२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हेटौंडामा तीनपांग्रे सवारी व्यवस्थापन सुरु

सुवास विडारी

मकवानपुर — हेटौंडा बजारमा देखिएको सवारीसाधनको चाप व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीनपांग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरेको छ ।

हेटौंडामा तीनपांग्रे सवारी व्यवस्थापन सुरु

उपमहानगरले बिहीबारबाट आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमतिप्राप्त तीनपांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गर्न सुरु गरेको हो ।

उपमहानगरका प्रवक्ता सवीन न्यौपानेका अनुसार गत असार ३२ गते उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासँगको पटकपटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले यस्तो अभियान सञ्चालन गरेको हो ।

अभियानको उद्घाटन हेटौंडाकी मेयर मीना लामाले तीनपांग्रे सवारीमा स्टिरक टाँसेर सुरुवात गरेकी हुन् ।

२०७६ पुसको ७ गतेको बैठकबाट हेटौंडा उपमहानगर क्षेत्रमा थप तीनपांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । उक्त मितिपछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति (परमिट) लिएर हेटौंडा बजार क्षेत्रमा अनधिकृत रुपमा सञ्चालन भइरहेका तीनपांग्रे सवारीसाधनलाई निषेध गर्ने गरी उपमहानगर अगाडि बढेको हो ।

प्रवक्ता न्यौपानेले स्टिकर प्रदान गरेसँगै अब हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालन अनुमति लिएका तीन पांग्रे सवारीसाधनबाहेक अन्यलाई निषेध गरिने बताए ।

प्रकाशित : श्रावण १९, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?