कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एक्स्काभेटरको बकेटबाट सुत्केरीको उद्धार

अनिश तिवारी

सिन्धुपाल्चोक — अघिल्लो रातदेखि अविरल वर्षाका कारण शुक्रबार अबेरसम्म अरनिको राजमार्गको बाह्रबिसे बजारको साँधीखोल्सा उर्लिएर वरिपरिको सडकसहित केही घरका संरचना पनि ध्वस्त बनायो ।

एक्स्काभेटरको बकेटबाट सुत्केरीको उद्धार

यहाँको माथिल्लो भेगबाट खसेको पहिरोसहितको साँधीखोल्साको बाढीले खुर्सानीबारी र बाह्रबिसे बजारलाई सम्पर्क टुटाएपछि स्थानीय र सवारी यात्रु वारिपारि नै थुनिए ।

त्यसै बेला बाह्रबिसे नगरले एक्स्काभेटर प्रयोग गरेर धमाधम अस्थायी सडक बनाउन थाल्यो । पारितर्फ एम्बुलेन्समा शिशुसहित थिइन् २३ दिनकी सुत्केरी बाह्रबिसे–५ की २८ वर्षीया समीक्षा तामाङ ।

जन्डिसले सिकिस्त बिरामी भएको छोरालाई काभ्रेको धुलिखेल अस्पताल लैजान आतुर उनी आफैं श्वासप्रश्वासको समस्याले तनावमा थिइन् । खोलाबीच एक्स्काभेटर प्रयोग गरेर सडक बनाइँदै थियो । मेयर बालकृष्ण बस्नेतले एक्स्काभेटर चालकलाई बोलाए अनि सुत्केरीको परिवारलाई बकेटमा हालेर आफू पनि चढे । जिसस प्रमुख बालकृष्ण श्रेष्ठले झोलातुम्बा समाए अनि मेयरले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीमा सुत्केरीलाई राखेर अस्पताल कुदाउन चालकलाई निर्देशन दिए ।

सडकका कारण यस्ता सुत्केरी, गर्भवती, बालबालिका, वृद्धवृद्धा र अन्य गम्भीर प्रकृतिका बिरामीलाई समस्या हुने देखिएकाले नगरबाट दुई एक्स्काभेटर प्रयोगमा ल्याइएको छ । ‘हामी सबैतिर सडक खोल्न विशेष जोडमा छौं, जनताको गुनासो सुन्नेबित्तिकै एक्स्काभेटरसहित त्यहाँ पुगेर सडक सञ्चालनमा ल्याइरहेका छौं,’ मेयर बालकृष्ण बस्नेतले भने । जिल्लाको पूर्व भोटेकोसी, त्रिपुरासुन्दरी गाउँपालिकादेखि बाह्रबिसे नगरबाट काठमाडौं जोड्ने एक मात्र स्थल मार्ग अरनिको राजमार्गको साँधीखोल्सा, जुरे, बलेफीजस्ता खण्डमा पहिरो झर्न थालेको जिसस प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?