१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

तल्लो लिखु जलविद्युत् आयोजना अन्तिम चरणमा

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप र ओखलढुंगाबीचको लिखु नदीमा निर्माणाधीन तल्लो लिखु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९५ प्रतिशत काम पूरा भइसकेको छ ।

तल्लो लिखु जलविद्युत् आयोजना अन्तिम चरणमा

आयोजनाका वातावरणविद् रविन्द्र तिमल्सिनाका अनुसार तल्लो लिखु जलविद्युत् आयोजनाबाट २८ दशमलव १ मेघावाट विद्युत् उत्पादन हुनेछ । ‘हामी आउँदो दसैंसम्म आयोजनाको व्यावसायिक उत्पादनका लागि जुटेका छौं ,’ तिमल्सिनाले भने ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुको सिरीसेभन्दा केही उत्तरतर्फ लिखु खोलामा बाँध बाँधेर करिब ५ किलोमिटर सुरुङमार्गबाट बिजुलीकोटको रातामाटा बोक्सेमा निर्माण भएको उत्पादन गृहमा पानी खसालेर उक्त विद्युत् उत्पादन गर्न लागिएको हो । उत्पादन गृहमा २ वटा टर्बाइन जडान गरिएका छन् ।

तिमल्सिनाका अनुसार बोक्सेमा उत्पादन भएको विद्युत्‌लाई २३ किलोमिटर लामो सिंगल सर्किट १ सय ३२ केभी प्रसारण लाइनबाट रामेछापको देवीटारमा रहेको न्यू खिम्ती सब–स्टेसनमा पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । प्रसारण लाइनको काम समेत अन्तिम चरणमा पुगेको छ । झन्डै ८ सय मिटर तार टाँग्न बाँकी रहेको तिमल्सिनाले बताए ।

२०७४ बाट निर्माण कार्य थालिएको उक्त आयोजनाबाट कोरोनाका कारण उत्पादनमा केही समय ढिलाइ भएको छ । लक्ष्मी बैंक र अन्य बैंकको लगानी रहेको उक्त आयोजना निर्माणमा करिब ६ अर्ब ३७ करोड लगानी रहेको छ । आयोजनाको प्रवर्द्धक स्वेतगंगा हाईड्रोपावर हो ।

लिखु नदीमा केही महिनाअघि मात्र लिखु ४ जलविद्युत् आयोजनाले ५२ दशमलव ४ र लिखु ए जलविद्युत् आयोजनाले २९ मेघाबाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोडिसकेका छन् । लिखु एक र लिखु २ को कामसमेत तीव्र गतिमा भइरहेको छ । दुगड समूहको लगानीमा निर्माणाधीन उक्त दुई आयोजनाबाट १ सय ३२ मेघावाट विद्युत् उप्पादन हुने छ । लिखु नदीमा निर्माण भएका सबै विद्युत्‌को खरिद नेपाल विद्युत् प्राधिकरणले गर्ने गरी पीपीए भएको जनाइएको छ ।

प्रकाशित : श्रावण २१, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?