त्रिशूली नदीले आमाछोरालाई बगायो

रासस

नुवाकोट — नुवाकोटको विदुर नगरपालिका–३ का संगीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया संगीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार वडा नं ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए ।

खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

हराइरहेका उनीहरूको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटसहित मातहतका प्रहरी एकाइ, सशस्त्र प्रहरी बल १९ नं गुल्म नुवाकोट र जबरजङ्ग गण देवीघाटबाट खटिएका १०० भन्दा बढी सुरक्षाकर्मी एवं स्थानीयवासी खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रकाशित : असार १८, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?