१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सम्पत्ति सकियो, रोग सकिएन

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापकी २१ वर्षीया ज्योति बुढाथोकी अहिले धुलिखेल अस्पतालमा उपचाररत छिन् । बुढाथोकी रोगले थलिएकी छिन्, उनको परिवार पिडा र ऋणले थला परेको छ । 

सम्पत्ति सकियो, रोग सकिएन

अस्पतालका अनुसार बुढाथोकीलाई चिकित्सा क्षेत्रमा अति नै दुर्लभ मानिने सिस्टेमिक स्क्लेरोसिस भन्ने घातक रोग लागेको छ । त्यो यही रोग हो, जसका कारण १७ वर्षअघि उनको बी एन्ड बी अस्पतालमा खुट्टाको औंला काटिएको थियो । औंला काटेर समस्या सकिएन, रोग फैलियो र अहिले घुँडामुनिको भाग काट्नु परेको छ । एउटा खुट्टा काटेर पनि बुढाथोकी संघर्षपूर्ण जीवन जिउन चाहन्छिन्, तर जीवनभर औषधि गर्नुपर्ने अवस्था भएकाले कसरी भन्ने प्रश्न खडा भएको छ ।

बुढाथोकीलाई लगातार १७ वर्षसम्म उपचार गराउनका लागि उनका बाबु ध्रुव बुढाथोकीले सर्वश्व सकिसके । गाउँको घरबारी बैंकमा लिलाम हुने अवस्थामा पुगिसक्यो । सानो तिनो व्यापार गरेर धानिएका उनका लागि ज्योतिको जीवनरक्षा गर्ने कुरा महत्वपूर्ण थियो, त्यसैले व्यापारबाट पनि उनि अलग्गिए । अब कुनै उपाय बाँकी छैन । तर छोरी झनझन थलिँदै गएकी छिन् ।

ज्योति बुढाथोकी उपचाररत धुलिखेल अस्पतालको हाडजोर्नी विभागका अनुसार उक्त रोगले शरिरका हरेक अंगमा आक्रमण गर्ने भएकाले नियमित उपचार गर्नुपर्छ । नभन्दै ज्योतिको पछिल्लो अवधिमा मेरुदण्ड र मुटुमा समेत संक्रमण देखिएको छ ।

ज्योतिको उपचारका लागि बुबा ध्रुवले काठमाडौंका महँगा अस्पतालमात्र हैन, भारतको बैंलोरसम्म पुर्‍याए । परिवारका अन्य सदस्यलाई दिने माया ममता र समय तिनै छोरीका लागि दिए, तर उपचार विधि महँगो र कहिल्यै विश्राम लिन नपाइने उपचार प्रक्रियाले उनी पनि गलेका छन् । छोरीको उपचारका लागि झण्डै ५० लाख सकेका बुढाथोकी अब अरुको सहयोगबिना छोरीको उपचार असम्भव रहेको बताउँछन् । ‘मेरो केही उपाय छैन,’ बुढाथोकीले भने, ‘अस्पतालमा ५ लाख तिर्न बाँकी छ, म सँग ५ रुपैयाँ छैन ।’


प्रकाशित : श्रावण १, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?