घरदैलोमै भत्ता र स्वास्थ्य परीक्षण

काभ्रे — नमोबुद्ध नगरपालिकाले घरदैलोमै सामाजिक सुरक्षा वितरण थालेको छ । नगरले पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई भत्ता वितरण गर्न वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी स्थानीयस्तर र वडास्तरमै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।

वडा नं १ बाट भत्ता वितरण सुरु गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । ‘सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गरिने भए पनि नगरको भौगोलिक अवस्था, अशक्तहरुलाई घरदैलोमा नै सेवा दिने निर्णय गरेका थियौं, त्यसलाई प्राथमिकता दिएर कार्यान्वयन गरेका हौं,’ नगर प्रमुख लामाले भने, ‘अन्य वडामा पनि क्रमशः कार्यान्वयन गर्दै जान्छौं ।’
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले सबै वडामा वितरण गर्ने गरी तालिका सार्वजनिक गरिएको बताए । धेरै ग्रामीण भूभाग समेटेर बनेको नगरपालिकाको केन्द्र भकुण्डेबेंसीमा मात्रै बैंकका शाखा छन् । सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही घण्टौं हिँडेर र बोकिएर बैंकसम्म आउने गरेका छन् । घण्टौं लाम बस्नुपर्दा उनीहरुले सास्ती पाउने गरेका छन् ।
पनौती नगरपालिकाले पनि ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । नगर प्रमुख रामशरण भण्डारी पदबहाली गर्ने क्रममा उक्त निर्णय गरेका थिए । वडा नं १, ७ र १२ मा सुरु भएको घरदैलो स्वास्थ्य परीक्षण सेवा क्रमशः अरु वडामा पनि विस्तार हुने भण्डारीले जानकारी दिए । मधुमेह, उच्च रक्तचापलगायतका अन्य परीक्षण गरिएको छ ।
प्रकाशित : श्रावण १९, २०७९ १६:२०