वाग्मतीमा केही दिनमै सरकार परिवर्तन हुन्छ : बानियाँ

सुवास विडारी

(मकवानपुर) — नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेशमा केही दिनमै सरकार परिर्वतन हुने दाबी गरेका छन् । सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी बानियाँले गरेका हुन् ।

वाग्मतीमा केही दिनमै सरकार परिवर्तन हुन्छ : बानियाँ

मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन भएको विषयमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै बानियाँले सरकारको परिवर्तन गर्न आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको बताए ।

‘सरकार परिवर्तनको प्रक्रिया अब सुरु भयो । प्रक्रिया मिलाउनै हस्ताक्षर संकलन गरिएको हो । संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ,’ उनले भने ।

हस्ताक्षर संकलनको विषयमा मुख्यमन्त्री पाण्डे समेत जानकार रहेको पनि बानियाँले बताए । ‘मुख्यमन्त्री परिवर्तनमा नेकपा एस पनि सहमत छ । हस्ताक्षर संकलन सहमति मै भएको हो,’ बानियाँले भने ।

पूर्वसहमति अनुसार कांग्रेसले नेतृत्व लिनेगरी समाजवादीका सांसदको पनि हस्ताक्षर संकलन गर्दै बहुमत जुटाएर प्रदेश प्रमुखलाई बुझाइने बताए । ‘हस्ताक्षर बुझाएपछि सरकार परिवर्तनको थप प्रक्रिया अघि बढ्छ । यसमा राजेन्द्र पाण्डेको पनि सहमति छ । वर्तमान मुख्यमन्त्रीले कुनैपनि अवरोध खडा गरेको होइन । छैन पनि । सबै विषय सहमति मै टुंगिन्छ,’ उनले भने ।

हालसम्म कांग्रेसका २२ र माओवादी केन्द्रका २३ सांसदको हस्ताक्षर संकलन भइसकेको छ । बागमतीमा बहुमतको सरकार बन्नका लागि भने ५४ सांसद चाहिन्छ । सरकारको परिवर्तनको विषयमा सहमति खोज्न मुख्यमन्त्री पाण्डे, कांग्रेस नेता बानियाँ र माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्मकट्टेल शीर्ष नेतृत्वसँग छलफल गर्न काठमाडौं गएका छन् ।


प्रकाशित : असार १६, २०७९ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?