भत्ता लिन सास्ती

कान्तिपुर संवाददाता

दोलखा — सामाजिक सुरक्षा भत्ता लिन भीमेश्वर–७ की ९० वर्षीया कृष्णमाया सुवेदी वडा कार्यालय धाउन थालेको निकै दिन भएको थियो । तर बैंक प्रतिनिधि भत्ता बाँड्न गाउँमा आएनन् । 

भत्ता लिन सास्ती

यो पटक जनप्रतिनिधिले नै बैंकसम्म लगिदिएर भत्ता दिलाएको उनले बताइन् । ‘सबै बूढाबूढी जम्मा गरेर बसमा वडाध्यक्षले नै लगेर भत्ता दिलाए । खाजा खुवाए, साँझ घरै पुर्‍याइदिए,’ उनले भनिन् । यसअघि वृद्धवृद्धा बैंकमा दिनभर लाइन बस्न बाध्य थिए । गाउँमा बैंकले घुम्ती सेवा नदिँदा भत्ता लिन उनीहरूले सास्ती खेप्दै आएका छन् ।

दैनिक वडामा ज्येष्ठ नागरिक भत्ता लिन धाउन थालेपछि वडाध्यक्ष विनोद तामाङले बैंकलाई सम्झौताअनुसार भत्ता बाँड्न आग्रह गरे । तर बैंकले गाउँमा आउन मानेनन् । सम्झौतामा गाउँमा पुगेर भत्ता वितरण गर्ने भए पनि बाँड्ने बेलामा बैंकले विभिन्न कारण देखाएर नआउने गरेको उनले बताए । ‘भत्ता बाँड्न घुम्ती सेवा सञ्चालन गर्ने भनेर सम्झौता गरेका छन्, तर बाँड्ने बेलामा असुरक्षा, कर्मचारी अभावलगायत कारण देखाएर आउनै मान्दैनन्,’ उनले भने ।

वडा कार्यालयमा ज्येष्ठ नागरिक सकस खेपेर भत्ता लिन आउन थालेपछि बैंकसँग सल्लाह गरेर भत्ता दिलाउन लगेको उनले बताए । सबै ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा सञ्चालन गरेर दुई दिन बैंकमा लगेर भत्ता वितरण गरिएको थियो । सामाजिक सुरक्षा भत्ता घुम्ती सेवामार्फत गाउँमा बाँड्ने सम्झौता गरेको बैंकले कार्यान्वयन नगर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको हो ।

प्रकाशित : श्रावण २२, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?