१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

धादिङ प्रहरीले बरामद गरेको सुन र डलर दुवै नक्कली

सरिता श्रेष्ठ

धादिङ — धादिङ प्रहरीले समातेको सुन र डलर दुवै नक्कली भएको पुष्टि भएको छ । एक किलो सुन, डलर र घरमा फेला परेका सबै सुन नक्कली भएको प्रहरीले पुष्टि गरेको छ । परीक्षणको क्रममा नेपाल सुनचाँदी कला व्यवसायी संघले सबै सुन नक्कली भएको प्रमाणित गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए । 

धादिङ प्रहरीले बरामद गरेको सुन र डलर दुवै नक्कली

प्रहरीले एक किलो सुन र केही अमेरिकी डलरसहित बेगबहादुर तामाङलाई मंगलबार पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले उनको घरमा खानतलासी गर्दा आधा किलो तौल लेखिएको ४ वटा पहेँलो पत्ता ‘सुन’, ३ थान पेस्तोल र २० राउन्ड गोली फेला पारेको थियो ।

‘उनीहरुको साथबाट बरामद भएको ५० रुपैयाँ र १ सय रुपैयाँको अमेरिकी डलर चल्तीका नोटभन्दा पातलो भएको र नोटमा सिरियल नम्बर पनि नभएको नक्कली नै भएको पुष्टि हुन्छ‚’ एसपी सिंह भन्छन्, ‘यस्ता नक्कली नोट कहाँबाट आयो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।’ उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा खनियाबास गाउँपालिका–४ का तामाङसँगै उनकै गाउँकी शोभा तामाङ पनि पक्राउ परेकी छन् ।

एसपी सिंह भन्छन्‚ ‘बेगेका दाइ द्वन्द्वकालमा माओवादीका लडाकु रहेछन् । त्यहि बेला दाइले ल्याएर घरमा राखेको हो भनेर बेगेले बयान दिएका छन् ।’ शोभालाई भने नक्कली नोट कारोबारमा मुद्दा चलाइएको छ ।

सुन भनिएको धातु भने केही वर्षअघि अन्य व्यक्तिहरूबीच धादिङबेसीमै कारोबार हुन लागेको ठाउँबाट सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान तामाङले दिएका छन् । पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

२०५८ सालमा ठगीको मुद्दा परेका तामाङ २०७४ सालमा पक्राउ परेका थिए । दुई वर्ष जेल र २ लाख ५० हजार जरिवाना तिरेर छुटेका उनी मंगलबार पुनः पक्राउ परेका हुन् ।

प्रकाशित : श्रावण २०, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?