१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वाग्मतीमा सरकार परिवर्तनको सम्भावना टर्दै

प्रदेश र संघीय निर्वाचनको मिति तोक्ने तयारी भइरहेका बेला सरकार परिवर्तनको औचित्य छैन । – एकीकृत समाजवादी
६/६ महिना सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयन गरेर अगाडि बढ्दा गठबन्धन अझै बलियो हुन्छ । – माओवादी केन्द्र 
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको सम्भावना क्षीण बन्दै गएको छ । मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ दल माओवादी केन्द्र र कांग्रेसले कसरत गरे पनि गठबन्धनका केन्द्रीय शीर्ष नेताले चासो नदेखाएपछि सरकार परिवर्तनको खेल अलपत्र परेको हो ।

वाग्मतीमा सरकार परिवर्तनको सम्भावना टर्दै

माओवादी केन्द्र र कांग्रेसले मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन गरेर पदबाट राजीनामा गर्न दबाब नै दिएका थिए । दुवै दलले पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने भन्दै सरकार फेर्न कोसिस गरे पनि नजिकिँदै गरेको प्रदेश र संघीय चुनावको संघारमा तत्काल परिवर्तन गर्दा समस्या हुने भन्दै शीर्ष नेतृत्व पछाडि हटेको सत्तारूढ सांसदहरूले बताएका छन् ।

हाल प्रदेशमा सत्तारूढ गठबन्धनको नेतृत्व गर्दै नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री छन् । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सदनबाट पारित भएसँगै पूर्वसहमतिअनुसार कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा थिए । पाण्डे गत कात्तिक ११ मा ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सहित ५९ सांसदको समर्थन छ । प्रदेशसभामा हाल १ सय ७ सांसद छन् ।

कांग्रेसले सहमतिअनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरे पनि मुख्यमन्त्री पाण्डे भने केन्द्रीय नेतृत्वको निर्देशनपश्चात् मात्र पछाडि हट्ने भन्दै पन्छिएपछि हस्ताक्षर संकलन गरिएको थियो । पाण्डेलाई पार्टीभित्रैबाट सहमति कार्यान्वयन गर्न दबाब आएपछि उनले पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा संसदीय दलको बैठक नै राख्नुपर्ने अवस्था सिर्जना भएको थियो । पार्टी अध्यक्षले मुख्यमन्त्री परिवर्तनको निर्णय केन्द्रले गर्ने बताएपछि पाण्डेको पद जोगिने आकलन गरिएको थियो ।

सरकारको नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्ने विषय केन्द्रमै निर्भर रहेको कारण प्रदेशमा हस्ताक्षर संकलनको औचित्य नभएको एकीकृत समाजवादीका संसदीय दलका उपनेता कृष्णप्रसाद खनालले बताए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका खनालले मुलुकका ६ वटै प्रदेश सरकारमा नेतृत्वको भागबन्डाबारे गठबन्धन दलबीच केन्द्रमै सहमति भएका कारण कुनै एक प्रदेशमा मात्र मुख्यमन्त्री परिवर्तन सम्भव नभएको जिकिर गरे ।

‘एउटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन गर्दा त्यसको असर देशैभर पर्ने देखियो,’ उनले भने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने तयारी भइरहेका बेला सरकार परिवर्तनको औचित्य नरहेको पनि उनको भनाइ छ । वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादीबीच नेतृत्व परिवर्तन गर्ने सहमति भए पनि अहिले परिस्थिति परिवर्तन भएकाले त्यसको कुनै अर्थ नभएको उनले बताए ।

केन्द्रमा गठबन्धन दलका शीर्ष नेताबीचमै सरकार परिवर्तनको विषयमा छलफल भए पनि सहमति हुने सम्भावना नदेखिएपछि शीर्ष नेताहरूले यस विषयलाई थाती राखेको सांसदहरू बताउँछन् । ‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकका कारण नेतृत्वसँग यस विषयमा कुराकानी गर्न सकिएको छैन । केन्द्रको निर्णय हामी कुर्दै छौं,’ माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने । उनले यसअघि भएको सहमति कार्यान्वयन गरेर अगाडि बढ्दा गठबन्धन अझै बलियो हुने बताए । ‘आधा–आधा कार्यकाल सरकार चलाउने भनेर कागज गरेपछि सहमति गर्नु उचित हुन्छ । त्यसबाट पछाडि हट्दा गठबन्धनमा समस्या हुन सक्छ,’ उनले भने ।

प्रकाशित : असार २२, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?