२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

वाग्मतीका मुख्यमन्त्रीले भने- 'सरकार परिवर्तनको निरुपण केन्द्रबाटै'

काठमाडौँ — वाग्मती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर उठेका प्रश्नहरुको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताएका छन् ।

वाग्मतीका मुख्यमन्त्रीले भने- 'सरकार परिवर्तनको निरुपण केन्द्रबाटै'

प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको समाचार प्रकाशित भएसँगै मुख्यमन्त्री पाण्डेले ट्विटरमार्फत त्यस विषयमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीट गर्दै भनेका छन्- 'गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन् ।'

प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको थियो । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशन बिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेको बताइएको हो ।

सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा (एकीकृत) समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमतिअनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन् ।

पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

मुख्यमन्त्री पाण्डेले कांग्रेस नेता बानियाँसँग आधा–आधा समय मुख्यमन्त्री बन्ने सहमति पत्र नै गरेका थिए । तत्कालीन समयमा नेपाली कांग्रेस केन्द्रीय प्रवक्ता प्रकाशरण महतको उपस्थितिमा कांग्रेस र नेकपा एसबीच सहमति भएको थियो ।

प्रकाशित : असार १६, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?