मुख्यमन्त्री फेर्ने तयारी

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले आन्तरिक तयारी सुरु गरेका छन् । दुवै दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन गरेर पदबाट राजीनामा गर्न दबाब बढाएका छन् । पूर्वसहमतिअनुसार चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने भन्दै उनीविरुद्ध हस्ताक्षर संकलन गरिएको हो । 

मुख्यमन्त्री फेर्ने तयारी

हाल सत्तारूढ गठबन्धनको नेतृत्व गर्दै नेकपा (एकीकृत) समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री छन् । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट पास भएसँगै पूर्वसहमतिअनुसार नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् ।

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो । प्रदेशसभामा हाल एकसय ७ सांसद छन् । कांग्रेसले सहमतिअनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरे पनि मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशनपश्चात् मात्र पछि हट्ने बताएपछि हस्ताक्षर संकलन गरिएको एक सांसदले बताए । ‘सहमतिअनुसार मुख्यमन्त्रीले सहजै सत्ता नछाड्ने देखियो । त्यसकारण यस्तो गर्नुपरेको हो,’ उनले भने ।

उनले हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागीमन्त्री तथा राज्यमन्त्रीसमेत फिर्ता बोलाउने तयारी भइरहेको बताए । ‘उहाँले सहजै नछाडेको खण्डमा दुवै दल सरकारबाट बाहिरिनेछ । यस विषयमा दुवै दलले आआफ्नो संसदीय दलमा छलफल गरिसकेको छ,’ उनले भने ।

कांग्रेस संसदीय दलका नेता बानियाँले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरिएको बताए । ‘मुख्यमन्त्री परिवर्तन गर्दा प्रदेश प्रमुखलाई बहुमत सदस्यको हस्ताक्षर बुझाउनुपर्ने हुन्छ । त्यसकारणले हस्ताक्षर संकलन गरिएको हो,’ बानियाँले भने । उनले पूर्वसहमतिअनुसार अगाडि बढ्न जरुरी रहेको बताए । कांग्रेस संसदीय दलको वैठकले यस विषयमा निर्णय गर्ने सम्पूर्ण जिम्मेवारी प्रदान गरेको छ । उनले छिट्टै प्रदेशमा नयाँ सरकार बन्नेमा आफू विश्वस्त रहेको बताए ।

स्रोतका अनुसार कांग्रेस र माओवादी सांसदको हस्ताक्षर सांसद युवराज दुलालले संकलन गरेका थिए । मुख्यमन्त्री पाण्डेले कांग्रेस नेता बानियाँसँग आधा–आधा समय मुख्यमन्त्री बन्ने सहमति पत्र मै हस्ताक्षर गरेका छन् । जसका कारण उनी समस्यामा परेका छन् । ‘सहमति पत्रमै हस्ताक्षर गरेपछि नैतिक दबाबमा पर्नु स्वभाविक हो । तर, हामीले चाहेर मुख्यमन्त्री परिवर्तन हुँदैन । यो हामीले प्रदेशबाट निर्माण गरेको गठबन्धन पनि होइन,’ एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्ण शर्मा खनालले भने । खनाल हाल आन्तरिक मामिला तथा कानुनमन्त्री छन् ।

‘सत्तारुढ गठबन्धनको शीर्ष तहबाट भएको निर्णय मान्न हामी तयार छौं । यसको असर देशैभरको प्रदेशमा पर्ने निश्चित छ । त्यसकारण विषय गम्भीर देखिएको छ,’ खनालले भने । उनले आफ्नो दलभित्र सत्ता परिवर्तनको विषयमा छलफल नै नभएको बताए । तत्कालिन समयमा नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता प्रकाशरण महतको उपस्थितिमा कांग्रेस र नेकपा एसबीच सहमति भएको थियो ।

केन्द्र सरकारले निर्वाचन आयोगको सुझावअनुसार असारको अन्तिम सातासम्ममा प्रदेश र संघको निर्वाचनको मिति तोक्ने सम्भावना रहेका कारण त्यसअघि नै मुख्यमन्त्री परिवर्तनको टुंगो लाग्ने उनको दाबी छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल पनि कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने पक्षमा उभिएका छन् । उनले सहमति पालना गरेर मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्न जरुरी रहेको बताए ।

‘सहमतिपत्रमै हस्ताक्षर गरेपछि पालना गर्नुपर्छ । राजनीतिमा इमानदारी हुन्छ,’ आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका जम्मकट्टेलले भने । उनले मुख्यमन्त्रीले सहमति पालना गरेर गठबन्धनलाई अझै बलियो बनाउन सहयोग गर्नुपर्ने बताए । ‘प्रदेश र संघीय निर्वाचन नजिकिँदै छ । अझै गठबन्धनलाई बलियो बनाएर बढ्न जरुरी छ । त्यसकारण पनि उहाँले सत्ता सहजै हस्तान्तरण गर्नुपर्छ,’ उनले भने । सत्ता हस्तान्तरणको विषयमा प्रदेशस्तरमा सहमति नभएपछि तीनै दलका नेताहरू शीर्ष नेतृत्वसँग छलफल गर्न काठमाडौं गएका छन् ।

प्रकाशित : असार १७, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?