वर्षाले सिन्धुलीका अधिकांश ग्रामीण सडक अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — लगातारको वर्षापछि खसेका पहिरोले सिन्धुलीका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । । सिन्धुलीमाडी–चकमके सडकअन्तर्गत कमलामाई नगरपालिका–११ थरहरीमा खोलाले ५० मिटर सडक बगाएको छ । सडकमा राखेको कल्भर्टसमेत बाढीले बगाएको छ ।

वर्षाले सिन्धुलीका अधिकांश ग्रामीण सडक अवरुद्ध

‘पहिरोले सडक झारेको छ, खोलाको बाढीले सडक बगाएको छ, अब कहिले बन्ने होला थाहा छैन,’ तीनपाटनका भरत बुर्जाले भने । सदरमुकाम सिन्धुलीमाडीसँग तीनपाटन गाउँपालिका केन्द्र जोड्ने एकमात्र चकमके सडक छियाछिया भएपछि स्थानीयलाई सास्ती भएको छ ।

तीन दिनको वर्षाले ५० स्थानमा सडक बिगारेको स्थानीय काशीनाथ दाहालले बताए । तीनपाटन सडकमा यात्रा गर्दा बर्खामा हिलोमा लट्पटिनु र हिउँदमा धुलाम्मे हुनु स्थानीयको दिनचर्या भएको छ ।

लगातारको वर्षापछि बीपी राजमार्गको पिपलभन्ज्याङ–हायूटार सडकको दर्जनौं स्थानमा पहिरो खस्दा घ्याङलेख गाउँपालिकासँग सडक सम्बन्ध टुटेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीका अनुसार सडक मर्मत गरेर गाउँपालिकाले खुलाउने प्रयास गरिरहे पनि धेरै स्थानमा पहिरो गएकाले कठिन भएको छ । सुनकोसी, फिक्कल, मरिण र हरिहरपुरगढीका ग्रामीण सडक वर्षाका कारण अवरुद्ध छन् । ३८ करोड रुपैयाँ लागतमा निर्माणाधीन आडगढी–जलकन्या–मझुवा सडकको हालत पनि वर्षाले उस्तै भएको स्थानीय शिक्षक खिलराज देवकोटाले जानकारी दिए । सडकको धेरैस्थानमा पहिरो झरेकाले यातायात पूरै अवरुद्ध भएको छ ।

कमलामाई र दुधौली नगरपालिकाको ग्रामीण सडकसमेत क्षतविक्षत भएका छन् । घरघरमा सडक पुर्‍याउने नाममा जथाभावी एक्स्काभेटर प्रयोग गरेर सडक खन्दा दिगो नभएको सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष शर्मा बताउँछन् । भन्छन्, ‘जनप्रतिनिधिलाई सडक बनाउँदा देखिने काम हुने भएकाले बजेट खन्याउन सजिलो भएको छ, तर दिगोपनतिर ध्यान नदिंदा वर्षादमा ठुलो क्षती हुन्छ ।’

प्रकाशित : असार १६, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?