कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

काभ्रेमा डेंगुका ११ बिरामी 

नगेन्द्र अधिकारी

काभ्रे — एक महिनाको अवधिमा काभ्रेमा डेंगुका ११ जना बिरामी पत्ता लागेका छन् । असार १० यता परीक्षण गरिएका उच्च ज्वरो आएका १ सय ३ जनामध्ये ११ जनामा डेंगु ज्वरो देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईंले जानकारी दिए । विगतमा पनि डेंगु संक्रमण हुने भए पनि कोरोना महामारीका कारण ओझेलमा पर्दै आएको थियो । 

काभ्रेमा डेंगुका ११ बिरामी 

सेढाईंका अनुसार, शुक्रबारसम्म धुलिखेलका ४, पनौतीका २ र बनेपा तथा पाँचखालका १/१ मा डेंगुको संक्रमण देखिएको छ । दोलखा, सिन्धुपाल्चोक र काठमाडौंका १/१ जनालाई पनि काभ्रेमा उपचारको क्रममा डेंगु संक्रमण पुष्टि भएको हो । ६ जनालाई धुलिखेल अस्पतालमा, ४ जनालाई प्राथमिक उपचार केन्द्र धुलिखेलमा र १ जनालाई पाँचखालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । ११ मध्ये ७ जना महिला र ४ जना पुरुष छन् ।

संक्रमितमध्ये १ जनाको काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य छ । स्वास्थ्य कार्यालय काभ्रेले उपचारको लागि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल पठाउने गरेको छ । डा. सेढाईंले अरुमा संक्रमण हुन सक्ने भन्दै १३ वटै पालिकालाई परीक्षणका लागि किट उपलब्ध गराएको बताए । जम्ने सफा पानी, टायर तथा प्लाष्टिकजन्य पदार्थमा बस्ने एडिस जातको संक्रमित लामखुट्टेको टोकाइबाट हुने डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट गर’ अभियान चलाइएको उनले बताए ।

बीपी र अरनिको राजमार्ग काभ्रे हुँदै जाने, उपत्यकासँग जोडिएको र लामखुट्टेका लागि उपयुक्त तापक्रमसमेत भएकोले काभ्रे डेंगु संक्रमणको उच्च जोखिममा छ ।

प्रकाशित : श्रावण १३, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?