कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘शादी’ गर्न सौराहा

रमेशकुमार पौडेल

चितवन — सौराहा सफारीका लागि प्रख्यात छ । चितवन राष्ट्रिय निकुञ्ज छिर्ने १० प्रवेशद्वारमध्ये एक सौराहाका होटलमा निकुञ्जका दुर्लभ वन्यजन्तु पाटे बाघ, एकसिंगे गैंडाजस्ता जनावर हेर्न आउने देशविदेशका पर्यटक आउँछन् । दिनभर सफारीमा व्यस्त भएका पर्यटक सुस्ताउने ठाउँ हो, सौराहा । 

‘शादी’ गर्न सौराहा

वन्यजन्तु हेर्न जंगलमा स्वीकृत प्राप्त जिप या हात्ती चढेर डुल्नुलाई सफारी भनिन्छ । पछिल्ला वर्षहरूमा सौराहामा ‘शादी’ गर्न आउनेहरू पनि बढ्न थालेका छन् । नेपालको मधेस क्षेत्र र हिन्दी भाषामा विवाहलाई शादी भनिन्छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्य बिहार, उत्तर प्रदेश र पश्चिमबंगालवासीले वैवाहिक कार्यक्रमका लागि सौराहा रोज्ने गरेको व्यवसायीहरू बताउँछन् । नेपालको वीरगन्ज, जनकपुर क्षेत्रबाट पनि बिहे गर्न यही आउन थालेका छन् । ‘सीमा जोडिएका भारतीय राज्यबाट बेहुलाबेहुलीसहित दुवैतर्फका पारिवारिक सदस्य तथा निम्तालुहरू सौराहा आउने क्रम ७/८ वर्षअघि सुरु भएको हो,’ सौराहाका होटल व्यवसायी माधव दुवाडीले भने । तुलनात्मक रूपमा सस्तो, प्राकृतिक हावापानी, सुविधा र सुरक्षाका कारण वैवाहिक कार्यक्रमका लागि सौराहा रोजाइमा परेको उनले बताए । सौराहामा अलि फराकिलो ठाउँ भएका, सजावट र धेरै मान्छे अट्ने होटलमा बिहेका कार्यक्रम हुने गरेका छन् । पार्क सफारी रिसोर्ट, होटल सेभेन, होटल जंगल क्राउन र ल्यान्डमार्क होटलहरू सौराहामा विवाहका कार्यक्रम भइरहने होटल हुन् । होटल सेभेनका सञ्चालक माधव दुवाडी आफ्नो होटलमा कोरोना महामारीअघि वर्षमा १५/१६ वटा वैवाहिक कार्यक्रम हुने गरेको बताउँछन् । ‘उत्तर प्रदेशका विभिन्न सहर, बिहारको पटना र पश्चिमबंगालको सिलिगुढीलगायतका स्थानबाट वैवाहिक कार्यक्रमका लागि यहाँ आउने गरेका छन्,’ दुवाडीले भने । पार्क सफारीका सञ्चालक महेश खनालले अर्को वर्षका लागि सोधखोज सुरु भइसकेको बताए ।

नेपालका मधेसी र मारवाडी समुदायको बिहे भारतका सीमावर्ती क्षेत्रहरूमा पनि हुने गरेको छ । सौराहा आउने अधिकांश बिहेमा बेहुला वा बेहुली नेपालतिरैका हुने गरेको होटल व्यवसायीहरू बताउँछन् । बिहेका लागि कम्तीमा ५ सय जना भेला हुने गरेका दुवाडीको भनाइ छ । बिहेको मुख्य कार्यक्रम एउटा होटलमा भए पनि पाहुनाहरू अन्य होटलमा बस्ने भएकाले पनि कारोबारमा राम्रो प्रभाव पर्छ । मुख्य कार्यक्रम हुने होटलले एउटा बिहे गराउँदा १५ लाख रुपैयाँसम्म कमाउने व्यवसायीहरू बताउँछन् ।

बिहेको कार्यक्रम गर्न सौराहा आउने चाहना राख्नेहरू भने बढ्दै गएको उनको भनाइ छ । सौराहा वन्यजन्तु पर्यटनका लागि ख्याति कमाएको स्थान भएकाले बिहे जस्ता कार्यक्रम गर्दा होहल्ला नहोस् भन्नेतर्फ भने व्यवसायीहरू सचेत हुनुपर्ने होटल व्यवसायी तथा होटल संघ नेपाल, सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेको सुझाव छ ।

प्रकाशित : असार १९, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?