१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्तायो काजलकली हात्ती

रमेशकुमार पौडेल

चितवन — सौराहामा लामो समय जंगल सफारीका लागि प्रयोग भएको पोथी हात्ती काजलकलीको आइतबार मृत्यु भएको छ । लगभग ७० वर्षको उक्त हात्ती बुढ्यौलीका कारण मरेको हो । अन्तिम समयमा उठ्नै नसक्ने गरेर ढलेको सो हात्तीको दयनीय तस्बिर सामाजिक सञ्जालहरूमा आएपछि धेरै जनाले चासो व्यक्त गरेका थिए ।

अस्तायो काजलकली हात्ती

दाँत झरेको र पाचन प्रणालीले समेत काम गर्न छाडेपछि हात्ती कमजोर हुँदै गएर ढलेको सरकारी अधिकारीहरू दाबी गर्छन् । तर उक्त हात्ती गत वर्ष भारत बिक्री हुन लाग्दा अन्तर्राष्ट्रिय सन्धि साइटिसको प्रावधानविपरीत भएको भनेर मुद्दा परेपछि सौराहा नै फर्काइएको थियो ।

उक्त हात्ती न किनेको भनिएका भारतीय मालिकको हात पर्‍यो न बिक्री गरेको भनिएका सौराहाका व्यवसायीले जिम्मा लिए । भारतीयले नै दुई जना माहुते खटाएपछि काजलकली सौराहाका होटल व्यवसायी श्रीलाल परियारको हात्तीसारमा अर्को हात्तीसँगै बसेको थियो । रेखदेख, आहारा र उपचार नियमित दिँदै आए पनि अशक्त र बुढो भएका कारण गत हप्ता हात्ती ढलेको थियो ।

काजलकली सौराहाका व्यवसायी मधुकर रेग्मीले भारतीयलाई बेचेको चर्चा छ । तर रेग्मी उक्त कुरा अस्वीकार गर्छन् । उनले २०७४ सालसम्म आफूले हात्ती राखेको र त्यो हात्ती मरेपछि कुनै हात्ती नपालेको कान्तिपुरलाई बताए । काजलकलीको विषयमा आफूलाई अनावश्यकरूपमा जोडेको उनको भनाइ छ ।

प्रकाशित : असार १२, २०७९ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?