२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

इन्द्रचोकमा नौ दशकपछि डबली

इन्द्रचोक (वंघः चुकः) मा रहेको ऐतिहासिक डबली राणा प्रधानमन्त्री जुद्धशमशेरले नयाँ सडक बनाउने क्रममा मासिएको थियो
दामोदर न्यौपाने

काठमाडौँ — इन्द्रचोक (वंघः चुकः) मा रहेको ऐतिहासिक डबली (वंघः दवू) मासिएको झन्डै नौ दशकपछि पुनः सोही ठाउँमा निर्माण भएको छ । इन्द्रजात्रामा निकालिने देवी नाच र १२ वर्षमा श्वेतकाली नाच नचाइने यो डबली प्रदेश सरकारको बजेटबाट बनाइएको हो ।

इन्द्रचोकमा नौ दशकपछि डबली

इन्द्रचोकको आकाश भैरवअगाडिको यो डबली राणा प्रधानमन्त्री जुद्धशमशेरले नयाँ सडक बनाउने बेला मासिएको स्थानीय बासिन्दा बताउँछन् । १९९० को भुइँचालोअघि खिचिएको एक तस्बिरमा यो डबलीमा नाच देखाइएको दृश्य छ । ‘त्यही फोटोलाई समेत आधार मानेर डबली बनाउन सजिलो भयो,’ सम्पदा संरक्षण अभियानकर्मी गणपतिलाल श्रेष्ठले भने, ‘ऐतिहासिक डबली पुरानै अवस्थामा फिर्ता ल्यायौं ।’

फोटोमा डबली अलि माथि उठेको देखिन्छ । ‘पुरानो फोटोमा दुई इन्च अग्लो ढुंगाको डबली देखिएको छ,’ डबली डिजाइन गरेका इन्जिनियर अमित बज्राचार्यले भने, ‘सामान्यतया डबली अलि अग्लो नै हुन्छ तर यो दैनिक सवारीसाधन गुड्ने सडकमै भएकाले सडक सतहभन्दा माथि उठाइएको छैन । डबलीको स्वरूप भने दिइएको छ । डबलीमा चाहिने सामान प्रयोग गरिएको छ ।’ लम्बाइ २२ र चौडाइ १८ फिट छ ।

डबली फिर्ता ल्याउने अभियानको नेतृत्व इन्द्रचोक पुनर्निर्माण समितिले लिएको थियो । व्यस्त सडकमा डबली बनाउन सजिलो थिएन । झन्डै एक महिनासम्म वरपरका पसलसमेत बन्द गर्नुपरेको थियो । ‘सबैको सहयोगले डबली फिर्ता ल्याउन सकियो, यो एउटा उदाहरण पनि भयो,’ समिति संयोजक केयुरमान सिंहले भने ।

डबली बनाएको ठाउँ मखन, यट्खाटोल, वसन्तपुर दरबार क्षेत्र, असन, भेडासिंह र जनबहालतर्फ जाने ६ वटा सडकको केन्द्रमा पर्छ । इन्द्रचोकमा किराती राजा यलम्बरको टाउको मानेर पुज्ने परम्परा रहेको आकाश भैरवको मूर्तिसमेत छ । पद्म श्रेष्ठको पुस्तक नेपाल मण्डलका सम्पदामा उल्लेख भएअनुसार किरातीहरूले तीनतले घरशैलीको मन्दिर निर्माण गरेका थिए । तीनतले मन्दिर निर्माण गरेर यलम्बरको टाउकोसमेत प्रतिस्थापित गरेको श्रेष्ठले उल्लेख गरेका छन् । यो ऐतिहासिक चोकलाई समेत पुरानै स्वरूपमा फर्काइएको छ । यही चोक हुँदै सेतो मत्स्येन्द्रनाथको रथ तान्ने बाटो पनि प्राचीन शैलीमै पुनर्निर्माण गरिएको छ ।

चोकको डबलीमा १२ वर्षमा हुने श्वेतकाली नृत्यका क्रममा देवगण नाच्ने गर्थे । डबली नहुँदा सडकको बीचमै नाच्दै आएका थिए । श्वेतकाली नृत्यलाई स्थानीय भाषामा न्यतमरु अजिमा नृत्य भनिन्छ, जसका बारेमा कल्पना श्रेष्ठले आफ्नो कृति ‘काठमाडौं उपत्यकाको सांस्कृतिक परम्परा’ मा उल्लेख गरेकी छन् । ‘अजिमा भनेकै वरिष्ठ देवी हो,’ नरदेवी गुठीका गुठीयार मच्चाराजा डंगोलले भने, ‘डबलीमै नाच्नुपर्ने चलन छ १२ वर्षे नाचको । तर डबली मासिएपछि सडकमा नाच्नुपरेको थियो ।’

श्वेतकाली यात्रा प्रत्येक वर्ष मनाइने र १२ वर्षमा मनाइने गरी दुई किसिमका छन् । वर्ष दिनमा मनाइने श्वेतकाली पिचास चतुर्दशीको दिन नरदेवीबाट प्रारम्भ हुन्छ । त्यहाँको श्वेतकाली मन्दिरको दक्षिणपूर्व कुनामा रहेको डबलीमा नृत्य प्रदर्शन गरिन्छ । प्रत्येक वर्ष नाचिने र १२ वर्षमा नाचिने नाचमा केही भिन्नता रहेको श्रेष्ठले बताइन् । वार्षिक नाचमा मनमैंजु (इन्द्रायणी), श्वेतकाली, कुमारी, नारायणी, रुद्रायणी, ब्रह्मायणी, महालक्ष्मी, गणेश, भैरव, बाराही, सिंहिनी र ब्याघिनीसमेत गरी १२ जना देवगण सहभागी हुन्छन् । १२ वर्षे नृत्यमा भने प्रत्येक वर्ष नचाइने देवताबाहेक महादेव, चण्डाशुर, दैत्य, कुमार, सुलमाजु, स्याल, कुकुरसमेत गरी १८ जनाको देवगण हुने श्रेष्ठले बताइन् । १२ वर्षे नृत्य नरदेवीबाट सुरु भएर ललितपुर, कीर्तिपुर, भक्तपुर र बनेपा समेत लगेर नचाइन्छ । देवमाला वंशावलीअनुसार श्वेतकाली नृत्य सूर्यवंशी राजा गुणकामदेवले चलाएका हुन् । वंशावलीअनुसार १९९० को भुइँचालोले श्वेतकालीको देवल केही भएन तर घर भत्किए । भत्किएका घर १९९५ मा पुनर्निर्माण गरिएको थियो ।

प्रकाशित : श्रावण १६, २०७९ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?