कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
अनुमानका भरमा कारबाही

तौलपुल सञ्चालनमा नल्याई ‘तजबिजी’मा जरिवाना

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेमा स्थापना भएको तौलपुललाई प्रयोगमा नल्याई क्षमताभन्दा दुईदेखि तीन गुणा बढी सामान बोक्ने टिपरलाई ‘अनुमानका भरमा’ कारबाही हुने गरेको छ ।

तौलपुल सञ्चालनमा नल्याई ‘तजबिजी’मा जरिवाना

स्थानीय निकायको आह्वान यातायात व्यवस्था विभागबाट अनुमति लिएर जिल्लाका ३ स्थानमा स्थापना भएका तौलपुल सञ्चालनमा आउन सकेका छैनन् । तौलपुल स्थलमा हुनुपर्ने पार्किङ, भण्डारस्थल र अनुगमन नियमनलगायतका विषय अस्पष्ट भएको भन्दै स्थानीय प्रशासनले सञ्चालनमा चासो नदिएको हो ।

मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित) को व्यवस्थाअनुसार अनिवार्य रूपमा मालवाहक सवारीसाधनको भार मापन गर्नुपर्ने प्रावधान छ । स्थानीय सेवा प्रदायक संस्थाले बीपी राजमार्गको भकुण्डेवेशी, अरनिको राजमार्गको केराघारी र पनौती सडकको नैकिनटारमा स्थापना गरिएका ती तौलपुल नियामक निकायकै उपस्थितिमा उद्घाटन गरिएपनि सञ्चालन आउन सकेका छैनन् । पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकाले आह्वान गरेको सूचनाका आधारमा छनोट भएका कम्पनीलाई यातायात व्यवस्था विभागले अनुगमन गरेर अनुमति दिएको थियो । उद्घाटनका दिन जोखिएका केही टिपरले क्षमताभन्दा आधा बढी मालसामान बोक्ने गरेको पाइए पनि नियमित नभएपछि टिपरहरु निर्वाध सञ्चालन हुँदै आएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ट्राफिकले ओभरलोड बोकेको भन्दै ११ हजार ३ सय ४ सवारीसाधनलाई कारबाही गरी १ करोड ३४ लाख ३६ हजार राजस्व संकलन गरेको छ । तीमध्ये अधिकांश टिपर छन् । ढालाभन्दा बढी सामान बोके ओभर लोड मान्दै सामान झार्ने गरे पनि बिलबुकमा उल्लेखित क्षमताभन्दा दुईदेखि ३ गुणा बढी सामान बोक्ने गरेको पाइएको छ । ‘अनुमानको भरमा कारबाही गर्नु हाम्रो रहर होइन बाध्यता हो,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले भने, ‘तौलपुल सञ्चालनमा आए सबैभन्दा खुसी हामी नै हुन्थ्यौं, यसरी जाँदा वास्तविक परिणाम पनि आउथ्यो ।’

मालवाहक सवारी साधनले क्षमताभन्दा बढी तौल बोक्दा सवारी दुर्घटना र सडकमा समेत क्षति भएपछि जिल्लाका प्रमुख राजमार्ग र फिडर सडकमा स्थापना गरिएका ‘तौल पुल’ सञ्चालनमा नआउँदा पनौतीलगायतका स्थानमा हालै गरिएको कालोपत्रे सडकमा क्षति पुगेको छ भने अन्य सडक तथा पुलहरु जोखिममा परेका छन् । मालबहाक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित) को व्यवस्था अनुसार, ६ चक्के २ एक्सएल क्षमताका ती सवारीसाधले ८ टनसम्म माल सामान बोक्न पाउने भए पनि ५ टनसम्म बढी भार बोक्ने गरेको भेटिएको छ । तौल गर्दा टिपरले १३ टन निर्माण सामग्री बोकेको पाइएको थियो । जिल्लाको पनौती, दोलालघाट, सिन्धुपाल्चोकको मेलम्ची, बन्देउ, रोसी, सिन्धुलीलगायतमा रहेका क्रसर तथा खानीबाट ढुंगा, गिट्टी, बालुवालगायतका निर्माण सामग्री बोकेर दैनिक २ देखि ३ हजार टिपर ओहोरदोहोर गर्छन् । बढी क्षमता बोक्ने ती साधनका कारण सडक जीर्ण हुनुका साथै सवारी दुर्घटना हुने गरेको प्रहरी तथ्याकंले देखाएको छ ।

भारमापनको अनुगमन र नियमनको जिम्मा पाएको पनौती नगरपालिकाले सूचना नै जारी गरेर अनिवार्य रूपमा भार मापन गरेर लोडसिट लिएर मात्रै ढुवानी गर्न मालवाहक सवारी साधनलाई अनुरोध गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडलले तौलपुल सञ्चालनका लागि सहयोग र सहजीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेलाई पत्र लेखेको बताए ।

बढी मालसामान बौक्दै आएका टिपर व्यवसायीले भने तौलपुलका निर्माण सामग्री बोक्ने टिपरको हकमा भारमापन गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने भन्दै वाग्मती टिपर व्यवसायी संघले आफ्ना सदस्यलाई ‘भ्रममा नपर्न’ भन्दै सूचना जारी गरेको छ । संघका अध्यक्ष सुरेश खत्रीले टिपर व्यवसायी दोहोरो मारमा भएको तर्क गरे । ‘ढालाभन्दा कम सामान बोकेको भनेर कालोबजारीको मुद्दा पनि हामीलाई नै हालिएको छ, बढी बोक्यो भनेर पनि हामीलाई नै कारबाही गरिएको छ,’ खत्रीले भने, ‘बिलबुकमा उल्लेख भएको परिणाम नै बोकेका छौँ, भारमापनको नाममा अनावश्यक द:ुख दिन खोजिएको हो ।’ बिलबुकमा उल्लेखित भारवहन क्षमताभन्दा बढी हुने गरी टिपरहरूले ढाला बनाउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले तौलपुल स्थलमा हुनुपर्ने पार्किङस्थल र बढी तौल भएको साम्रगी राख्ने भण्डारण स्थल तथा अनुगमन नियमनलगायतका विषयमा थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएकोले केही समय सञ्चालन नगर्न भनिए पनि अब अनुगमन नियमनको जिम्मा स्थानीय तहलाई दिइएको तर्क गरे । ‘व्यवस्थापकीय केही विषय अस्पष्ट भएर यातायात व्यवस्था विभागलाई पत्र लेखेका थियौं, केही स्पष्ट भएर आएका छन्,’ उनले भनिन्, ‘सञ्चालन गर्दा सडक सुरक्षामा समस्या नहोस् भन्ने हाम्रो चासो हो ।’ निर्देशिकामा क्षमताभन्दा बढी भएको वजन बराबरको मालसामान झारी सोको भण्डारण वा ढुवानीको व्यवस्थासमेत मालवाहक सवारीको धनीले गर्नुपर्ने स्पष्ट छ । निर्देशिकामा नियमनका लागि तौलपुलहरूमा विभाग वा सम्बन्धित यातायात व्यवस्था कार्यालय तथा ट्राफिक प्रहरीलाई खटाउन सक्ने उल्लेख छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मापदण्डअनुसार नै विभागले स्विकृति प्रदान गरेको भन्दै चितवनको आँपटारी, बर्दिबासलगायतका स्थानमा भएका तौलपुल पनि सडक छेउमा नै भएको बताए । ‘आवश्यक मापदण्ड पूरा गरेर हामीले अनुमति दिएका हौं,’ घिमिरेले भने, ‘भारमापन गर्ने मेसिन पनि गुणस्तर तथा नापतौल विभागबाट प्रमाणित हो, भारमापनका लागि कुनै अस्पष्टता छैन, तौलपुल नभएको स्थानमा ढालाका आधारमा मापन गर्ने भन्ने व्यवस्थालाई व्यवसायीले गलत व्याख्या गरेका हुन् । ’

पनौतीमा तौलपुल सञ्चालनका अनुमति पाएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजका सञ्चालक सुदर्शन सुवेदीले व्यवस्थापनमा समस्या नभएको तर्क गदै सञ्चालन गर्दा कुनै समस्या आए समाधान गर्दै जाने बताए । ‘पार्किङका लागि जग्गा उपलव्ध भइसकेको छ, सञ्चालनका क्रमा कुनै समस्या आए समाधानको लागि तयार छौं, तर यहाँ त सञ्चालन नै गर्न नदिने षड्यन्त्र भयो,’ उनले भने ।

प्रकाशित : असार १६, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?