अन्तर्राष्ट्रिय नाका पुग्ने सडकमा खाल्डा र पहिरो- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय नाका पुग्ने सडकमा खाल्डा र पहिरो

बलराम घिमिरे

रसुवा — ठाउँठाउँमा परेका खाल्डाखुल्डीले उत्तरी चिनियाँ नाका रसुवागढी पुग्ने सडकमा यात्रुलाई सास्ती खेप्नुपरेको छ । रसुवाको स्याउबारीदेखि धुन्चे, स्याफ्रु हुँदै रसुवागढीसम्म पुग्दा ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण हुने गरेको कन्टेनर चालक रामशरण आचार्यले बताए ।

स्याफ्रुबेसी–रसुवागढी खण्डमा पहिरोका कारण पनि वर्षात्को समयमा यात्रा झनै कठिन बनाएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डमा झरिरहने पहिरोले आङसिरिङ हुने उनले बताए । गत बुधबार स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ खोलाको पहिरोमा माथिबाट झरेको ढुंगाले स्कोरपियोमा क्षति पुगेको थियो । पासाङल्हामु मार्गको स्याउबारीदेखि धुन्चे हुँदै स्याफ्रुसम्मको सडक खण्ड समयमै मर्मत नहुँदा जीर्ण हुँदै गएको छ । पासाङल्हामु मार्गको बेत्रावतीदेखि स्याफ्रुसम्म २०६८ सालमा कालोपत्र भएको हो । तर अहिले कालोपत्र भत्किएर बनेको खाल्डाखुल्डी नपुरिँदा र पहिरो गएको ठाउँहरूमा मर्मत नहुँदा सडक जीर्ण बनेको हो ।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीसम्म पुग्ने सडक पनि यही नै हो । चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । यो सडकमा दैनिक सयौं सवारीसाधन आवतजावत हुने गरेको छ । पासाङल्हामु मार्ग सिंगल लेनको सडक हो । साँघुरो सडक ठाउँठाउँमा परेका खाल्डाखुल्डी र पहिरोको कारण तहसनहस छ । सडक मर्मत तथा सुधारमा सम्बन्धित निकायले चासो नदिँदा सडक जीर्ण बन्दै गएको स्थानीयले बताए । उक्त सडक सदरमुकाम जोड्ने सडक पनि हो । सडक जीर्ण हुँदै गएपछि यो खण्डको यात्रा निकै जोखिमपूर्ण बनेको छ । साँघुरो सडक ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि पासिङ जोन नहुँदा चालकले अनेकौं समस्या झेल्नुपरेको छ । सडकको बीचबाटोमै पुगेर ट्रक तथा कन्टेनरहरू बिग्रन्छ, साइड दिने ठाउँ हुँदैन । ‘घण्टौंसम्म जाम हुने गरेको छ । साँघुरो भीरको बाटोबाट गाडी चलाउनुपर्दा ज्यानकै बाजी थाप्नुपर्छ,’ चालक दुखेसो पोख्छन् ।

स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति गर्ने काम अझै सुरु हुन सकेको छैन । चीन सरकारको अनुदानमा स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड स्तरोन्नति हुन लागेको हो । ३४ महिनाअघि गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा औपचारिक रूपमा सडक स्तरोन्नतिको सुरुवात गरिएको थियो । चाइना तिब्बत टिनालु कम्पनी लिमिटेडले सडक स्तरोन्नति गर्ने जिम्मा पाएको छ । सडक स्तरोन्नति गर्ने जिम्मा पाएको निर्माण कम्पनिका कर्मचारी नआउँदा काम सुरु हुन नसकेको आयोजनाले बताएको छ । कोरोनाका कारण कम्पनीका कर्मचारी अहिलेसम्म नआउँदा स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड स्तरोन्नति गर्न ढिलाइ भएको गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका आयोजना प्रमुख निरज शाक्यले बताए । स्याफ्रुबेसी–रसुवागढी सडक खण्डको लम्बाइ करिब १५.८ किलोमिटर छ । यो सिंगल लेनको कच्ची सडक हो । स्तरोन्नतिपछि उक्त सडक कालोपत्रसहित डबल लेनको हुनेछ । चीन सरकारले सडक स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । अहिले सञ्चालनमा रहेको स्याफ्रुबेसी–रसुवागढी सडक पनि चीन सरकारले नै निर्माण गरिदिएको हो । स्तरोन्नति सुरु गरेको ३९ महिनामा सम्पन्न गर्ने चिनियाँ पक्षले बताएको छ । पासाङल्हामु मार्गको स्याउबारीदेखि धुन्चे सडक खण्डको केही ठाउँमा भने ढलान गर्ने काम भएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

प्रअको मनमौजीले विद्यालयमा बेथिति

सरूवा भएर आएकी शिक्षिकालाई हाजिर गर्न दिइएन 
लक्ष्मी गौतम

पाँचथर — महादेव आधारभूत विद्यालय फिदिम–१४ बाट पहिलो पटक सहमति लिएर वडा–१० को सिद्धदेवी आधारभूतका लागि शिक्षिका रिता तुम्बापोले २०७८ साउन १६ मा माग गरेको सरुवा सिफारिस फिदिम नगरपालिकाले रोकिदियो ।


सिफारिस रोक्न सिद्धदेवीका प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले तत्कालीन मेयर ओनाहाङ नेम्वाङलाइ प्रयोग गरेको स्थायी शिक्षिका तुम्बापोको आरोप छ ।

दोस्रो पटक सरुवा सहमति, नगरपालिकाको सिफारिस, जिल्ला शिक्षा समन्वय इकाइको सरुवा स्विकृति र त्यस अघि कार्यरत विद्यालयबाट जेठ २७ मा रमाना पत्र लिएर १ असारमा पुग्दा उनलाई थाम्सुहाङले हाजिर गर्न दिएनन् । प्रक्रिया पूरा गरेर आएकी शिक्षिकाले पटकपटक अनुरोध गर्दा अटेर गरेपछि असार ९ मा भेला भएका अभिभावकले विद्यालय प्रशासनमा ताला लगाए । चर्कंदै गएको विवाद समाधान गर्नुको साटो प्रअ थाम्सुहाङले असार ११ देखि एक महिना वर्षे बिदा दिएको सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरेर सम्पर्कविहीन भए ।

आफूले घोषणा गरेको बिदाको अवधि सकिएको एक सातापछि साउन १७ मा विद्यालय पुगेका उनले स्थानीय अविभावकसँग छलफल नगरी कार्यालयमा लगाइएको ताला फोडेर विद्यालयमा पढाइ नियमित भएको घोषणा गरे । विद्यालय खुलेको ४ दिन बित्दासम्म कुल संख्याको पचास प्रतिशत पनि विद्यार्थी हाजिर हुन सकेका छैनन् । विद्यालयमा दैनिकजसो भइरहने विवाद र विभिन्न कारणले पठनपाठन प्रभावित हुन थालेपछि अविभावकले छोराछोरीलाई वरिपरिका अन्य विद्यालयमा सारेपछि विद्यार्थी संख्या आधाभन्दा धेरै घटेको शिक्षक अभिभावक बताउँछन् ।

यसअघि ९० जनासम्म अध्ययनरत यो विद्यालयमा यो शैक्षिक सत्रमा बाल विकास केन्द्रसहित ६८ जना भर्ना भए पनि ३० जनाभन्दा कम मात्र नियमित विद्यालय आउने बताइएको छ । ‘स्कुलमा अभिभावक भेला बोलाइँदैन, व्यवस्थापन समितिको बैठक बसौं भन्दा हेडसरले तपाईंहरू हुलदंगा मच्चाउन खोज्नुहुन्छ भन्दै थर्काउँछन्, बैठक नबसेको ५ वर्ष भयो, दरबन्दीमा आएकी शिक्षिकालाई पढाउन दिइँदैन अनि किन राख्नु छोराछोरी ?’ स्थानीय कुमारी जवेगूले भनिन् ।

सरुवा लिएर गएकी शिक्षिकालाई हाजिर नगराएपछि थाम्सुहाङलाई नगरपालिकामा झिकाएर सोधनी गर्दा ‘दरबन्दी नै लैजानुस्, उनलाई हाजिर गराउँदिनँ’ भन्ने जवाफ दिएर फर्केको नगरपालिकाको शिक्षा शाखा प्रमुख निर्मला दाहालले बताइन् । अर्का अभिभावक मणि थाम्सुहाङका अनुसार शैक्षिक गुणस्तर सुधार्न हेडसर थोरै पनि चिन्तित छैनन् । ‘उहाँको बदमासी अचाक्ली भयो, स्रोतसाधनको दुरुपयोग भएको छ, वर्षौंदेखि सार्वजनिक सुनुवाइ भएको छैन,’ उनले भने, ‘यस अघि काठमाडौंवासी एक शिक्षिकालाई विद्यालयमा उपस्थिति नगराई हाजिरी मिलाएर तलब खुवाइयो, यस्तो हेडसरमाथि छानबिन हुनु जरुरी छ ।’

उक्त विद्यालयबाट १४ वर्षसम्म तलब भत्ता खाएकी चन्द्रा थाम्सुहाङ नामकी शिक्षिकालाई आफूहरूले कहिल्यै स्कुलमा नदेखेको अभिभावक बताउँछन । स्थानीयका अनुसार उक्त विद्यालयमा २०७७ माघ १४ मा निर्वाचन अधिकृत भएर प्रअ थाम्सुहाङले व्यवस्थापन समितिको चुनाव गराएका थिए । उम्मेदवार बनेका दुई जनाबीच प्रतिस्पर्धा हुँदा अध्यक्षमा टीकानाथ जवेगुसहित चार सदस्य निर्वाचित भए । आफू अनुकूलका व्यक्ति निर्वाचित नभएपछि प्रअ स्वयंले समिति गठनको प्रक्रिया नपुगेको भन्दै नगरपालिकामा निवेदन दिएर खारेज गराए । य पछि विद्यालयमा पुनः समिति गठनका लागि पटकपटक ताकेता गर्दा प्रअले चासो नलिएको स्थानीयले बताए ।

‘उनले कसैलाई टेर्दैनन्, कारबाही स्वरूप उनलाई सरुवा नगर्ने हो भने विद्यालय आफैं बन्द हुन्छ,’ फिदिम–१० का वडाध्यक्ष होमराज थाम्सुहाङले भने । प्रधानाध्यापक थाम्सुहाङले आफूमाथिको आरोप असत्य भएको दाबी गर्छन् । ‘तुम्बापोले लिएर आएको सरुवाको सिफारिसमा उल्लेख भएका शिक्षा ऐनका दफा नमिलेकाले हाजिर हुन नदिएको हुँ,’ उनले भने ।

विद्यालयको लेखापरीक्षण नगराएको, अभिभावक भेला नबोलाएको र व्यवस्थापन समिति गठनमा अनिच्छा देखाएको आरोपका विषयमा भने उनी बोल्न चाहेनन् । शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङ सरुवा लिएर गएकी शिक्षिकालाई प्रधानाध्यपकले हाजिर गराउँदिन भन्न नमिल्ने बताए । विवाद समाधानका लागि नगरपालिकाका जनप्रतिनिधि एवं शिक्षा शाखाले अग्रसरता लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×