१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नियमित मर्मत नहुँदा पर्यटकीय सडक जीर्ण

कान्तिपुर संवाददाता

काभ्रे — नियमित मर्मत सम्भार नहुँदा पर्यटकीय स्थल नमोबुद्ध जाने काभ्रेभञ्ज्याङ–दाप्चा–काक्रे सडक जीर्ण भएको छ । ९ वर्षअघि कालोपत्र भएको सडकको काभ्रेभञ्ज्याङ–फूलबारी खण्डको ४ किलोमिटर सडक मर्मत सम्भार नहुँदा पुरानै अवस्थामा पुगेको छ ।

नालीमा माटो थुप्रिएकाले सडकमा पानी बग्दा खाल्डाखुल्डी बनेका छन् । सडककै कारण यहाँ आउने पर्यटक र सो सडक प्रयोग गर्ने धुलिखेल र नमोबुद्ध नगरवासीले सास्ती खेप्ने गरेका छन् ।

‘सबै कालोपत्र उप्किसकेको छ, खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ,’ नियमित ओहोरदोहोर गर्ने दाप्चाका बिलबहादुर श्रेष्ठले भने । १९८६ सालमा दुर्गाशमशेर राणाको पाला खनिएको उक्त सडक ८४ वर्षपछि २०७० सालमा सुरुमा २ किलोमिटर कालोपत्र गरिएको थियो । सडक विभागमार्फत ३ करोडको बजेटमा पहिलो वर्ष २ किलोमिटर र अर्को वर्ष २ किलोमिटर पिच भएको थियो । सोही सडकको फूलबारी–दाप्चा खण्ड भने आर्थिक वर्ष २०७७/७८ मा सडक विभागमार्फत २२ करोडको लागतमा कालोपत्र भएको छ ।

संघीयतापछि प्रदेश सरकारमातहत रहेको उक्त सडक नियमित मर्मत भएको छैन । संघबाट प्रदेशलाई हस्तान्तरण भए पनि मर्मतको लागि नियमित बजेट नहुँदा समस्या भएको पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिए । ‘यो वर्ष मर्मतका लागि ५ लाख बजेट भए पनि त्यो पर्याप्त छैन,’ रेग्मीले भने, ‘प्रदेशअन्तर्गतको सडक भनिए पनि नियमित बजेट कुनै पनि सडकलाई छैन, मातहतको सडक तोकेर नियमित बजेट व्यवस्थापन गर्ने हो भने मर्मतलगायतका काम गर्न सकिन्छ ।’

तत्कालीन जिल्ला विकास समितिले उठाउँदै आएको सडक उपयोग शुल्क संघीयतापछि पनि धुलिखेल नगरपालिकाले उठाए पनि मर्मतमा चासो दिएको छैन । आफ्नो नगर क्षेत्रमा पर्ने ४ किलोमिटर सडक प्रयोग गरेबापत धुलिखेलले हेभी ट्रक, टिपर, बस, डोजर, बसलाई ५० रुपैयाँ, मिनी ट्रक, लहरी, निसान, मिनिबसलाई ३० रुपैयाँ र निजी कार, जिप, डेलिभरी भ्यान, पावर टेलर, टेम्पोका लागि २० रुपैयाँ शुल्क लिँदै आएको छ । सुरुका वर्षदेखि नै सडक उपयोग कर उठाएको नगरपालिकाले यो वर्ष पनि न्यूनतम ३ लाख ७० हजार रुपैयाँ कायम गरेर बोलपत्र आह्वान गरिसके पनि नमोबुद्ध नगरपालिकाले उक्त सडकमा आफ्नो क्षेत्र बढी पर्ने भन्दै कर नउठाउन अनुरोध गरेको छ । सडक उपयोग कर उठाएको धुलिखेलले गत वर्ष दसैंको समयमा माटो हालेर खाल्डाखुल्डी पुर्नेबाहेक अरू काम गरेको छैन । नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले डीएफआईडीको सहयोगमा सडक मर्मतका लागि पहल भइरहेको बताए ।

नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले नियमित मर्मतसम्भारका लागि कर्मचारी, बजेट व्यवस्थापनका लागि प्रदेश सरकार, धुलिखेल नगरपालिकालगायत निकायसँग छलफल भइरहेको बताए । बीपी राजमार्ग नखुल्दा उक्त सडक पूर्वका जिल्ला आउजाउको मुख्य मार्ग थियो । ओखलढुंगा, सिन्धुली, रामेछापलगायतका जिल्लाका बासिन्दा दाप्चा हुँदै राजधानी जाने गरेका थिए । नमोबुद्ध, दाप्चा जाने उक्त सडकमा अहिले पनि उत्तिकै चाप छ । बिदा मनाउन आउने पर्यटक, बौद्धमार्गीका कारण सडकमा सवारी आवागमन नियमित छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?