रामेछापको डहु माविका २ जनाले ल्याए ४ जीपीए


रामेछाप — हेर्दा जति राम्रो भवन र परिसरको सजावट छ, त्यसभन्दा पनि राम्रो पढाई भएको छनक यसपटक रामेछापको डहु माविका २ जना छात्रले ल्याएको परिणामले देखाएको छ । जिल्ला सदरमुकामभन्दा टाढा काभ्रे जिल्लासीमाको दुर्गम बस्ती सुनापती गाउँपालिका ४ बेथानको डहु माविमा अध्ययन गर्ने प्रतीक बल र राजन लामाले एसइई परीक्षा २०७८ मा ४ जीपीए ल्याएका छन् ।


सदरमुकामको सुविधासम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई पछि पारेर नजिता हात पारेका दुर्गमको सामुदायिक विद्यालयका ती दुई छात्र यतिबेला जिल्लाभर चर्चा भइरहेको छ । उनीहरुसँगै रहेका अर्का छात्र उद्गम बलको पनि उत्तिकै चर्चा छ । उनले ३.९६ जीपीए ल्याएका छन् ।
बेथानको डहु माविमा अध्यापन गराउने शिक्षक, व्यवस्थापन समिति र विद्यार्थी सबै साँच्चिकै मन दिएर कर्ममा जुट्छन् । त्यसैको परिणाम हो, चिटिक्क कक्षा कोठा, प्रविधिमैत्री अध्ययन, सुविधासम्पन्न छात्रबास, सुन्दर बगैंचा सहितको विद्यालय परिसर, मृदुभाषी र मेधावी शिक्षक, लगनशील विद्यार्थी बेथानका चिनारी हुन् ।
यस वर्षमात्र हैन, बेथानको डहु माविले अघिल्ला वर्षहरुमा पनि जिल्लाका अरु सामुदायिक विद्यालयभन्दा राम्रो नतिजा हात पार्दै आएको थियो । यस बर्ष भने देशका सुविधासम्पन्न निजी विद्यालयहरुकै दाँजोमा आफ्नो नतिजा ल्याउन सफल भएको छ । देशभर ४२ जनाले ४ जीपीए ल्याउँदा उक्त विद्यालयका २ जना परेका छन् ।
'यो सबैको मेहनतको फल हो,' विद्यालयका प्रधानाध्यापक दलबहादुर बल भन्छन्, 'हामी मिहिनेतलाई विश्वास गर्छौं । हाम्रो टिमले मेहनत गर्यो त्यसैको नतिजा हो ।'
डहुमा अध्ययन गर्ने बालबालिकाहरुलाई अभिभावकले कुनै पनि समय घरको काममा लगाउँदैनन् । शिक्षकहरु विद्यालय बाहिर आएर भट्टीमा समय खेर फाल्दैनन् । बिहानदेखि रातिसम्म विद्यालयमै हुने शिक्षकहरुले तिखारेका विद्यार्थीहरु एकसे एक छन् । जीपीएमा केही तल परेका उक्त विद्यालयका छात्रछात्राहरु पनि जिल्लाका अरु सामुदायिक विद्यालयका बालबालिकाहरुको दाँजोमा अघि छन् । २७ जनाले दिएको परीक्षामा १२ जनाले ए प्लस र १२ जनाले ए ग्रेड ल्याएको प्रधानाध्यापक बलले बताए ।
प्रकाशित : श्रावण १५, २०७९ १८:३१