रामेछापको बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो [अपडेट]- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो [अपडेट]

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सुनापति ५ खनियापानीको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । ९ जनाको घटनास्थलमै र ४ जनाको काभ्रेको धुलिखेल अस्पताल पुर्‍याएपछि मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार दुर्घटनास्थलमा मृत्यु हुनेमा

रामेछाप

  • सुनापति गाउँपालिका ४ बेथानका २६ वर्षीया समरिता तामाङ
  • सुनापति गाउँपालिका ५ का ६० वर्षीय ठुला तामाङ
  • सुनापति गाउँपालिका ५ खनियापानीका खड्गबहादुर विक
  • सुनापति गाउँपालिका ५ की २२ वर्षीया विपना तामाङ
  • सुनापति गाउँपालिका ५ खनियापानीकी ३६ वर्षीया सञ्जु आलेमगर
  • सुनापति गाउँपालिका ५ खनियापानीका ४५ वर्षीय रामबहादुर श्रेष्ठ
  • सुनापति गाउँपालिका ५ खनियापानीका २४ वर्षीय वृद्ध तामाङ
  • सुनापति गाउँपालिका ५ का ६० वर्षीय नेमा तामाङ

काभ्रे

  • रोशी गाउँपालिका ४ का २५ वर्षीय कमल तामाङ
  • पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदीप गजमेर
  • मण्डनदेउपुरकी शुभलक्ष्मी मानन्धर
  • पाँचखाल नगरपालिकाका कुलबहादुर विक

एक जना मृतक महिलाको सनाखत हुन सकेको छैन । प्रनाउ थिङका अनुसार सुनापति ३ हिलेदेवीको स्वाँराबाट काठमाडौंका लागि छुटेको पूर्व अरनिको यातायात समितिको बा ३ ख ८३९६ नम्बरको बस लुभुबजारबाट केही उत्तर पर्ने घुम्तीबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि एम्बुलेन्स र हेलिकोप्टरबाट काठमाण्डौं पठाइएको थियो । घाइते धेरैजसोको अवस्था गम्भीर छ ।

करिब ४० जना यात्रु लिएर ओरालो झर्दै गरेको बस 'ब्रेक फेल' भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा आएको थिङले बताए । दुर्घटनामा सामान्य घाइते भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिमा रहेको बस ओरालोमा ब्रेक फेल भएकाले जोगाउन नसकेको आकलन गरिएको छ ।

दुर्घटनाको जानकारी हुँदासाथ करिब १ सय मिटरको दुरीमा रहेको लुभुघाट प्रहरी चौकी, बेथान र जिल्ला सदरमुकामबाट टोली पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा दुर्घटनास्थलबाट घाइते र शव निकालिएको थियो । घाइते र मृतकमध्ये धेरैजसो सुनापति ५ खनियापानीका छन् । उनीहरु बस चढेको करिब १५ मिनेटमा दुर्घटनामा परेका थिए ।

प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीका अनुसार घटनास्थलमा रहेका ९ मृतकको पोस्टमार्टम सहज ढंगले गर्न मन्थली अस्पतालले सहजीकरण गरेको छ । पोस्टमार्टमपछि आफन्तजनले शव बुझेका छन् ।

लुभुखोलामा घरीघरी दुर्घटना

दुर्घटना भएको स्थान आसपास यसअघि २ वटा दुर्घटना भइसकेका छन् । ८ वर्षअघि बेथान जाँदै गरेको बोलेरो जिप खनियापानीतर्फ उकालो लाग्दै गर्दा लुभुखोलातर्फ झरेको थियो । दुर्घटनामा ४ जनाले ज्यान गुमाएका थिए । ३ वर्षअघि अर्को सुमो त्यहींबाट खस्यो । सुमो दुर्घटनामा चालकको ज्यान गयो ।

मध्यपहाडी राजमार्गबाट खनियापानीतर्फ लाग्ने सडक उकालो छ । उकालोमा जाँदै गरेका साधन केही गरी पछिल्तिर गुडेभने चालकले बचाउन सक्ने अवस्था नभएको स्थानीय मानबहादुर तामाङ बताउँछन् । 'ईन्जिनियरले पनि कस्तो बाटो बनाएको हो, यस्तो ठाडोमा गाडी गुडाउँछ,' तामाङले आक्रोश पोखे । त्यही असजिलो भएकैले यसअघि दुर्घटना भएको उनको जिकिर छ । 'मंगलबारको दुर्घटना पनि धेरै ओरालोमा गुडिरहेको बस ब्रेक फेल हुँदा बचाउने उपाय नभेटेको हुनसक्छ,' उनले भने ।

प्रकाशित : असार २१, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

वाणिज्यको अनुगमन : २० दिनमा ८७ फर्मलाई कारबाही 

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा २० दिनमा ८७ फर्मलाई कारबाही गरेको छ । असार १ देखि २० गतेसम्म बजार अनुगमनको सिलसिलामा ती फर्मलाई विभिन्न कसुरमा कारबाही स्वरुप कुल २५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यसबीचमा २७८ फर्मको अनुगमन गरिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असार २० गतेसम्म कुर ३ हजार ३४ व्यापारिक फर्महरुमा अनुगमन र निरीक्षण गरी १ हजार ३०१ फर्मलाई १ करोड ७७ लाख ८१ हजार रुपैयाँ जरिवाना गरिएको छ । पछिल्लो पटक उजुरीका आधारमा पाटन औद्योगिक क्षेत्रको अन्नपूर्ण इन्डष्ट्रिजद्वारा उत्पादित पानीको नमुना संकलन गरी परीक्षण गर्दा पिउन अयोग्य देखिएको जनाउँदै विभागले उद्योगलाई सिलबन्दी गरिएको जनाएको छ ।


प्रकाशित : असार २१, २०७९ १८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×