जलाधार क्षेत्रमा पानी नपर्दा भरिएन कुलेखानी

सुवास विडारी

मकवानपुर — नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ को रुपमा रहेको मानव निर्मित नेपालकै सबैभन्दा ठूलो ताल तथा जलाशययुक्त जलविद्युत् आयोजना कुलेखानीमा पानीको सतह अघिल्लो वर्षको तुलनामा यस वर्ष कम देखिएको छ ।

जलाधार क्षेत्रमा पानी नपर्दा भरिएन कुलेखानी

अघिल्लो वर्षको यसै समयमा जलाशयमा समुद्र सतहबाट १ हजार ५ सय १९ मिटर उचाइसम्म पानी भरिएकोमा यस वर्ष १ हजार ५ सय दशमलब ७० मिटरमात्र पानी रहेको कार्यालय प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिए ।

अघिल्लो वर्ष असार महिनामै जलाधार क्षेत्रमा भारी वर्षा भएकाले जलाशयमा पानीको सतहमा उल्लेख्य वृद्धि भएको थियो । यसपालि जलाधार क्षेत्रमा अघिल्लो वर्षको जति पानी नपरेका कारण जलाशयमा पानीको सतह गत वर्षभन्दा कम भएको चौधरीको भनाइ छ । ‘साउनको आधा हुँदा पनि भारी वर्षात् भएको छैन । जलाधार क्षेत्रमा पानी नपर्दा कुलेखानी भरिएन‚’ उनले भने ।

१ हजार ५ सय ३० मिटर उचाइसम्म पानी भण्डारण क्षमता भएको जलाशयमा अघिल्लो वर्ष असोज महिनामा पानी बढी भएर खेर गएको थियो । जलाशयमा यस वर्ष गत वर्षको भन्दा पानीको सतह करिब १८ मिटर कम रहेको छ । वर्षा अवधि बाँकी नै रहेकाले असोजसम्म जलाशयमा पानी भरिने सम्भावना रहेको चौधरीले बताए ।

देशकै एक मात्र जलाशययुक्त जलविद्युत् आयोजना भएकाले कुलेखानीलाई अन्य आयोजनाको ब्याकअपको रुपमा प्रयोग गर्ने गरिएको छ । जलाशयमा जम्मा भएको पानीलाई प्रयोग गरेर तीनवटा आयोजनाबाट कूल १ सय ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

देशका अन्य जलविद्युत् स्टेसनहरूलाई समर्थन गर्नका लागि मात्र कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिने चौधरीले बताए । ‘अन्य हाइड्रोपावरहरूमा पानीको बहाव घटेमा मेसिन बन्द हुने र सञ्चालनमा आउन समस्या हुने भएकाले आवश्यक परेको खण्डमा यो आयोजना सञ्चालन गर्ने गरिएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण १२, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?