बाढीपहिरोले ग्रामीण सडक ठप्प- वाग्मती - कान्तिपुर समाचार

बाढीपहिरोले ग्रामीण सडक ठप्प

विकटका स्थानीयलाई बजार क्षेत्र आउन कठिनाइ  पहिरो खस्दा पैदल यात्रा पनि जोखिमपूर्ण
अनिश तिवारी, राजकुमार कार्की

सिन्धुपाल्चोक, सिन्धुली — बर्खा लागेसँगै सिन्धुपाल्चोकका ग्रामीण भेगका सडक ठप्प भएका छन् । दैनिक अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएका हुन् । नयाँ निर्माण भएका सडकसमेत पहिरोले धाँजा फाटेपछि नियमित सञ्चालनमा आउन सकेका छैनन् । 

चौताराबाट विभिन्न गाउँ जोड्ने ५५ वटा सडक बर्खालगत्तै बन्द भएका छन् । भोटेकोसी गाउँपालिकाको उच्च भेगका मार्मिङ, तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टीका गाउँमा पुग्ने सबै सडक पहिरोले पुरिएका छन् । पहिरोले सडकमा पैदल यात्रासमेत जोखिमपूर्ण बनेको छ । बाह्रबिसे–तातोपानी २६ किमिको मुख्य सडककै दसकिलो, सिरिसे, जम्बु, झिर्पु, डाकालाङ, कोदारीजस्ता स्थानमा पुराना पहिरो फेरि खस्न थालेका छन् । अरनिको राजमार्गकै महभीर जुरे, बलेफीमा अझै सुक्खा पहिरो रोकिएको छैन । ‘यातायात त टाढाको कुरा, पैदल यात्रासमेत जोखिमपूर्ण छैन । बर्खा लागेपछि यहाँका गाउँका सबै सडक पहिरोले बन्द हुने गरेका छन्, बर्सेनि मर्मत गरिए पनि प्रभावकारी भएको देखिँदैन,’ भोटेकोसी–२ तातोपानीकी सानुमाया शेर्पाले भनिन् ।

भोटेकोसीको बाढीले कटान गरेको कोदारी राजमार्गको लिपिङ बजारदेखि अरनिको राजमार्गको जुरेसम्म चिनियाँ निर्माण कम्पनी सीआरसीसीले सडक पुनर्निर्माण गरेको थियो । कालोपत्र गरिएको यो सडक पहिरोले छियाछिया भइसकेको छ । जिल्लाका तीन नगर बाह्रबिसे, मेलम्ची र चौतारा साँगाचोकगढी नगरसहित बलेफी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, जुगल, सुनकोसी, हेलम्बु, पाँचपोखरी थाङपालजस्ता भेगमा जमिन भास्सिएर सडक अवरुद्ध मात्रै भएका छैनन्, यहाँका दर्जनौं बस्ती उच्च जोखिममा परेका छन् ।

जुगल गाउँपालिकाको अन्तिम गाउँ दिपु, तेगा र तेम्बाथान जाने गोरेटो सुधार नभएकाले वर्षायाममा नाकाबन्दी नै हुने अवस्था आएको स्थानीय अगुवा साइँला शेर्पाले बताए । ‘दैनिक वर्षाले गर्दा पैदल हिँड्न मुस्किल भइसकेको छ, दुर्गमको पीडा सरकारले कहिले देख्ला ?,’ उनले प्रश्न गरे । जुगलकै सेलाङबाट गोल्च जाने गोरेटो बिग्रिएपछि बोल्दे, सिमपानीजस्ता धेरै बस्तीमा आउजाउ गर्नसमेत समस्या भएको छ । हेलम्बु र मेलम्ची नगर क्षेत्रको तटीय भेगमा मेलम्ची बाढीयता दिनहुँझैं उर्लिएको नदी कटानले गर्दा अवरोध हुने गरेको छ । ‘आज सडक पुनर्निर्माण गरेर सञ्चालनमा ल्यायो र भोलि उस्तै भइहाल्छ, नदी तटमा सडक भएकाले यस्तो हैरानी बेहोर्नु परिरहेको छ,’ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने ।

सिन्धुलीमा असारको पहिलो साता बाढीपहिरोले क्षतिग्रस्त भएको सडक जेनतेन गरेर मर्मत गरियो । तर, यातायात सञ्चालनमा आएको दुई साता नबित्दै फेरि अवरुद्ध भएको छ । बीपी यातायात समितिका सञ्चालक कान्छामान वलले वर्षा हुनासाथ अवरुद्ध हुने ग्रामीण सडकले यात्रु र यातायात सञ्चालकलाई हैरानी भएको बताए । सिन्धुलीमाडी–चकमके सडक बाढीपहिरोले लथालिंग भएको छ । लगातारको वर्षापछि खसेको पहिरो र बाढीले अब यातायात सञ्चालन हुन लामै समय कुर्नुपर्ने स्थानीयको भनाइ छ । सिन्धुलीमाडी–चकमके सडकअन्तर्गत कमलामाई नगरपालिका–११ थरहरीमा खोलाले ५० मिटर सडक र कल्भर्टसमेत बगाएको छ ।

सदरमुकाम सिन्धुलीमाडीसँग तीनपाटन गाउँपालिका केन्द्र जोड्ने एकमात्र चकमके सडक पहिरोले छियाछिया भएको हो । संघ, प्रदेश र स्थानीय तहको करोडौं रकम उक्त सडकमा खर्चिएको छ । ‘बर्सेनि सडक निर्माणमा बजेट खर्च हुन्छ तर दिगो भएन,’ स्थानीय काशीनाथ दाहालले भने । सदरमुकामबाट तीनपाटन गाउँपालिका केन्द्र ४० किलोमिटर दूरीमा छ । तीन दिनको वर्षाले ५० स्थानमा सडक बिगारेको दाहालले बताए ।

कमलामाई र दुधौली नगरपालिकाका ग्रामीण सडकहरूसमेत बाढीपहिरोले क्षत–विक्षत भएका छन् । घरघरमा सडक पुर्‍याउने नाममा जथाभावी मेसिन प्रयोग गरेर सडक खन्दा दिगोपन नभएको सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष शर्माको ठहर छ । ‘जनप्रतिनिधिलाई देखिने काम हुने भएकाले सडकमा बजेट खन्याउन सजिलो भएको छ तर दिगोपनतिर ध्यान नदिँदा वर्षात्मा ठूलो क्षति हुने गरेको छ,’ उनले भने ।

प्रकाशित : श्रावण १९, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

१६ वर्षे किशोर ९ महिनादेखि कारागारमा

बालसुधार गृह पठाउनुपर्नेमा उमेर ३६ वर्ष बनाएर पुर्पक्षका लागि चलान 
प्रकाश बराल

बागलुङ — ढोरपाटन नगरपालिका–९ सुपुर्दुका विशाल घर्ती एक वर्षअघि चोरी आरोपमा पक्राउ पर्दा १६ वर्षका मात्रै थिए । कानुनअनुसार उनी बालबालिकामा पर्छन् । मुद्दा चलेपछि उनलाई बालसुधार गृहमा पठाउनुपर्ने थियो । तर जिल्ला अदालतले उनको उमेर ३६ वर्ष बनाएर पुर्पक्षका लागि कारागार चलान गरेको छ । उनको मुद्दाले भने ९ महिना बित्दा पनि सुनुवाइको मौका पाएको छैन । 

अदालतले गत कात्तिक ११ मा विशाललाई पुर्पक्षमा पठाउँदै ढोरपाटन–९ को वडा कार्यालय र उनले अध्ययन गरेको सरस्वती आधारभूत विद्यालयलाई जन्मदर्ता उपलब्ध गराइदिन पत्र लेखेको थियो । पत्रको उत्तर नआएको भन्दै अदालतले उनको मुद्दामा सुनुवाइ गरेको छैन । ‘जन्मदर्ताको कागजात नभेटेकाले उनको मुद्दा पेसी चढ्न नसकेको हो,’ तहसिलदार अधिकृत जगतबहादुर भण्डारीले भने, ‘एकपटक फेरि विद्यालय र वडामा ताकेता गर्छौं ।’

विशालको घरमा केही वर्षअघि आगलागी भएको थियो । सरस्वती आधारभूत विद्यालय तीन वर्षअघिको भुजी खोलाको पहिरोले बगायो । उक्त विद्यालयमा पुराना कागजात छैनन् । विशालपछि जन्मेका उनका भाइ ११ वर्षका मात्र छन् । बाबु बेगबहादुरले भने प्रहरी चौकीमा छोरा ३६ वर्ष भएको कागजमा हस्ताक्षर गरेका थिए । ४६ वर्षीय उनी पढ्न–लेख्न जान्दैनन् । ‘छोरा चकचके र चोरी गर्दै हिँड्ने भएपछि केही समय जेल बसोस् भनेर सही गरिदिएको हुँ,’ उनले भने, ‘अरू कुरा थाहा भएन ।’ बेगबहादुरका अनुसार विशालले कक्षा ६ सम्म मात्रै पढेका छन् र उनी पक्राउ पर्दा १६ वर्षका मात्र थिए । अदालतले कारागारमा पठाएको पुर्जीमा विशालको उमेर ३६ वर्ष लेखिएको छ । सोही पत्रको अदालतको फाइलमा भने ३६ वर्ष काटेर १८ वर्ष लेखिएको छ । काटेको स्थानमा कसैको हस्ताक्षर छैन । ‘यो कागज मैले नै लेखेको हो, काटेको पनि मैले हो, त्यसैले हस्ताक्षर गरिनँ,’ तहसिलदार अधिकृत भण्डारीले भने । तत्कालीन वैतनिक कानुन व्यवसायी हरिप्रसाद गौतमले अदालतमा बहस गर्दै विशाल बालक भएकाले सुधार गृह पठाउनुपर्ने बताएका थिए । ‘तर कागजमा भएको उमेरका कारण उनी जेल पुगे,’ उनले भने ।

पक्राउपछि स्वास्थ्य परीक्षण गरिएको रिपोर्टमा धौलागिरि अस्पतालले विशालको उमेर १३ देखि १९ वर्ष लेखेको छ । कारागारका प्रमुख डिलबहादुर केसीले विशाल बानी व्यवहारले बालक नै भएको बताए । ‘हामीलाई ३६ वर्षको भन्ने लेखिएको पत्र पठाइएको छ तर उनको बानी बालककै जस्तो छ,’ उनले भने, ‘हामीले बहस गर्न मिलेन, कागजमा जे लेख्यो, त्यही भन्ने हो ।’

ढोरपाटन–९ का तुलबहादुर विकले आफ्नो पसलबाट ४ लाख रुपैयाँ चोरेको आरोप लगाउँदै उजुरी दिएपछि विशाल पक्राउ परेका थिए । विशालले भने आफूले पैसा नचोरेको दाबी गर्दै आएका छन् । उनले आफ्नो बचाउमा बाबुआमाले नबोलेको गुनासो पनि गरे । ‘बाबुआमा अहिलेसम्म भेट्न पनि आउनुभएको छैन, चौकीमा पनि मेरोबारेमा केही बोलिदिनु भएन,’ विशालले भने, ‘तर मैले पैसा चोरेको होइन । बेला–बेला खाने कुरा चोर्दा यति ठूलो मुद्दा पर्‍यो ।’ विशालकी आमा उजेलीले भने जेलबाट छुटाउन धेरै पैसा तिर्नुपर्छ भन्ने सुनेपछि छोरा भेट्न नगएको बताइन् ।

वडासचिव थमप्रसाद घर्तीले अदालतको पत्र आएको बारे आफूलाई थाहा नभएको बताए । ‘अब खोजी गरेर पठाउनुपर्ला,’ उनले भने, ‘रेकर्ड हेरेर यकिन उमेर पठाउँछु । उनी बढीमा १८ वर्षका हुन सक्छन् ।’ अधिकारकर्मी राम शर्माले यस्ता विषयमा सरकारी वकिल र वैतनिक वकिल सचेत र संयम बन्नुपर्ने बताए । ‘सानो उमेरमा जेल सजाय दिँदा बालमनोविज्ञान असर पर्छ,’ उनले भने, ‘सुधार गृहमा पठाउनुपर्थ्यो ।’

प्रकाशित : श्रावण १९, २०७९ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×