१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मेसिनको प्रयोगले रोपाइँ खर्च कम

जनशक्ति, बीउलगायतमा खर्च घट्ने तथा उब्जाउ पनि बढी हुने भएपछि मेसिन प्रयोगमा किसानको आकर्षण बढ्दै
रमेशकुमार पौडेल

चितवन —  चितवन कुमरोजका सजना चौधरीलाई हिजोआज धान रोपाइँको चटारोले बिहानदेखि साँझसम्मै व्यस्त बनाएको छ । हिलाम्मे खेतमा दिनभर काम गर्ने उनको हातखुट्टा, कपडामा खासै हिलो हुन्न । ‘खेतबाट निस्केपछि हातखुट्टा धुन त पर्छ नै तर त्यस्तो हिलो हुन्न । सर्टपाइन्ट लगाएरै काम गर्ने हो । कपडामा एकाध छिटा लाग्छ । नभए हिलो खेतमा काम गरेको ठूलो संकेत देखिँदैन,’ सजनाले भने ।

मेसिनको प्रयोगले रोपाइँ खर्च कम

कुमरोजको साना किसान कृषि सहकारीले किनेको धान रोप्ने मेसिनका चालक हुन् उनी । मेसिनले धान रोप्दा हिलोमा टेक्नै पर्दैन । गह्रा ढाक्ने गरी धान रोप्ने खेताला पनि खोज्नु पर्दैन । बिघौंबिघा खेत उनी एक्लैले मेसिन कुदाएर रोप्छन् । मेसिनले रोप्ने धानको बीउ/बेर्ना विशेष तरिकाले ट्रेमा तयार गर्नुपर्छ । बेर्ना बटुल्न पनि पुरानो ब्याडमा जस्तै धेरै खेताला चाहिँदैन । एक/दुई जनाले ट्रेका बेर्ना मेसिनसम्म ल्याए हुन्छ । ७/८ वर्षयता चितवनका हिला गह्राहरूमा फाट्टफुट्ट यस्ता मेसिनहरू देखिन थालेका छन् । मेसिनको प्रयोग सोचेअनुरूपको भने छैन । तर, प्रयोग गरेकाहरू केही समस्या रहे पनि सन्तुष्ट रहेको बताउँछन् ।

‘एक बिघा खेतमा धान रोप्न कम्तीमा १३ जना खेताला चाहिन्छ । एक जना खेतालाको ज्याला र खाजापानीको खर्च ८/९ सय रुपैयाँभन्दा बढी हुन्छ । यति नै खेत मेसिनले रोपे ४/५ हजार रुपैयाँ मात्रै लाग्छ,’ खैरहनी–१२ कपियाका नवीन श्रेष्ठले भने । अचेल खेताला पाउन कठिन छ । छिटो र खर्च पनि कम हुने भएका कारण किसानका लागि मेसिन लाभदायक भएको उनले बताए ।

चितवनमा झन्डै १० वर्षअघि जापानबाट एक जना व्यक्तिले धान रोप्ने मेसिन भित्र्याएका थिए । त्यसले व्यापकता पाउन भने सकेन । त्यसपछि २०७२ सालमा तत्कालीन जिल्ला कृषि विकास कार्यालयले पूर्वी चितवनका विभिन्न कृषि सहकारीलाई ६ वटा मेसिन अनुदानमा उपलब्ध गरायो । तीनपाङ्ग्रे ती मेसिन त्यति प्रभावकारी भएनन् । नवीन श्रेष्ठले पनि त्यतिबेलादेखि नै मेसिन प्रयोग सुरु गरेका हुन् ।

‘हिलोमा मज्जाले नसर्ने, गेयर फँस्ने समस्या आयो । बनाउन पनि लगेको हो तर राम्रोसँग नचलेपछि प्रयोग हुन छाडे,’ नवीनले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ भरतपुरले गत वर्ष पूर्वी चितवनकै बछौली, कुमरोज र कठारका कृषि सहकारीलाई अनुदानमा १/१ वटा धान रोप्ने मेसिन उपलब्ध गरायो । पुरानो मेसिनले काम नगरेर थन्किए पनि यसको फाइदा बुझेका कारणले कुमरोजबाट मेसिन ल्याएर रोप्न लागेको श्रेष्ठले बताए । सहकारीले किनेको मेसिन चारपाङ्ग्रे हो । त्यसले हिलोमा राम्रोसँग काम गरेको चालक सजनाले बताए । पूर्वी चितवनका यी तीन सहकारीसहित पश्चिम चितवन दिव्यनगरमा पनि यस्तै चारपाङ्ग्रे मेसिन छ । अहिले चितवनभर रहेका धान रोप्ने मेसिन यत्ति नै हुन् ।

स–साना गह्रामा मेसिनले धान रोप्न गाह्रो हुन्छ । ‘त्यसैले चक्लाबन्दी गरेर ठूला गह्रा बनाएका ठाउँमा मात्रै अहिले मेसिनको प्रयोग सुरु भएको छ,’ परियोजनाका कृषि अधिकृत तथा सूचना अधिकारी माधव पौडेलले भने । किसानहरू मेसिनसम्बन्धी सबै विषयमा अभ्यस्त नभएका कारण प्रयोग बढ्न नसकेको कृषि अधिकारीहरू बताउँछन् । यसबाहेक खेतमा पानी नियन्त्रण गर्न सक्ने सिँचाइ प्रणाली पनि हुनुपर्छ । चितवनको कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा चैते र वर्षेगरी साढे ३० हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । चैते र वर्षे गरी जम्मा सय हेक्टर अर्थात् डेढ सय बिघामा मात्रै मेसिनले धान रोप्ने गरिएको कृषि अधिकृत पौडेलले बताए । तर, यसबाट हुने फाइदा बुझेपछि प्रयोग गर्नेहरू बढ्ने किसान सूर्यबहादुर बोगटी बताउँछन् ।

खैरहनी–१३ कुमरोजका बोगटीले २ बिघामा धान खेती गर्छन् । काट्ने रोप्ने काम मेसिनले नै गर्दै आएका छन् । ‘मेसिनले रोप्दा बीउ कम लाग्छ । खर्च पनि कम हुने । उत्पादन पनि बढ्छ,’ उनले अनुभव सुनाए । अरू बेला २ बिघाका लागि लगभग एक क्विन्टल बीउ राख्ने गरेकोमा ट्रेमा राख्दा १७ किलोले पुगेको उनले बताए । त्यसैगरी मेसिनले रोप्दा १० हजार खर्च भएको र खेताला लगाएको भए २७ हजार रुपैयाँ लाग्ने उनको भनाइ छ ।

‘उत्पादन २५ प्रतिशतले बढेको छ । लाइन मिलाएर फराकिलो बनाएर रोप्दा हावा खेल्न पाउने, मलखाद सबैलाई पुग्ने हुँदा हर्लक्क गाँज आएर बढ्छ । बाला राम्रो लाग्छ । त्यसैले उत्पादन बढ्छ,’ उनले भने । कृषि अधिकृत पौडेल पनि मेसिनले रोप्दा बीउ कम लाग्ने र उत्पादन बढ्ने स्वीकार्छन् । ‘कृषि कर्म हिलो धूलोमा खेल्ने दुखिया काम हो तर मेसिनको प्रयोगले यो मान्यता हटाएको छ । खर्च कम हुने गरेको छ । उत्पादन बढेको छ । बीउ पनि जोगिएको छ,’ उनले भने, ‘कुनै पार्टस् बिग्रे बनाउन फेर्न अलि गाह्रो रहेछ । त्यसैले मेसिन किन्न आँट गरेका छैनन् तर फाइदा देखेपछि प्रयोग बढ्छ नै ।’

प्रकाशित : असार १८, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?