कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तामाङ घेदुङले गर्‍यो भवन खरिद अभियानको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल तामाङ घेदुङले संघीय कार्यालय भवन (ग्रेन गे दिम) खरिदको लागि आर्थिक संकलन अभियान घोषणा गरेको छ । घेदुङले काठमाडौंमा शुक्रबार एक कार्यक्रम आयोजना गरी भवन खरिदका लागि सहयोगीदाताहरुसँग आर्थिक संकलन गर्ने घोषणा गरेको हो । शुक्रबार नै कार्यक्रममा नेताहरु र विभिन्न तामाङ संस्थामा आबद्ध उपस्थित सहयोगदाताहरुबाट ६० लाखभन्दा बढी रकमको घोषणा भएको थियो ।  

तामाङ घेदुङले गर्‍यो भवन खरिद अभियानको घोषणा

घोषणा गरेकै दिन भवन तथा जग्गा खरिदका लागि घेदुङका सहअध्यक्षकुमार सिंह घिसिङ र वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनबीच बैनाबट्टा भई १८ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । घेदुङको साउन १९ गते बसेको दोस्रो सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ब्लोनलाई खरिद प्रक्रियाको काम पूरा गर्न संस्थागत रुपमा प्रतिनिधि तोकेको थियो ।

पोखरामा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनदेखि नै घेदुङले कार्यालय भवन बनाउने योजना अघि सारे पनि त्यो पूरा हुन सकेको थिएन । प्रत्येक पटकको महाधिवेशन र भेलाहरुमा घेदुङको भवन बनाउने कुरा मुख्य एजेन्डा बन्दै आएको थियो । सातौं राष्ट्रिय महाधिवेशनपछि यो मुद्दा अझ प्राथमिकताका साथ उठेर अहिले त्यसले एउटा मूर्तरुप लिन लागेको सहअध्यक्ष घिसिङले बताए ।

घेदुङको २०७८ चैत १ गते सम्पन्न नवौ संघीय महाधिवेशनको म्यान्डेटबमोजिम काठमाडौंको बौद्ध, चुच्चेपाटी (लाहुरेटोल)स्थित सात आना जग्गामा बनेको ४ तले भवन खरिद गर्ने निर्णय भएको थियो । हाल उक्त भवन र जग्गा घेदुङकै चार जना पदाधिकारीको नाममा आइसकेकोले सो भवनमा परेको रकम चुक्ता गर्नका लागि घेदुङले आर्थिक संकलन अभियान घोषणा गरेको हो । घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले यस वर्षलाई घेदुङको भवन खरिद गर्ने आन्दोलन वर्षको रुपमा लिनुपर्ने उद्घोष गरे । उनले भने, ‘सामाजिक संस्थामा आमसहमति जुटाउन कठिन हुने भएको हुँदा हामीले यसरी लामो समय भवन खरिद गर्न सकेनौं ।’

महाधिवेशनको म्यान्डेट, संघीय कार्यसमिति र सचिवालयको निर्णय भई सबै प्रक्रिया पूरा गरिसकेको भन्दै अध्यक्ष गोलेले आगामी चैत १ गतेभित्र अभियान पूरा गर्ने लक्ष्य रहेको सुनाए । अभियानलाई सबैले ऐक्यबद्धता, साथ र समर्थन गर्न उनले आग्रह गरे ।

घेदुङले यो अभियान पूरा गराउन सहअध्यक्ष कुमारसिंह घिसिङको संयोजकत्वमा संघीय परिचालन समिति, प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश परिचालन समिति र स्थानीय समिति अध्यक्षको नेतृत्वमा स्थानीय समिति समेत तीन तहको आर्थिक संकलन परिचालन समिति गठन गरेको छ । भवन तथा जग्गा खरिदका लागि कम्तीमा १ हजारदेखि माथि आर्थिक संकलन गर्ने र स्वदेश तथा प्रवासका सबै तामाङ समुदायलाई अभियानमा जोड्ने घेदुङले लक्ष्य लिएको जनाएको छ ।

कार्यक्रममा घेदुङको पूर्वअध्यक्ष तथा सल्लाहकार परशुराम तामाङ, सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पूर्वमन्त्री दावा तामाङ, पूर्वराज्यमन्त्री दिलमान पाख्रिनलगायतले अभियानमा प्रतिबद्धता जनाए ।

प्रकाशित : श्रावण २२, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?