नुवाकोटमा ९१ वर्षीयाले लिइन् राष्ट्रिय परिचयपत्र

नुवाकोटमा हालसम्म १८ हजार १५२ जनाले परिचयपत्र लिइसकेका छन् । तीमध्ये ४५० जना ६० वर्षमाथिका छन् । 
कृष्ण थापा

नुवाकोट — नुवाकोटमा ९१ वर्षीया एक वृद्धाले राष्ट्रिय परिचयपत्र बनाएकी छन् । किस्पाङ गाउँपालिका २ ताजीकी चन्द्रकुमारी ढुंगेलले राष्ट्रिय परिचयपत्र बनाइएकी हुन् ।

नुवाकोटमा ९१ वर्षीयाले लिइन् राष्ट्रिय परिचयपत्र

१९८८ कात्तिक १५ गते जन्मिएकी ढंगेलले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सोमबार राष्ट्रिय परिचयपत्र बनाएकी हुन् । उनको नागरिकता नम्बर ५१३८ रहेको छ । छोरा यदुकुमारसँगै जिल्ला प्रशासन पुगेकी चन्द्रकुमारी अष्टेलियामा रहेका छोराछोरी, नाती र पनाती भेट्न जानुअघि परिचयपत्र बनाएको बताएकी छन् ।

‘छोरानाती उतै काम गर्न र पढ्न गएका छन् । पनातीको मुख हेर्छु भन्नु भएको छ । परिचयपत्र नबनाउँदा राहदानी बन्दो रहेनछ,’ छोरा यदुकुमारले भने । राष्ट्रिय परिचयपत्र नबनाइ राहदानी नपाइने नियमका कारण नुवाकोट जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय सेवाग्राहीको भीड लाग्ने गरेको छ । जिल्लामा ६० वर्षमाथिका ४५० जनाले राष्ट्रिय परिचयपत्र लिइसकेका छन् । हालसम्म १८ हजार १५२ जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् ।

नुवाकोटमा राष्ट्रिय परिचयपत्र बनाउन ०७७ असार ३१ गतेबाट थालिएको हो । राष्ट्रिय परिचयपत्र बनाउन आउने अधिकांश जेष्ठ नागरिकसँग आवश्यक कागजपत्र नहुने, विवाह दर्ता नभएको, नामथर फरक, एउटै स्टेसनबाट काम गर्नुपर्दा समस्या भएको कर्मचारीले बताए । यसका लागि प्रत्येक पालिकामा एउटा छुट्ट्रै शाखा राख्नुपर्ने अवस्था आएको कर्मचारीहरू बताउँछन् ।

सरकारले २०६६/०६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गरिने घोषणा गरी ०६७ साल साउन १ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना गरेको हो ।

प्रकाशित : असार २०, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?